दूधपोखरीमा बेपत्ता भएका किशोर अझै भेटिएनन्, खाेजी जारी

खबरकुञ्ज

बेसीशहर, भदौ १ । गएको साउन २४ गते लमजुङको उत्तरी क्षेत्रमा लमजुङ हिमालको काखमा रहेको दूधपोखरीमा पौडी खेल्दा बेपत्ता भएका भुजुङका एक किशोर अझै फेला परेका छैनन् ।

लमजुङको उत्तर क्षेत्रमा पर्ने क्व्होंलासोथार गाउँपालिकाको दूधपोखरीमा जनैपूर्णिमाका अबसरमा लाग्ने मेलामा साथीहरुसंग गएका क्व्होलासोथार गाउँपालिका वडा नंं ४ भुजुङका १८ बर्षका किशोर मनोज गुरुङ बेपत्ता भएका हुन् ।

दूधपोखरीमा जनै पूर्णिमाका अवसरमा ठूलो मेलामा सहभागी भइ कुण्डमाा नुहाउने र पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । साउन २४ गते बिहान ८ बजेतिर साथीहरुसंग दूधपोखरी पुगेका उनी पोखरीमा पौडी खेल्दै गर्द एक्कासी बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएपछि उनका साथी र दूधपोखरी नुहाउन गएका तीर्थालुहरुले खोजी गरेकामा फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो । खबर पाउनासाथ बेसीशहरबाट प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोलीले बुधवारदेखि उनको खोजी गरे पनि अहिलेसम्म पत्ता लाग्न नसकेको र खाेजी जारी रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङको खोजीकार्यमा भुजुङका स्थानीयको एक टोली पनि अहिले दूधपोखरीमा छ ।

५३०० मिटरको उचाईमा रहेको दूधपोखरी लमजुङ हिमालको काखमा पर्छ । लमजुङकै सर्वाधिक उचाइमा रहेको घनपोखरा गाउँबाट दूधपोखरी पुग्न दुई दिन लाग्छ ।

प्रतिक्रिया