२४ घण्टा नबित्दै पक्राउ परे हत्यारा, ५० हजार सापट नपाउँदा भएकाे रहेछ हत्या

खबरकुञ्ज

बेसीशहर, साउन ३१ गते । बुधवार लमजुङको चितीमा भएको एक महिलाको हत्या पैसाका कारण घटेको रहस्य खुलेको छ । ५० हजार रुपैयाँ सापटी माग्दा नदिए पछि बेसीशहर नगरपालिका वडा नं. ११ चिती बगैंचा निवासी सानु नानी घर्तीको मंगलबार राती हत्या भएको थियो ।

६२ बर्षिया घर्तीको उनकै गाउँ भन्दा केही तल बजारखुट्टा निवासी ४७ बर्षका सुग्गरे सार्कीले खुर्पा प्रहार गरी हत्या गरेको लमजुङ प्रहरीले जानकारी दिएको छ । घट्ना घटेको २४ घण्टा नवित्दै अभियुक्त पक्राउ परेको बारे प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङमा आयोजित पत्रकार सम्मेलनमा लमजुङका प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले हत्यामा संलग्न सार्कीलाई सार्वजनिक गर्दै मंगलबार राती ८.३० बजे पैसा माग्न भनि घर्तीको घरमा पुगेका सार्कीले कसरी  हत्या गरे भनेर सुनाए ।

यसरी भएको रहेछ घटना 

बेसीशहर नगरपालिका–११ चितीको बजारखुट्टामा बस्ने सुग्गरे सार्की गाउँमा ज्याला मजुदरी गरी जिविका चलाउँथे । उनको घरमा बाबुआमा विरामी रहेछन् र बाबुआमाको उपचारका लागि उनलाई ठूलै रकमको आवश्यकता थियो । सामान्य ज्याला मजदुरी गर्ने सुग्गरेले कहाँ सापटी पाइन्छ भनेर सोचे । झट्ट उनलाई गाउँ माथि बगैंचाकी सानु नानी घर्तीको याद आयो ।

सानु नानीका छोरा कोरियामा छन् । बुहारी र छोरी काठमाडौंमा बस्छन् । छोरा कोरियामा रहेकाले उनको घरमा पैसा छ भन्ने ठानेर सुग्गरे मंगलबार राती ८ बजेतिर पैसा माग्न भनि सानु नानी घर्तीको घरमा पुगेका रहेछन् । सानु नानीसंग उनले ५० हजार रुपैयाँ सापटी मागे । सानु नानीले छोराले पैसा पठाएको छैन भनेर दिइनन् । निराश भएका सुग्गरे त्यहाँबाट हिँडे ।

सुग्गरे गए पछि सानु नानी खाना खाइ भाँडा माझ्न भनि जुठेल्नामा गईन् । सुग्गरे भने रक्सी खान गए । राक्सीले मातेको बेला उनलाई सानु नानीले पैसा नदिएकोमा झोंक चल्यो । करिब आधा घण्टापछि आफूसंग भएको खुर्पा लिएर उनी सानु नानीको घरतर्फ गए । जुठेल्नामा भाँडा माझिरहेकी सानु नानीलाई उनले पछाडीबाट खुर्पाले प्रहार गरे ।

सानु नानी ढलिन् । खुर्पाले टाउको पछाडीबाट मुखसम्म काटेकाले उनले हार गुहार गर्न पनि सकिनन्, बोल्नै नसकि ढलेको ढल्यै भइन् । 

सानी नानीलाई खुर्पाले बजाएपछि सुग्गरे त्यहाँबाट भागे । त्यो रात ठूलो पानी परेको थियो । पानीमा भिज्दै जसोतसो उनी बजारखुट्टामा रहेको घर पुगे । खुर्पा राखे । भिजेको कपडा फेरे अनि सुते । रक्सीले छोडिसकेको थियो । खुर्पाले हानिहालें, मरि कि जिउँदै छ भन्ने सोचेर रातभर उनलाई निद्रा लागेन । भोलिपल्ट बिहानै उनी घर छोडेर हिँडे ।


यसरी थाह पाए गाउँले र प्रहरीले

उपचारका लागि काठमाडौं जानु पर्ने भएकाले सानी नानीले अघिल्लै मंगलबार दिउसै गाउँको एउटा जीपका साहुलाई आफू र सामान तल उदीपुरसम्म पु¥याइदिन भनेकी रहेछिन् । भोलिपल्ट बिहानै जीप उनको घर छेउमा आइपुग्यो र हर्न बजायो, केही साइँसोवत आएन । गाडीका साहुले धेरै पटक उनको मोबाइलमा फोन गरे, मोबाइल उठेन । 

मोबाइलसमेत नउठेपछि सामान मिलाउन लागेकाले नउठेको होला, घरमै गएर बोलाउँछु भनि जीपका मालिक सानु नानीको घरतर्फ गए । तघारो लगाएको रहेछ । तगारोको गरालो पन्छाएर उनी घरको आँगनमा पुगे । तर घरको  जुठेल्नानिर भूँयमा सानी नानी लडिरहेको देखे पछि उनी तर्से । सासै नफेरी दौडेर जीपमा फर्के । कसैले चिती प्रहरीलाई खबर गरिदियो । चिती चौकीका प्रहरी आए र घटनास्थलको सुरक्षा गरी जिल्ला प्रहरी कार्यालयमा खबर गरे ।

हत्याको घटना थाह पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख मिनबहादुर घलेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्यो । घटनास्थललाई सिल गरी घटनाको गाम्भीर्यतालाई हेरेर प्रहरीले प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी निरीक्षकको नेतृत्वमा तालिमप्राप्त कुकुर सहितको विशेष अनुसन्धान टोली मगाइयो ।


तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले सम्भावित हत्यारा पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान ग¥यो । अन्तमा प्रहरीको शंका सुग्गरेमाथि गयो । सुग्गरे घरमा पनि नभेटिएपछि शंकामा बल पुग्यो र प्रहरीले उनको खोजी आरम्भ ग¥यो ।

सुग्गरे भने प्रहरीले समात्ने डरले घर छोडेर हिँडिसकेका थिए । कता जाउँ के गरौं भनि आत्तिएका उनी लमजुङकै सुन्दरबजार नगरपालिकाको वडा नं. ६ खत्रीठाँटी पुगे । प्रहरी भने उनैको खोजीमा थियो । विशेष सुराकीको आधारमा बुधवार दिउसो २.३० बजेतिर उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्यायो ।

सानु नानी घर्ती घाइते रहेकी र उपचार भइरहेको भन्दै प्रहरीले सुग्गरेसंग सोधपुछ थाल्यो ।  सानु माया घाइते मात्र भएको बुझी सुग्गरेले सबै घटना विवरण बारे प्रहरीलाई साविती बयान दिए । घटनामा प्रयोग भएको हतियार, उनको मोबाइल फोन र हत्या गर्ने क्रममा लगाएको लुगा प्रहरीले उनको घरबाट बरामद समेत गरी  उनलाई म्याद थपका लागि अदालत पेश ग¥यो । अदालतले ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । 

प्रतिक्रिया