बेसीशहर, २० मंसिर । लमजुङको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल गाउँशहरस्थित लमजुङ दरबार परिसरमा आयोजना गरिएको श्रीमद भागवत ज्ञान महायज्ञमा ५१ लाख रुपैयाँ दान बचत भएको छ ।
महायज्ञमा कूल ६९ लाख ९८ हजार ६ सय २२ रुपैया संकलन भएकोमा महायज्ञ ब्यवस्थापन लगायत सबै खर्च कटाएर ५१ लाख ८ हजार २ सय ५७ रुपैया बचत भएको आयोजकले जानकारी दिएको छ।
गाउँशहर कालिका मन्दिर सरक्षण तथा व्यवस्थापन समितिको आयोजना र बेसीशहर नगरपालिका वडा नं. ३ को संरक्षकत्वमा गत मंसिर २ देखि १० गतेसम्म महायज्ञ सञ्चालन भएको थियो । महायज्ञमा पण्डित दीपक पौडेलले भागवत कथा बाचन गरेका थिए ।
महायज्ञको आम्दानी खर्चको बिबरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष महेश कुमार भुजेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका पूर्व अध्यक्ष एवं महायज्ञ प्रचारप्रसार उपसमिति संयोजक राजेन्द्र बोहराले आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए ।
बोहराका अनुसार महायज्ञमा पण्डित, बाद्यवादक, कलाकार, साउण्ड सिस्टम, रामनामी, प्रमाणपत्र, फ्रेम लगायतमा १३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । कलश खरिदमा १ लाख ३८ हजार २ सय, प्रचार प्रसार यातायात साधन भाडामा ७५ हजार खर्च भएको उनले जानकारी दिए । अतिथि सत्कार र प्रसाद खरिद, माइक मर्मत, पत्र र प्रचार सामग्री छपाई, पूजा र सजावट सामाग्री खरिद, मिडिया सहयोग लगायतमा गरी महायज्ञ सञ्चालनमा कूल १८ लाख ९० हजार ६ सय ६५ रुपैया खर्च भएको बोहराले जानकारी दिए ।
महायज्ञमा कलश विक्रीबाट ५६ हजार रुपैयाँ मात्र आम्दानी भएको छ । अन्य सबै रकम दानदाताहरुबाट दान प्राप्त भएको महायज्ञका लेखा व्यवस्थापन उपसमितिका सयोंजक अप्सरा बरालले जानकारी गराइन् ।
लमजुङ कालिका मन्दिरमा नियमित पुजारी व्यवस्थापन, सत्तल निमार्ण तथा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने र ऐतिहासिक तथा धार्मिक महत्वको मन्दिरको उचित प्रचार प्रचार गर्ने उद्देश्यले मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा महायज्ञ आयोजना गरिएको थियो ।
खबरकुञ्ज