कालोपत्रे गर्न डुम्रे बेसीशहर चामे सडकको उदीपुर खण्ड तीन दिन बन्द हुने

खबरकुञ्ज

बेसीशहर, माघ ११ गते । डुम्रे बेसीशहर चामे सडक अन्तर्गत उदीपुर खण्ड तीन दिन बन्द हुने भएको छ । माघ १२ गतेदेखि १४ गतेसम्म उक्त सडक खण्डमा कालोपत्रे गर्न लागिएकाले बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले एक सूचना जारी गर्दै माघ १२ गते बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ । उक्त सडक बन्द हुने भएपछि विकल्पमा चिप्लेटी, मध्य मर्स्याङदीकाे ड्याम, चण्डीप्रसाद गण हुँदै उदीपुर बजार निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।

उदीपुरको देउराली डाँडामा २०७८ साल साउनमा ठूलो पहिरो गएको थियो । पहिरोले क्षतिग्रस्त सडकको माथिल्लो भागमा नयाँ ट्रयाक खोलेर सडक सुचारु गरिए पनि २०७९ असारमा सोही ठाउँमा अर्को पहिरो गई उक्त नयाँ ट्रयाक समेत नरहेपछि २०७९ पुसमा ठेक्का लगाएर मर्मत थालिएको थियो । निर्माण शुरु भएको झण्डै तीन बर्षपछि सडक मर्मत कार्य सम्पन्न भएपछि सडक कालोपत्रे गर्न लागिएको हो ।

उक्त सडक मर्मतका क्रममा टेवा, पर्खाल, ग्याबिन जाली, मर्स्याङ्दी नदी किनारमा ‘माइक्रो पाई ल’ निर्माण गरिएको छ । देउराली डाँडामा पहिरो रोकथामका लागि पहिरो ‘नेलिङ’ गर्ने काम समेत गरिएको छ ।

प्रतिक्रिया