बेसीशहर, माघ १७ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएको निःशुल्क आँखा जाँच तथा शिविरमा एक सय ३५ जना बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिकाको आयोजना, नेपाल नेत्रहीन सङ्घ (समावेशी विकासका लागि कार्य) लमजुङ र नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत भरतपुर आँखा अस्पतालको सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा १ हजार ११५ जना आँखाका बिरामीहरूको जाँच गरिएको थियो ।
वडागत रूपमा आयोजना गरिएको शिविरमार्फत १ सय ३५ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । शिविरमा आएका बिरामीमध्ये ६ सय ६१ जनालाई निःशुल्क औषधी वितरण गरिएको र ५६ जनालाई नजिक हेर्ने चश्मा निःशुल्क प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । शिवरमा मोतियाविन्दूको शल्यक्रिया गरिएका सबै बिरामीहरुलाई आँखाको सुरक्षाका लागि निःशुल्क कालो चश्मा वितरण गरिएको थियो ।
ग्रामीण तथा दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरले दृष्टि समस्या भएका नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको नेपाल नेत्रहीन सङ्घ लमजुङका पुनस्र्थापना अधिकृत प्रेम महर्जनले बताए । शिविरमा भरतपुर आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले उपचार गरेका थिए ।
मिलन शर्मा दनाई