बाबु छोराकाे झगडामा छाेराकाे मृत्यु, बाबुले गरे हँसिया प्रहार

खबरकुञ्ज

बेसीशहर, असोज १९ गते । लमजुङको घनपोखरामा मदिराको नशामा बाबु छोरा झगडा गर्दा छोराको मृत्यु भएको छ ।

शुक्रबार बेलुका करिब ६ बजे मर्स्याङदी गाउँपालिकाको वडा नंं २ प्रोबी गाउँका ५७ बर्षका सन्तबहादुर तामाङ र २७ बर्षका छोरा सोमबहादुर तामाङबीच सामान्य भनाभन हानाहानमा परिणत भएपछि छोराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुवै बाबुछोराले मदिरा सेवन गरी  सामान्य भनाभन गरेका थिए । त्यतिकैमा छोराले बाबु सन्तबहादुरलाई मुड्कीले हिर्काए । छोराले आफूमाथि मुड्की बजारेपछि बाबुचाहिँले हसियाँले छोरालाई प्रहार गरेका थिए । उनको प्रहारले छोरा सोमबहादुरको घाँटीमा लागेको थियो ।

हँसिया प्रहारबाट घाइते भएका सोमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल बेसीशहरमा राती ८ बजे ल्याइएकोमा यहाँ उपचार हुन नसक्ने भनि भरतपुर अस्पतालमा रिफर गरिएको थियो । भरतपुर अस्पतालमा उपचारको क्रममा राती ३ बजे उनको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिए ।

घट्नामा संलग्न सन्तबहादुरलाई खुदी प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया