बिराटनगर । कोशी प्रदेशमा नेकपा एमालेले नेतृत्व गरेकाे प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि सरकार ढलेकाे हाे ।
काेशी प्रदेशमा प्रदेश सभाका ९३ सदस्य छन् । बहुमतका लागि चाहिले ४७ सांसदकाे समर्थन नपुगेपछि कार्की नेतृत्वकाे सरकार ढलेकाे हाे । शुक्रबार प्रदेश सभामा भएकाे मत बिभाजनमा कार्कीकाे पक्षमा एक मत पुगेन । नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसदले कार्कीलाइ मत दिए । उनकाे विपक्षमा ४३ मत खस्याे ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले उनकाे विपक्षमा मतदान गरे ।
प्रदेश सभाकाे बैठकमा शुक्रबार ८९ सदस्य उपस्थित थिए । जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहेकाे बताइएकाे छ । जसपाले भने यसअघि नै मत विभाजनमा तटस्थ बस्ने निर्णय गरेको थियो ।
२०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि एमाले संसदीय दलका नेता कार्की माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
नियुक्तिको ठिक पाँच महिनापछि जेठ २३ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनी अल्पमतमा परेका थिए ।
कार्की नेतृत्वको सरकार ढलेसंगै अब कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएकाे छ । तर काेशीमा नयाँ सरकार बनाउन सहज छैन । काेशीमा सभामुखकाे मत निर्णायक छ । सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित भएकाले निर्णायक अवस्थामा उनले गठबन्धनलाई मत दिन सक्छन् । तर सरकार गठन प्रक्रियामा उनलाई जोड्न मिल्ने वा नमिल्ने भन्नेमा दुवै पक्षका भिन्न तर्क छन् ।
९३ सदस्यीय काेशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेसंग ४० र राप्रपा संग ६ मत छ । चुनावमा एमालेसँग मिलेर २ वटा प्रत्यक्ष सिट जितेको राप्रपाले एमालेको साथ दिइरहेकाे छ । नेपाली कांग्रेससंग २९, माओवादी केन्द्रसंग सभामुख बाहेक १२, नेकपा एकिकृत समाजवादीसंग ४ र जसपासंग १ गरी गठबन्धनमा पनि ४६ सांसद छन् ।
बहुमत जुटाउन कठिन परेपछि माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले राप्रपालाई गठबन्धनमा ल्याउन केही महिना अघिदेखि नै पहल गरिरहेका हुन् । तर राप्रपाले आफुले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेपछि उनीहरू अप्ठेराेमा परेका छन् र नयाँ सरकार गठनमा सकस हुने देखिएकाे छ ।