काठमाडाैंकाे बजारमा लमजुङका रैथाने कृषि उपजकाे माग, बजारीकरणका लागि सम्झाैता

बेसीशहर, फागुन २० । लमजुङको मर्स्याङदी गाउँपालिकामा उत्पादित रैथाने कृषि उपजलाई बजारीकरण गर्नका लागि लमजुङको मर्स्याङदी गाउँपालिका र रैथाने एग्रो प्रोडक्टसबीच सम्झौता भएको छ ।

गाउँपालिकामा उत्पादन हुने कालो बेसार, कगुनो, चिया, सिलटिमुर, कोदो, भटमास, स्थानीय जातको कालो धान लगायतका रैथाने कृषि उपजको बजारीकरण र प्रबर्द्धनका लागि दुबै पक्षबीच ५ वर्षे सहकार्यको सम्झौता गरिएको हो । 

काठमाडौंको दरबारमार्ग लगायत काठमाडौंका विभिन्न स्थानमा रैथाने कृषि हाटबजार सञ्चालन गर्दै आएको रैथाने एग्रो प्रोडक्टसले मर्स्याङदी गाउँपालिकाको कृषि रैथाने उत्पादनलाई बजारीकरण र प्रबर्द्धनमा टेवा पुर्‍याउन सम्झौता गरिएको पालिका अध्यक्ष अर्जुन गुरूङले बताए । 

मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले काठमाडौंमा शनिबार गरिएको रैथाने उत्पादनको हाटबजारमा पालिकाका रैथाने कृषि उपजको राम्रै विक्री भएको र हाटबजारमा उपभोक्ताहरुले रैथाने कृषि उपजको राम्रो प्रतिक्रिया पाएको भन्दै अब गाउँपालिकाले यस्ता उत्पादनको बजारीकरणका लागि नीतिगत रूपमा नै लाग्न प्रेरणा दिएको बताए । 


जैविक बिबिधतामा धनी रहेको मर्स्याङदी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने अत्याधिक पोषणयुक्त रैथाने बालीहरुको प्रबर्द्धनका लागि विभिन्न संघसंस्थासंगको सहकार्यमा काठमाडौंमा प्रदर्शनी र विक्री गराएको हो ।


काठमाडौं लगायत देशका शहरी क्षेत्रमा गाउँघरमा उत्पादन हुने रैथाने बालीहरुको माग उच्च छ । लमजुङको मस्र्याङदी गाउँपालिकामा रैथाने बालीहरुको राम्रो उत्पादन हुने गर्दछ । तर ग्रामीण क्षेत्रका किसानले आफूकहाँ उत्पादित बालीहरु बजारसम्म पुर्‍याउन नसक्दा आम्दानी गर्न नसकिरहेको अवस्थामा किसानहरुलाई प्रोत्साहन गर्न र उनीहरुको उत्पादनलाई बजारसम्म पुर्‍याउन मद्दत गर्ने उद्देश्यले काठमाडौंमा यस्ता रैथाने बालीको प्रदर्शनी गराइएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।


उनले भने-“हाम्रो गाउँपालिकामा कागुनो खेतीका लागि घनपोखरा, आलु खेतीका लागि जिम्दो र भुस्मे, अलैंची खेतीका लागि छिनखोला, ताराचोक प्रसिद्ध छन् । यसबाहेक  ताघ्रिङ क्षेत्रमा बोडी, भट्टमासको राम्रो खेती हुन्छ । यी अर्गानिक रैथाने बालीलाई काठमाडौंसम्म पुर्‍याएर बजारीकरणमा सहयोग गरिएको हो ।”

“काठमाडौं, पोखरा लगायतका शहरमा मात्र होइन, विदेशमा समेत रैथाने बालीको ठूलो महत्व र माग छ । यहाँ उत्पादन भएका रैथाने कृषि उपज दिनहुुँ सेवन गर्नका लागि देश विदेशका मनिसहरु लालयित हुन्छन् तर हाम्रा कृषि उपजहरु घरघरमा मात्र सिमित छन् र उपलब्धता न्यून छ । त्यसैले गाउँपालिका भित्र उत्पादित कृषि उपजलाइ काठमाडौ र बाहिरको बजार सम्म पुर्याउन हाम्रा उत्पादनको प्रचारप्रसार र वजारीकरणको गर्नका लागि हाटबजारमा सहभागी गराईएको हो, हाटबजारमा लमजुङका रैथाने उत्पादनको राम्रो बजार रहेको पायौं ।”- अध्यक्ष गुरुङले भने ।


हाटबजारमा कगुनो, कालो बेसार, सिलटिमुर, कोदो, भटमास, स्थानीय जातका बिभिन्न प्रकारका धान, सामा, आलु, बोडी, राताे भट्ट, आँगाको चामल, रातो धानको चामल, रातो मास, सीमी, अनादीको चामल, जस्ता रैथाने बाली प्रदर्शनीमा राखिएको थियो । गाउँपालिकाले पहिलो पटक काठमाडौंको हाटबजारमा स्थानीय उत्पादनलाई सहभागी गराएर स्थानीय कृषि उपजहरुको प्रदर्शनी गराइएको हो । 

प्रतिक्रिया