बेसीशहर, मंसिर १४ गते । लमजुङको दोर्दी ३ श्रीमञ्ज्याङमा कार्यरत दृष्टिबिहीन शिक्षक राजेन्द्र घिमिरे जिल्लास्तरीय शिक्षक वत्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन् ।
सामाजिक विकास कार्यालय लमजुङको आयोजनामा शुक्रबार बेसीशहरमा आयोजित जिल्लास्तरीय जिल्ला स्तरिय शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सहभागी विभिन्न पालिकाबाट प्रतिनिधित्व गरेका प्रतियोगी शिक्षकमध्ये घिमिरेले प्रथम स्थान प्राप्त गरेका हुन् ।
बत्तृत्वकलाकाका लागि पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका प्रयोगमा शिक्षकको भूमिका बिषय दिइएको थियो । प्रतियोगितामा त्रिभुवन विद्याश्रम मा.वि. क्व्होलसोंथारका भीमकुमारी गुरुङले द्वितीय र भक्ति नमूना मावि भोटेओडारका शिक्षक थकितप्रसाद अधिकारीले तृतीय स्थान प्राप्त गरे ।

सोही अवसरमा स्वस्थ जीवनको लागि योग र ध्यानको महत्व विषयक विद्यार्थीहरुको वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा राईनासको धमिलीकुवास्थित शैलपुत्री माध्यमिक विद्यालयकी छात्रा सौरभी भुजेलले प्रथम स्थान प्राप्त गरिन् । प्रतियोगितामा सुन्दरबजार नगरपालिकाको आदर्श बाल माध्यमिक विद्यालयका छात्रा गृष्मा दवाडीले द्धितिय र मस्र्याङदी गाउँपालिकाको खुदीस्थित हिमचुली आवासिय माविका छात्रा आकृति भण्डारीले तृतीय स्थान प्राप्त गरे ।
विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत छात्राछात्रको नृत्य प्रतियोगितामा बेसीशहरको विद्याविकास आवासीय माविले प्रथम स्थान प्राप्त गरेको छ । प्रतियोगितामा फलेनी मावि दोर्दी द्वितीय, कल्लाबारी मावि दूधपोखरीले तृतीय र पसगाउँ ठाँटी मावि क्व्होंलसोंथारले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा मध्यनेपाल नगरपालिका बाहेक लमजुङका ७ वटा स्थानीय तहका शिक्षक विद्यार्थीहरु सहभागी थिए ।
नृत्यतर्फ प्रथम स्थान प्राप्त गर्ने विद्याविकास आवासीय माविले १५ हजार, द्धितिय स्थान प्राप्त गरेको फलेनी मावि बन्सारले १० हजार, तृतीय स्थान प्राप्त गरेको कल्लाबारी माविले ७ हजार र सान्त्वना स्थान पाएको पसगाउँ ठाँटी माविले एक हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
वत्तृत्वकलातर्फ शिक्षक र विद्यार्थी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरुले क्रमश ८ हजार, ७ हजार र ६ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे ।
पुरस्कृत भएका प्रतियोगिहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास कार्यालय लमजुङका प्रमुख मीताकुमारी थापाले पुरस्कार वितरण गरेका थिए ।सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरवहादुर गुरुङ लगायत विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुको वाक्लो सहभागिता थियो ।
शिक्षकविद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत शनिवार हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको कार्यालयले जनाएको छ ।
खबरकुञ्ज