बेसीशहर, चैत २१ गते । लमजुङको मर्स्याङदी गाउँपालिका वडा नंं ७ उस्तामा शनिबार दिउसो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बेसीशहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जीप दिउसो पौने ५ बजे ङादीबाट उस्ता जाने भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटना परी चालक सहित १२ जना घाइते भएका छन् ।
१३ जना यात्रु बोकेर उस्ता तर्फ जादै गरेको जीप सडक देखि करीब ६० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहरमा ल्याइएकोमा मर्स्याङदी गाउँपालिका ७ उस्ता बस्ने बर्ष ४० कि गंगामाया भन्ने त्रिवेणी गुरुङ र सोही ठाउँ बस्ने बर्ष ३५ की पुष्पा घलेको निधन भएको हो । उपचारका क्रममा प्रदेश अस्पतालमा ल्याइएकोमा उनीहरुलाई अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मस्र्याङदी ७ उस्ता बस्ने बर्ष ३३ की रिता गुरुङ, सोही ठेगाना भएकी बर्ष ४० की बिमला देवी घले, सोही ठाउँका बर्ष ७ का सफल गुरुङ, सोही ठाउँ बस्ने बर्ष ६२ का सन्त बहादुर घर्ती, सोही ठाउँ बस्ने बर्ष ३१ का प्रकाश गुरुङ, बर्ष ११ को रितेश गुरुङ, बर्ष १० की प्रिसिका गुरुङ, बर्ष ३८ का सोमलाल तामाङ, बर्ष ९ को इन्द्र गुरुङ, बर्ष १२ को बिवान घले, बर्ष ४८ को रुद्रमान घले र सोही ठाउँ ठेगाना भएका जीप चालक बर्ष २९ को करण अधिकारी छन् ।

घाइते मध्ये रिता गुरुङ र सफल गुरुङको टाउको र छातीमा चोट लागेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
मिलन शर्मा दनाई