बेसीशहर, असार ४ गते । क्व्होलसोथार गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षा तथा सशक्तिकरण तालिम दिइएको छ ।
क्व्होलसोंथार गाउँपालिकाको आयोजनामा कशोरीहरुको आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूलाई सुरक्षित, सक्षम र आत्मनिर्भर बनाउन आत्मरक्षा तथा सशक्तिकरण तालिम दिइएको हो। बुधवार देखि शुरु भएको तालिम बिहीबार सकिदैछ ।
तालिममा शारदा मावि मालिङमा अध्ययनरत विभिन्न कक्षामा अध्ययनरत ४५ जना किशोरीहरु सहभागी छन् । सहभागी किशोरीहरूलाई आत्मरक्षाका आधारभूत सीप, लैङ्गिक हिंसाबाट बच्ने उपाय, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा जीवनोपयोगी सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
उपाध्यक्षसंग महिला कार्यक्रम अन्तर्गत भएकाे उक्त कार्यक्रममा प्रशिक्षकहरूले किशोरीहरूलाई दैनिक जीवनमा आइपर्न सक्ने जोखिमपूर्ण अवस्थाको सामना कसरी गर्ने, आफ्नो अधिकारबारे सचेत रहने तथा आवश्यक पर्दा आत्मरक्षाका विभिन्न प्रविधि प्रयोग गर्ने विषयमा व्यावहारिक अभ्यास गराएका गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले जानकारी दिइन् ।
तालिममा गण्डकी प्रदेश खेलकुद बोर्डका सदस्य, गण्डकी प्रदेश तेक्वान्दो सघं सदस्य, अन्तराष्टिय रेफ्री, तेक्वान्दो छैटौ डान ब्लाक बेल्ट, तेक्वान्दो प्रशिक्षक रेखा माया गुरुङले प्रशिक्षण दिएकी छन् ।
किशोरीहरू समाजका महत्वपूर्ण शक्ति भएकाले उनीहरूलाई शिक्षा, सीप र अवसरमार्फत सशक्त बनाउन आवश्यक रहेको र उनीहरूलाई आत्मरक्षा सम्बन्धी ज्ञान दिँदा उनीहरूलाई हिंसा, दुर्व्यवहार तथा विभिन्न प्रकारका जोखिमबाट जोगिन सहयोग पुग्ने भएकाले आत्मरक्षा तालिम दिइएको उपाध्यक्ष गुरुङले बताइन् ।
सहभागी किशोरीहरूले तालिमबाट आफूहरूमा आत्मविश्वास बढेको, आफ्नो सुरक्षा र अधिकारबारे थप जानकारी प्राप्त भएको तथा नेतृत्व क्षमताको विकासमा सहयोग पुगेको प्रतिक्रिया दिएका थिएका छन् ।
क्व्होलसोथार गाउँपालिकाले किशोरीहरूको समग्र विकास, आत्मनिर्भरता तथा सुरक्षित भविष्य निर्माणका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।
खबरकुञ्ज