सुन्दरबजारकाे खहरेमा स्वर्गिय गुरूङ दम्पतीकाे प्रतिमा र पार्क निर्माण

खबरकुञ्ज

बेसीशहर, मंसिर २७ गते । लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ५ तार्कु खहरेमा स्वर्गिय समाजसेवी कपतान चित्रबहादुर गुरुङ र उनकी धर्मपत्नी स्वर्गिय विष्णुकुमारी गुरुङको प्रतिमा स्थापना गरि स्मृति पार्क निर्माण गरिएको छ ।

लमजुङ जिल्लाको हालको सुन्दरबजारमा बस्ती बसाल्ने कार्यको परिकल्पनाकार मानिएका स्वर्गिय गुरुङ तत्कालीन तार्कु पञ्चायतमा २० बर्षसम्म प्रधानपञ्च भइ समाजिक सेवामा तल्लीन रहे । समाजसेवाकै क्रममा उनले सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पस स्थापना गर्न सक्रिय भूमिका खेलेका उनले खहरेको विद्याज्योति मावि, दुर्गादेवी आधारभूत विद्यालय र गाउँमा वेलफेयर स्कूल खोली त्यस क्षेत्रमा शिक्षाको ज्योति फैलाउन अतुलनीय योगदान दिएका उनी नामी शिक्षाप्रेमी पनि थिए ।

स्वर्गिय गुरुङले उनले तनहुँको मानेचौकामा रहेको त्रिभुवन माध्यामिक बिधालयको बिकासमा समेत भूमिका खेलेका थिए । उनले डुम्रे बेशिशहर सडकको रेखांकनमा समेत योगदान दिएका थिए । सामाजिक क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै उनको परिवारले गुरुङ दम्पतीको अर्धकदको प्रतिमा स्थापना गरेका स्थानीय विद्याज्योति माविका प्रधानाध्यापक सुर्यबहादुर केसीले जानकारी दिए ।

गुरुङ दम्पतीको प्रतिमाको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङ र सुन्दरबजारका मेयर कृष्ण कोइरालाले संयुक्त रुपमा आइतबार अनावरण गरेका हुन् । 

सो अवसरमा बोल्दै डा गुरुङले स्वर्गिय समाजसेवी गुरुङले जीवनकालमा गरेको पुण्यकर्मले आफू प्रभावित भएको भन्दै उनको योगदानले सुन्दरबजार र आसपासका क्षेत्रका नयाँ पुस्तालाई सधै प्रेरणा दिने बताए । उनले बाबु आमाको योगदानको कदर गरी प्रतिमा निर्माण गरेकामा चित्रबहादुरका सन्ततिलाई धन्यवाद दिँदै बाबु आमाका कारण नै छोराछोरीले जीवन र समाजमा नाम र मान प्रतिष्ठा पाउने भएकाले समाजका लागि काम गर्ने बाबुआमालाई चिरकालसम्म चिनाउन छोराछोरीले काम गर्नुपर्ने धारणा राखे ।


सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइरालाले समाजसेवा र शिक्षाको क्षेत्रमा स्वर्गिय गुरुङले खेलेको भूमिकाको चर्चा गर्दै समाजको विकासका लागि जीवनभर योगदान दिने समाजसेवीहरु अहिलेको समयमा पाउन मुश्किल हुने धारणा राखे ।

कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नं. ५ का वडाध्यक्ष श्रीकाजी गुरुङ लगायत स्थानीय समाजसेवी, शिक्षाप्रेमीहरुको बाक्लो उपस्थिति थियो । 


प्रतिक्रिया