बेसीशहर, माघ १० । आज पाैष शुक्ल पूर्णिमा । हिन्दू नेपालीहरूले एक महिनासम्म लिने श्रीस्वास्थानी ब्रत आजबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिना विधिपूर्वक स्वस्थानी व्रत गरी श्रीस्वस्थानीकाे कथा श्रवण गरि माघ स्नान गरिन्छ ।
हिजाे अर्थात, पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात गरिन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ भने बेलुकी स्कन्द पुराण, केदार खण्डअन्तर्गत माघ माहात्म्यमा रहेकाे कुमार अगस्त्य मुनीबीचकाे संवाद रहेको श्रीस्वस्थानी व्रत कथा सुन्ने सुनाउने गरिन्छ ।
याे ब्रत बसेमा, कथा सुनेमा मनाेकांक्षा पुरा हुने विश्वास गरिन्छ । बिशेष गरी विवाहित महिलाहरु आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुका लागि तथा अविवाहित महिलाहरु आफ्नो भावी पति श्रीमहादेव जस्तै हाेस् भनि प्रार्थना गर्दै व्रत बस्ने चलन छ । पाैष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म श्रद्धा र भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको कथा सुनी पूजाआराधना गरी मध्यान्हकालमा श्रीमहादेवकाे पूजा गरी याे ब्रत समापन गरिन्छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई एक महिनासम्म श्री स्वस्थानीको व्रत लिइ कठाेर तप गरी महादेवलाइ स्वामी (पति) पाएकाे पाैराणिक कथा अनुसार हिन्दू धर्मावलम्बीहरूले श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको मानिन्छ ।
एक महिनासम्म यो विधिबाट व्रत बसी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, १०८ थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई जुन कामना पूर्ण होस् भनी ब्रत बसेकाे छ, साेही कामना गर्दै श्रीस्वस्थानी देवीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभए मनाेकामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने परम्परा छ ।
सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसी श्रीस्वस्थानीकाे भजन कीर्तन गर्ने चलन छ । स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, सम्वृद्धि प्राप्त भइ र परलाेकमा कैलाशमा वास हुने विश्वास छ ।
खबरकुञ्ज