लमजुङमा रास्वपाको प्रचार आक्रामक, कांग्रेस एमाले रक्षात्मक

खबरकुञ्ज

बेसीशहर, फागुन ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङमा आक्रामक प्रचार प्रसार थालेको छ । देशभर रास्वपाप्रति जनताले देखिएको अभूतपूर्व माया र सद्भावसंगै आगामी निर्वाचनमा विजयका लागि रास्वपाले लमजुङ जिल्लाका विभिन्न भागमा आक्रामिक प्रचार प्रसार थालेकै बेला जेनजी विद्रोहका कारण सत्ताच्युत भएका नेपाली कांग्रेस र नेकपा एमाले लमजुङमा रक्षात्मक अवस्थामा पुगेका छन् । 

आगामी निर्वाचनमा लमजुङमा मुख्यतः राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ । स्वयं यी दलसम्बद्ध उमेदवारहरुले पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने स्वीकार गरेका छन् । निर्वाचन नजिकिँदै गइरहेको अवस्थामा लमजुङ जिल्लालाई परम्परागत भोट बैंक बनाउँदै आएको मुख्य दलहरु रक्षात्मक अवस्थामा पुग्नुलाई भने अर्थपूर्ण ढंगले हेरिएको छ ।

गत निर्वाचनमा लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा थियो । नेपाली कांग्रेसले दोस्रो स्थान र नेकपा एमालेले पहिलो स्थान बनाएकामा आगामी निर्वाचनमा यो परिणाम ठ्याक्कै उल्टिने संकेत देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

२०७९ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत लमजुङबाट प्रतिनिधि सभा सदस्यको रुपमा नेकपा एमालेका तत्कालीन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका थिए । उनले ३४ हजार ९ सय ८५ मत पाएका थिए । उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका तत्कालीन महासचिव देव गुरुङले ३१ हजार ७९१ मत पाएका थिए । तेस्रो स्थान पाएका रास्वपाका उमेदवार धर्म केसीले ९ हजार ३३ मत पाएका थिए ।

समानुपातिक तर्फ पनि नेकपा एमालेले (बाँकी पृष्ठ ३ मा)   ३१ हजार १७८मत पाएको थियो । दोस्रो भएको नेपाली कांग्रेसले २७ हजार ७९६ मत पाउँदा तेस्रो स्थान पाएको रास्वपाले ८ हजार २१७ मत पाएको थियो । ०७९ मा रास्वपा भर्खरै स्थापना भएकाले लमजुङमा कुनै पालिकामा पनि संगठन नबनाउँदा पनि सशक्त रुपमा तेस्रो स्थान बनाएकोमा विगत ३ बर्षको अवधिमा रास्वपाले जिल्लाका सबै स्थानीय निकायमा सगठन निर्माण गरिसकेको छ । यतिबेला लमजुङमा सांगठिनक रुपमा पनि सशक्त बनेको यो दलका नेताहरुको विश्वास छ । विगतमा संसद र राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिका, सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधले पनि जनता आफ्नो पार्टीप्रति आकर्षित भएको रास्वपा लमजुङका सभापति अशोक सापकोटाले बताए । जेनजी विद्रोह पछि रास्वपाप्रति जनलहरको उभार थपिएको उनको बुझाइ छ । 


देशका विभिन्न जिल्लामा जस्तै लमजुङमा पनि रास्वपाप्रति जनताको विश्वास र भरोसा बढिरहेको स्वयं विपक्षी दलका नेता कार्यकर्ताहरुले पनि स्वीकार गरेका छन् । हिजोसम्म प्रतिस्पर्धामै नरहेको रास्वपा अहिले प्रमुख दलका उमेदवारका लागि टाउको दुखाइ बनेबाट रास्वपाको शक्ति अत्याधिक बढेको प्रष्ट हुन्छ । 

अहिले रास्वपाका उमेदवार र नेता कार्यकर्ता चुनावी प्रचारमा जहाँ जहाँ पुगेका छन्, मतदाताहरुको स्वागतले उनीहरमा नयाँ उर्जा थपेको छ । रास्वपा गण्डकी प्रदेश सचिवालय सदस्य हरिबहादुर धिताल भन्छन्– “शहरबजारमा जस्तै गाउँ गाउँमा पनि रास्वपाको लहर छ । संगठन नै नभएको गाउँहरुमा पनि रास्वपामा आकर्षण देखिएको भन्दै उनले भने– “हामी सहजै चुनाव जित्छौं । जनता हाम्रो साथमा छन् ।” उनले विभिन्न गाउँमा राती अबेरसम्म पनि रास्वपाका उमेदवार र प्रचार टोलीको स्वागतमा मतदाताहरु बसेको, पार्टी, नेताहरु र उमेदवारबारे जिज्ञासा राखेको र पार्टीका एजेण्डा र विकास निर्माणबारे चासो राखेको आफूले पाएको बताए । 

स्वयं रास्वपाका उमेदवार केसीले नेपाल लिडसंगको अन्तवार्तामा ४२ हजार मत पाएर विजयी हुने दावी पेश गरेपछि लमजुङमा रास्वपा समर्थकहरु हौसिएका छन् ।

अहिलेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले रक्षात्मक पनि छन् । जेनजी विद्रोहबाट दुवै प्रमुख दलका सम्मिलित संयुक्त सरकार ढलेको थियो । विगतमा देशमा सुशासन कायम गर्न नसकेको भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आशातीत विकास गर्न नसकेको आरोप यी दलमाथि छ । पछिल्लो समय गत भदौ २३ र २४ को जेनजी विद्रोह हुनुमा यी दुई दलको भूमिका रहेको बुझाइ आम मतदातामा परेको छ ।


जेनजी विद्रोह सुशासनको माग गर्दै भएको थियो । तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गरेको परिणाम पनि यो आन्दोलन भएकोमा दुईमत छैन । त्यसबेला पृथ्वीसुब्बा गुरुङनै सञ्चार तथा सूचना प्रविधि मन्त्री थिए । उनकै आदेशमा सामाजिक सञ्जाल बन्द गरिएको धेरैको बुझाइ छ । बिशेषगरी अधिकांश जेनजी पुस्ताले यही बुझेका छन् । यसबाहेक लमजुङमा २०४३ देखि हरेक आम निर्वाचनमा उमेदवार भएका पृथ्वीसुब्बा गुरुङ यस पटक नवौं पटक उमेदवार बनेका छन् । एमालेभित्रै पनि अरुलाई पालो नदिएको भन्दै उनको आलोचना हुने गरेको छ । बोल्ने कुरामा एमाले अध्यक्ष ओली जस्तै उनी पनि कटु शब्द बोल्ने भएकाले पनि उनलाई मन नपराउनेहरु पार्टीभित्रै पनि धेरै छन् । अघिल्लो निर्वाचनमा कांग्रेसको आफ्नै उमेदवार नहुँदा र माओवादीका देव गुरुङलाई भोट हाल्न मन नलागेर धेरै कांग्रेसीले उनलाई भोट हालेको मानिन्छ । यसपटक कांग्रेसको भोट उनलाई जाने अवस्था त छैन, आफ्नै पार्टीको भोट जोगाउन उनलाई हम्मे हम्मे देखिन्छ । पछिल्लो पटक नेपाल लिडका लागि राजेन्द्र बानियाँलाई अन्तरवार्ता दिँदै उनले दशौं पटक पनि उमेदवार बन्ने बताएपछि एमाले नेताहरुमा खैलाबैला मच्चिएको छ । 

अर्कोतर्फ कांग्रेसका उमेदवार गमप्रसाद गुरुङ पृथ्वीसुब्बाकै गाउँ र समुदायबाट उमेदवार बनेका कारण पनि पृथ्वीसुब्बालाई समस्या देखिन्छ ।


लमजुङमा कांग्रेसको अवस्था एमालेको भन्दा केही बलियो हो कि भन्ने आम बुझाइ छ । अघिल्लो निर्वाचनमा रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ताहरु अहिले हौसिएका छन् । तर धेरै सुभेच्छुक, कार्यकर्ता रास्वपामा लागेपछि कांग्रेसलाई पनि अहिले संकट देखिन्छ । कांग्रेसका उमेदवार गमप्रसाद गुरुङ सोझा छन् । गुट उपगुटको कांग्रेसमा उनी कमजोर खेलाडी रहेको विगतमा भएका नेपाली कांग्रेसका आन्तरिक निर्वाचनले पुष्टि गरिसकेको छ । उनी जुन गुटबाट उमेदवार बनेर आए, उनको खिलाफमा उनकै पार्टीको अर्को गुट लागि परेका कारण उनको जीतलाई पनि सहज छैन भन्नेहरु लमजुङमा धेरै छन् । कांग्रेस सुध्रिएको, नयाँ नेतृत्व आएको भनिए पनि कांग्रेसभित्रको गुट उपगुटको राजनीति अझै मत्थर भएको छैन । बिशेष महाधिवेशनमा शेरबहादुर देउवालाई जबर्जस्ती हटाएर गगन थापालाई नयाँ सभापति बनाइए पनि र गगनले गुटको अन्त्य भएको भने पनि देउवा पक्षधर नेताहरु निर्वाचनमा सक्रिय देखिएका छैनन् । 

यस्तो अवस्थामा रास्वपा उमेदवार धर्म केसीलाई लमजुङमा बलियो उमेदवारको रुपमा हेरिएको छ । देशैभरि माहोल बनाएको रास्वपाले लमजुङमा यसपटक बाजी मार्ने सम्भावना अत्याधिक देखिन्छ । रास्वपा उमेदवार केसी र रास्वपा लमजुङका नेताहरु आक्रामक रुपमा चुनाव प्रचारमा जुटेका छन् । चुनाव प्रचारका क्रममा कुनै संगठन नै नभएका गाउँमा पनि मतदाताको न्यानो माया पाएका उनीहरुको हौसला बढेको देखिन्छ ।

बिभिन्न कम्युनिष्ट घटकसंग एकीकरण गरेर पार्टी ठूलो बनेको दावी गरिए पनि लमजुङमा नेपाली कम्युनिष्ट पार्टीको ठूलो प्रभाव देखिदैन । यद्यपी नेकपाका उमेदवार हरिजंग तामाङ चुनावी अभियानमा गाउँ गाउँमा डुलिरहेका छन् ।

लमजुङमा यी चार दलबाहेक अन्य राजनीतिक दलका उमेदवारको चर्चा छैन । न उनीहरु चुनावी अभियानमा नै देखिएका छन् । बरु स्वतन्त्र उमेदवार सन्तोष घिमिरे गाउँ गाउँमा डुलेर मत मागिरहेका देखिन्छन् ।

प्रतिक्रिया