नवराज पहाडी र अन्तरंगलाई प्रेस काउन्सीलले सोध्यो ७ दिने स्पष्टीकरण

बेसीशहर, फागुन २० गते । लमजुङको सदरमुकाम बेसीशहरबाट प्रकाशित हुने अन्तरंग साप्ताहिक र अन्तरंग न्यूज डटकमका प्रकाशक सम्पादक नवराज पहाडीलाई उनले लेखेको समाचारका बारेमा प्रेस काउन्सील नेपालले स्पष्टीकरण सोधेको छ ।

लमजुङको बेसीशहरमा रहेको कालिका सहकारी सम्बद्ध समाचारमा पहाडीद्वारा सम्पादन हुने अन्तरंग साप्ताहिक र नवराज पहाडी अध्यक्ष र विश्वविनोद घिमिरे सम्पादक रहेको अन्तरंगन्युज डटकमलाई काउन्सीलले स्पष्टीकरण सोधेको हो ।

यी दुवै सञ्चारमाध्यमका मालिक नवराज पहाडी हुन् । पहाडी सम्बद्ध दुवै सञ्चार माध्यममा प्रकाशित भएका कालिका सहकारी सम्बन्धी समाचारमा संस्थाका सञ्चालकहरुलाई मारकाट वा हिंसामा उत्प्रेरित गर्ने हिसाबले समाचार प्रकाशन भएको भनि कालिका बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत वेदराज खनियाले प्रेस काउन्सील नेपालमा उजुरी दिएका थिए । उनको उजुरीमा सम्बोधन गर्दै प्रेस काउन्सील नेपालले अन्तरंग साप्ताहिक र अन्तरंग न्यूज डटकमलाई के कसो भएको हो ७ दिन भित्र जवाफ पठाउन नवराज पहाडीलाई पत्राचार गरेको छ ।


नवराज पहाडी कालिका सहकारीकै शेयर सदस्य रहेको बुझिएको छ । उनले सहकारी समस्यामा परेपछि सहकारीमा रहेको आफ्नो शेयर फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । उनले कालिका सहकारीका सञ्चालकहरुलाई विना आधार झुटा आरोप लगाउँदै संस्थाका विरुद्ध अनर्गल समाचार लेख्ने र सञ्चालकहरुलाई सार्वजनिक रुपमा बेइज्जति गर्न अनर्गल समाचार आफ्ना सञ्चार माध्यममा लेख्ने गरेका सञ्चालकहरुकाे भनाइ छ ।

प्रतिक्रिया