तागाधारीहरूकाे महान चाड जनैपूर्णिमा आज देशभर मनाइँदै

बेसीशहर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने तागाधारीहरूकाे महान चाड जनैपूर्णिमा आज देशभर मनाइँदै छ ।  

आजकाे दिन वैदिक सनातन धर्मावलम्बीहरू नदी, तलाउ, कुण्ड वा पाेखरीमा गइ स्नान गर्ने, जाै, तिल र कुशले ऋषि र पितृहरूलाइ तर्पण दिने तथा जप, तप र पूजा गरिएकाे नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँधेर मनाउने चलन छ । 

शास्त्रमा भनिए अनुसार आजकाे दिन तागाधारीहरूले विधिपूर्वक मन्त्रिएको रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । 

आजकाे दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ, अगस्त्य र अरुन्धतीसहित आठ ऋषिलाई पूजा एवं तर्पण दिइने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भनिन्छ ।  

जनै बाँध्नुका साथै यस दिनमा विभिन्न थरीका गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन छ । यसरी क्वाँटी खाँदा शरीरमा लागेको चिसो हट्ने र पेट सफा हुने र शरीरलाइ पाेषण प्राप्त हुने विश्वास गरिन्छ ।


जनैपूर्णिमाकाे अवसरमा काठमाडाैंकाे पशुपतिनाथ लगायत विभिन्न मठमन्दिर र नदी किनार, कुण्ड तथा पाेखरीहरूमा भक्तजनहरूकाे मेला लागेकाे छ ।

रसुवाको गोसाइँकुण्ड, लमजुङकाे दूधपाेखरी, पाेखराकाे तालबारही, गुप्तेश्वर महादेव, विन्ध्यबासिनी, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, नवलपरासीको त्रिवेणीधाम, बराह क्षेत्र, तनहूँकाे पञ्चमन्दिर लगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।

तराइमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाउने चलन छ । याे चलन विस्तारै पहाडतिर पनि शुरू भएकाे छ । याे पर्वमा दिदीबहिनीले दाजुभाइलाइ राखी बाँध्ने र दाजु भाइहरूले दिदीबहिनीहरूकाे रक्षा गर्ने बचन दिने चलन छ ।

प्रतिक्रिया