बेसीशहर, फागुन १ गते । हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटि सो ‘भ्वाइस अफ नेपाल’ मा टिम मेलिनालाई प्रतिनिधित्व गर्दै फाइनलमा पुग्न सफल लमजुङे चेली सञ्जिता दुराले उपाधिका लागि आफूलाई भोट गर्न अपील गरेकी छन् ।
सुन्दरबजार नगरपालिका वडा नं. ११ ठूलोस्वाँरामा जन्मेकी सञ्जिता दुरा भ्वाइस अफ नेपाल सिजन ७ को फाइनलमा पुगेकी छन् । प्रतिभासंगै फाइनलमा दर्शकको भोटको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले उनी भोट अपीलका लागि बेसीशहर आइपुगेकी हुन् । बिहीबार बेसीशहरको भीमसेनस्थानमा आयोजित एक समारोहमा उनले समस्त लमजुङबासीहरुसंग आफूलाई भोट गरी उपाधि जित्न सहयोग गर्न अपील गरेकी हुन् ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लमजुङको संयोजनमा आयोजित बिशेष समारोहबीच उनले आफूले लमजुङ र बिशेष गरी दुरा जातिको संस्कृति चिनाउन पाएको गर्वित भएको बताइन् । उनले भ्वाइस अफ नेपाल भाषा धर्म, संस्कृतिमा लमजुङ अगाडि रहेको र आफूमा पनि सानैदेखि गीत गाउने ईच्छा सानैदेखि जागृत भएको र स्नातक तहको परीक्षा दिएपछि संगीत कक्षा लिन थालेको र त्यही बेला भ्वाइस अफ नेपालको अडिसन भएको र आफू छनोट हुन सफल भएको बताइन् ।
प्रतियोगितामा छनोट भए पछि पनि विभिन्न प्रतिस्पर्धीहरुलाई पछि पार्दै टीम मेलिनको तर्फबाट विजेता नै भए पनि उपाधि जित्न बाँकी रहेकाले सबैले भोट गरेर जिताउन अनुरोध गरिने । ठूलो संघर्ष गरेर धेरै चरण पार गरे आफू भ्वाइस अफ नेपालको फाइनलमा पुग्न सफल भएको भन्दै उनले उपाधि जित्ने धोको रहेकाले सबैले भोट गरेर जिताउन अनुरोध गरिन् । आफू लमजुङकै चेली भएको स्मरण गराउँदै उनले आफू विजयी भएमा लमजुङको नाम स्वतः जोडिने भएकाले लमजुङको समेत गौरब बढ्ने बताइन् ।

उक्त कार्यक्रममा दुराले विभिन्न सांगीतिक प्रस्तुति पनि दिएकी थिइन् । उनीसंगै अग्रज लोक गायिका माया गुरुङ, लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष प्रशान्त तामाङ, प्रतिष्ठानका सदस्य हस्त सेन्चुरी लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अग्रज लोक गायिका माया गुरुङले सञ्जितालाई आफूले आफ्नै छोरीको रुपमा देखेको भन्दै उनको स्वर र प्रतिभा देख्दा आफूले २०४५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी लोकगीत प्रतियोगिता जित्दाको अनुभूति भएको बताइन् । उनले सञ्जिताको प्रतिभाको प्रशंसा गर्दै सञ्जितालाई उपाधि जित्नका लागि शुभकामना पनि दिइन् ।
सोही कार्यक्रममा सञ्जितालाई भोटिङ गर्न निःशुल्क इन्टरनेटको ब्यवस्था गरिएको थियो । उनलाई उपाधि जित्न शुभकामना दिँदै विभिन्न ब्यक्तिहरुले उनलाई खादा लगाएर सम्मान गर्दै स्वतःस्फूर्त रुपमा नगद सहयोग समेत गरेका थिए ।
यस अघि सञ्जिताले बेसीशहरको युनिभर्सल एकेडेमी र लमजुङको राइनास नगरपालिका १० प्यारजुङमा आयोजित कार्यक्रममा भोट अपील गर्दै आफूलाई जिताउन आग्रह गरेकी थिइन् ।
भ्वाइस अफ नेपाल नेपाली टेलिभिजन जगतमा लोकप्रिय र उत्कृष्ट रियालिटी शो हो । यसमा अडिसन दिन पाउनेलाई नै भाग्यमानी मानिन्छ । अडिसनमा सफल भई विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै फाइनलमा पुग्नु धेरैको लागि असम्भव बिषय हो । लमजुङलाई प्रतिनिधित्व गर्दै यति ठूलो मञ्चमा पुग्ने उनी भाग्यमानी प्रतिभा हुन् । उनलाई जिताउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङले समेत सबैसंग अपील गरेको छ ।
खबरकुञ्ज