बेसीशहर, चैत २८ गते । लमजुङ जेसजिद्वारा आयोजित खुला म्याराथन प्रतियोगितामा सोलुखुम्बुका अर्जुन कुलुङ प्रथम भएका छन् ।
बेसीशहर नगरपालिकाको वडा नंं १० मा पर्ने पिस हिल रिसोर्टदेखि वडा नं ३ को लमजुङ दरबर सम्मको निर्धारित २६ किलोमिटरको दुरी १ घण्टा ५९ मिनेटमा पूरा गर्दै उनले उपाधि जितेका हुन् ।
प्रतियोगितामा सोलुखुम्बुकै मिलन राईले २ घण्टा १ मिनेटमा निर्धारित दुरी पार गर्दै द्वितीय, २ घण्टा ६ मिनेटमा निर्धारित दुरी पार गरी गोरखाका निरज भट्टले तृतीय स्थान जिते । त्यसैगरि तनहुँका आदित्य जिसी ले सोही लक्ष्य २ घण्टा ११ मिनेटमा पुरा गर्दै सान्त्वना स्थान जितेका छन् ।
विश्व शान्तिको कामना गर्दै लमजुङ जेसिजले शनिबार म्याराथन प्रतियोगिता आयोजना गरेको हो । पिस हिलबाट शुरु भएको प्रतियोगितामा धावकहरुले मस्र्याङ्दी गाउँपालिकाका केही भाग हुँदै बेसीशहर हुँदै गाउँशहरको लमजुङ दरबार पुगेका थिए ।

जेसीजले गतवर्ष पनि प्रतियोगिता आयोजना गरेको थियो । पर्यटकीय महत्वको पिसहिल र जिल्लाकै ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको लमजुङ दरबारलाई म्याराथनका माध्यमले देश विदेशमा चिनाउन प्रतियोगिताको आयोजना गरिएको लमजुङ जेसीसका अध्यक्ष खुशीमाया गुरुङले बताइन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजताहरुलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललले पुरस्कार वितरण गरे । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै सकारात्मक ऊर्जा सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जेसीजले जनाएको छ । प्रतियोगितामा ३० जना खेलाडी सहभागी भएका थिए ।
पुरस्कार वितरण गर्दै नगर प्रमुख अर्यालले म्याराथनले विश्व शान्तिको सन्देश संगै यस क्षेत्रको पर्यटकीय र धार्मिक महत्वलाई अन्तराष्ट्रिय स्तरमा फैलाउन सहयोग पुग्ने बताए ।
खबरकुञ्ज