बेसीशहर, माघ २६ गते । आइतबार मात्र तामझामका साथ नेकपा एमाले प्रबेश गरेका नेपाली कांग्रेस निकटको नेपाल दलित संघ लमजुङका अध्यक्ष कुमार विश्वकर्मा भोलिपल्टै कांग्रेस फर्किएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रमका सन्दर्भमा नेकपा एमालेले आइतबार विकलाई पार्टी प्रवेश गराएका थियो । उनलाई ललाइ फकाई र विभिन्न प्रलोभन दिएर एमाले पार्टी प्रवेश गराइ कांग्रेसको संगठन कमजोर बनाउने उद्देश्यका साथ जबर्जस्ती एमालेमा प्रवेश गराइए पनि उनी आफ्नो भूल सुधार गर्दै पुन नेपाली कांग्रैसमा फर्किएका नेपाली कांग्रेस लमजुङले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसंगै पार्टीको पक्षमा माहोल बनाउन नेपाली काग्रेसको भातृसस्था नेपाल दलित सघ, लमजुङका अध्यक्ष तथा युवा व्यवसायी कुमार विश्वकर्मालाई पार्टीका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उमेदवार पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य जमीन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, जिल्ला कमिटीका अध्यक्ष राजकुमार विष्ट लगायतका नेताहरुले एमालेमा स्वागत गरेका थिए । विश्वकर्मालाई खादा लगाएर पार्टीमा स्वागत गर्दै गरेको तस्वीर र भिडियो आइतबार र सोमबार पनि सामाजिक सञ्जालमा छाइरहेका थिए ।
अघिल्लो दिन एमाले प्रवेश गरे भनिएका तिनै विश्वकर्मा सोमबार दिउसो नेपाली कांग्रेस लमजुङको कार्यालयमा देखिए । पार्टीका जिल्ला सभापति टकराज गुरुङ, उप सभापति आनन्द घिमिरे, सचिव कृष्णबहादुर अधिकारी, तरुण दलका केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि बृषराज गुरुङसहित देखिएका उनले आफू एक अनौपचारिक छलफलमा रहेको अवस्थामा आफूलाई एमालेमा प्रवेश गरेको भनि झुटो प्रचार गरिएको दावी गरेका छन् । उनले आफूलाई नेपाली कांग्रेस लमजुङले आसन्न निर्वाचनलाई ध्यानमा राख्दै जिल्लाभित्र दलित परिचालन समितिको संयोजकको जिेम्मेवारी दिएको अबस्थामा भूलबस २०८२ माघ २५ गते बिहान नेकपा एमालेमा प्रवेश गरेको भनि सामाजिक सञ्जालमा प्रचार प्रसार गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले एक भिडियोमार्फत आफू नेपाली कांग्रेसमै क्रियाशील रहेको भन्दै नेपाली कांग्रेसका उमेदवार गमप्रसाद गुरुङलाई मतदान गरी विजयी गराउन पनि अनुरोध गरेका छन् ।
सोही भिडियोमा नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङले कुमार विक जीवनभरी नेपाली कांग्रेसमा आवद्ध, प्रतिबद्ध र क्रियाशील रहेका र उनको परिवारसमेत पार्टीमा क्रियाशील रहेको बताएका छन् । उनले कांग्रेस आफूलाई बदलेर देश बदल्ने संकल्पका साथ अघि बढेको र आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने गरी अगाडि बढेको दावी गरेका छन् ।
खबरकुञ्ज