बेसीशहर, चैत १६ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थीरता र अराजकता नेपाली समाजको सबभन्दा ठूलो चुनौति बनेको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङको नवौं जिल्ला अधिवेशनको शुक्रबार बेसीशहरमा उद्घाटन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरता विना विकास र समृद्धि हासिल गर्न नसकिने बताएका हुन् ।
पोखरेलले देशलाई समृद्धि र विकासको मार्गमा हिँडाउन बलियो सरकारको आवश्यकता रहेको चर्चा गरे । उनले भने अहिले देशको आवश्यकता भनेको बलियो र स्थिर सरकार हो । विगत ३२ बर्षमा देशमा २८ जना प्रधानमन्त्री फेरिएको चर्चा गर्दै नेता पोखरेलले भने- एउटा प्रधानमन्त्रीले औषतमा सवा बर्ष पनि काम गर्न पाउँदैन भने त्यो देश बन्छ कसरी ? देश बनाउने हो भने बलिया राजनीतिक दलको आवश्यकता छ भन्ने कुराको बोध गर्न सक्नुपर्छ । आज जसरी देशमा जनमत विभाजित भइरहेको छ यो बाटोबाट देश बन्न सक्दैन ।”
उनले देशमा धेरै राजनीतिक दल भन्दा बलिया राजनीतिक दलहरुको खाँचो रहेको चर्चा गरे । उनले भने अहिलेको राजनीतिक अवस्थाले देश बन्न सक्दैन । उनले नेकपा एमाले अहिले जनताकोे रोजाइको पहिलो पार्टी भएर मात्रै नपुग्ने भन्दै सिंगो देशलाई नेतृत्व गर्न सक्ने बलियो राजनीतिक शक्ति बन्नु पर्नेमा जोड दिए ।
नेता पोखरेलले पार्टीभित्र नेताहरुबीच कमरेडी भावना हराउँदै गएको, एक अर्काप्रति समर्पित हुन नसकेको भन्दै नेताहरुको क्रियाशीलतामा खिया लागेको भन्दै गुनासो गरे । नेता कमरेडहरुबीच मन मिल्न नसकेको जस्तो देखियो, पार्टीलाई जसरी एक बनाएर लैजान सक्नुपथ्र्यो त्यो सकिएन ।
जुनप्रकारको कमरेडी भावनाले जुटनु पथ्र्यो, एकले अर्कोलाई माया गर्ने, क्रियाशीलतामा खिया लागेको । कमरेडहरुबीच मन मिल्न नसकेको जस्तो देखिन्छ, जसरी हामीले पार्टीलाई लैजान सक्नुपथ्र्यो, सकिएको छैन । जनताको रोजाईको पहिलो पार्टी हो भनेर मात्र नहुने भन्दै उनले नेकपा एमाले अझै राष्ट्रिय आवश्यकताको हिसाबले बलियो हुन नसकेको बताए ।
महासचिव पोखरेलले भने- “हामीले नजानिँदो तरिकाले राजनीतिक परिवर्तनलाई लक्ष्य ठानेर बसेछौं । राजनीतिक परिवर्तन स्वयं आफै लक्ष्य होइन, समाज परिवर्तनको माध्यम मात्र हो । के हाम्रा जिम्मेवारी पुरा भए ? जे गर्छ राज्यले गर्छ भनेर चुप लागेर बसेर हुन्छ ? समाजलाई बदल्ने कम्युनिष्ट आन्दोलनको लक्ष्य हो भने त्यो काम पुरा भएको छ कि छैन ?”
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकणर् विष्ट, स्थायी कमिटीका सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्यहरु मायानाथ अधिकारी, जमीन्द्रमान घले लगायतका वक्ताहरुले मन्तब्य राखेका थिए ।
खबरकुञ्ज