देशको स्वाधीनता बचाउन नयाँ सत्ता गठबन्धनः एमाले उपमहासचिव गुरूङ

खबरकुञ्ज

बेसीशहर, बैशाख १३ गते । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनताले लडेर ल्याएको ब्यवस्था जोगाउन, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन नयाँ गठबन्धन बनाउनु परेको बताएका छन् ।

लमजुङको भुलभुलेमा बिहीबार डा. हर्क गुरुङ प्रतिष्ठानकाे दाेस्राे साधारण सभा एबं भूगर्वविद स्व.डा हर्क गुरुङको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपमहासचिव गुरुङले देशको स्वाधीनता बचाउन नयाँ गठबन्धन आवश्यक परेको स्पष्ट पारे । उनले यस अघिको सरकार अयोग्य भएकोले देशले ठूलो नोक्सान ब्यहोर्नु परेको भन्दै उनले देशको स्वाधिनता जोगाउन र यथोचित विकास गर्न देशभक्तहरुको सरकार बन्न आवश्यक भएकाले एमालेसहित माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी लगायत बामपन्थीहरुको सरकार गठन भएको बताए । 

उपमहासचिव गुरुङले नयाँ सरकार अब २०८४ मा हुने आम चुनावसम्म कायम रहने दावी गरे । उनले यस अघिको सरकार अयोग्य भएको भन्दै १४ अर्ब राजश्व संकलनको लक्ष्य लिए पनि ७ अर्ब भन्दा बढी राजश्व संकलन गर्न नसकेको बताए । अघिल्लो सरकार कमिसन र भ्रष्टाचारमा लिप्त रहेको र राजश्व संकलन हुने ठाउँमा कमिसन र घुस खानका लागि आफ्ना मान्छेहरु राखेका कारण राजस्व संकलन हुन नसकेको आरोप लगाए । 

उनले भने- “ प्रशासन, भन्सार, प्रहरी सबैतिर सेटिङमा मान्छे राखेर सरकार अयोग्य भयो भने कतिसम्म नोक्सान हुँदो रहेछ भन्ने अघिल्लो सकारका गतिविधिलाई हेरे स्पष्ट हुन्छ । अघिल्लो सरकारको नालायकीका कारण अर्को बर्ष विकास बजेट घटने र राज्यसंग देश विकासको काम गरेका ठेकेदारहरुलाई दिने पैसा समेत हुँदैन । केन्द्र सरकार, प्रदेश सरकार र ७५३ स्थानीय सरकार चलाउन साढे ११ खर्ब खर्च हुन्छ । ३ खर्बको विकास बजेट हुन्छ र ३ खर्ब रुपैयाँ आन्तरिक र बाह्य ऋणको साँबा ब्याजका लागि छुट्याउनु पर्ने अवस्था छ ।”

गुरुङले नयाँ सरकार बनेसंगै देशमा राजश्व संकलन ६ प्रतिशतले बढेको दावी समेत गरे । उनले अहिले पनि नेपालको ब्यापार घाटा साढे ९ अर्बको रहेको सो अवसरमा बताए । 

सो अवसरमा गुरुङले डा हर्क जस्तो देशभक्त अहिलेसम्म नेपालमा नजन्मेको बताए । स्व. हर्क गुरुङले उतिबेलै नेपाल र भारतको सीमामा काँडेतार लगाउने कुरा उठाएको स्मरण गर्दै भने-“हामी कम्युनिष्टहरुले पनि त्यो कुरा भन्दै आएका छौं तर अहिलेसम्म गर्न सकेका छैनौं, डा हर्कले खुला सिमाना भएका कारण भारतबाट ठूलो संख्यामा भारतीयहरु नेपाल पसेर नेपाललाई सिक्कीम जस्तो बनाउन सक्ने भएकाले धेरै बर्ष अघि यो कुरा भनेका स्मरण गरे । यसकै कारण तत्कालीन ब्यवस्थाका केही पञ्चहरुले डा हर्कलाई फासी दिनुपर्छ समेत भनेको गुरुङले स्मरण गरे ।

नेपालमा विकेन्द्रीकरणको शुरुवात स्व. हर्ककै देन हो भन्दै प्रतिनिधि सभा सदस्य समेत रहेका गुरुङले डा हर्ककै योजना अनुसार पञ्चायतकालमा देशलाई पाँच विकास क्षेत्र र ७५ जिल्लामा विभाजन गरिएको र उनकै कारण अपायकमा रहेका जिल्ला सदरमुकामहरुलाई पायक पर्ने र जिल्लाको केन्द्रभागमा सारिएको बताए ।

उनले अब डा हर्क प्रतिष्ठानले डा हर्कको सपना साकार गर्न कदम चाल्नु पर्ने र यसका लागि समाजशास्त्र, बसाइँसराइ लगायतका विषयमा काठमाडौंका मान्छेहरु ल्याएर लमजुङमा बहस चलाउन उनले आग्रह गरे । अन्तराष्ट्रिय विकास, सुशासन, वातावरण संरक्षण, संघीयता, बसाइँसराई, प्रशासन, आजको संघीयताका बारेमा उठेका प्रश्नका बारेमा पक्ष विपक्षका विद्वानहरुलाई ल्याएर बहस चलाउन सके प्रतिष्ठानको समेत सार्थकता रहने उनले बताए ।

कार्यक्रममा संविधान सभाका सदस्य जमीन्द्रमान घले, लालबहादुर गुरूङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरूङ, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ लगायतका वक्ताहरूले स्व. डा हर्क गुरूङका विविध पक्षका बारेमा र उनले पुर्याएकाे याेगदानका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया