समृद्धिको सुन्दर सपना र आशावादी चेतनाको दृष्टान्त ‘हराएको हिरा’ महाकाव्य

खबरकुञ्ज

प्रा.डा. देवी नेपाल

नेपाली साहित्यको वर्तमान युगलाई महाकाव्यको युग बनाउने साक्ष्यहरू प्रशस्त प्रकाशमा आइसकेका छन् । नेपाली महाकाव्यले २६० वर्ष लामो यात्रा गरिसकेको भए पनि यसले पछिल्ला दुई दशकमा जुन प्रकृतिको गति लिएको छ, त्यो इतिहासको कालखण्डमा कहिल्यै पनि भएको देखिँदैन । समयमा हिसाबले प्रारम्भिक कालमा वि.सं. १८२२ को कवि रमेश मल्लको ‘मदनदीपिका’ महाकाव्य र वि.सं. १८३९ तिर उदयानन्द अर्यालद्वारा लिखित ‘पृथ्वीन्द्रोदय’ हुँदै वि.सं. १९१० को आदिकवि भानुभक्त आचार्यको ‘रामायण’लगायतका कृतिको चर्चा भए पनि आजभन्दा झन्डै आठ दशकअगाडि मात्र (वि.सं. २००२ मा) महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ महाकाव्य प्रकाशन हुँदा उनले उल्लेख गरेको ‘नेपालमा महाकाव्यको अवस्था आइसल्यान्डको सर्पजस्तै छ’ भन्ने कुराले गर्दा यसको साँच्चै बलियो सिर्जनाको थालनी महाकवि देवकोटाबाट मात्र भएको देखिन्छ । यस अर्थमा पनि केही अगाडि र धेरैजसो पछाडि गरी अंशतः २६० वर्षमा र मूलतः पछिल्ला आठ दशकमा गरी ४६० वटाभन्दा बढी महाकाव्य सिर्जना हुनु सामान्य कुरा होइन । यति मात्र नभएर वाल्मीकि र वेदव्यासकालीन पौरस्त्य जगत् र होमरकालीन पाश्चात्य जगत्मा तथा त्यसपछिका विश्वका विभिन्न भाषा साहित्यका इतिहासमा महाकाव्यको बलियो उपस्थिति देखिए पनि अहिले भने महाकाव्य सिर्जनामा नेपाली साहित्यले मात्र विश्वसाहित्यको नेतृत्व गरिरहेको देखिन्छ । अन्य क्षेत्रमा ‘महाकाव्यको युग समाप्त भयो’ भन्दै अनेकौँ आलेखहरू सम्प्रेषण गरिए पनि नेपाली साहित्यमा भने महाकाव्यको युगले उत्कर्ष रूप लिइरहेको यथार्थ सबैका आँखाअगाडि छर्लङ्ग देखिएको छ । यस कारण आज महाकाव्यको सबल र सफल सिर्जनामा नेपाली साहित्यले विश्वव्यापी दिग्विजय नै हासिल गरेको देखिन्छ ।

नेपाली साहित्यले महाकाव्य सिर्जनामा मात्र नभएर शास्त्रीय छन्दको प्रयोगमा पनि आज विश्वसाहित्यमा नेतृत्वकारी भूमिका निर्वाह गरिरहेको छ । शास्त्रीय छन्द पौरस्त्य काव्यजगत्को समुन्नत सम्पत्ति हो । संस्कृतमा आचार्य पिङ्गलले करोडौँ छन्द निर्माण हुन सक्ने प्रस्तार विधिको चर्चा गरेका छन् । त्यसैले संस्कृतमा अनेकौँ छन्दको प्रयोग भए पनि त्यसपछिका भाषाहरूले उक्त शास्त्रीय छन्दलाई निरन्तरता दिन सकेका छैनन् । संस्कृतपछिका हिन्दी, मैथिली, भोजपुरी, अवधीजस्ता विकसित भाषाहरूमा प्राचीन कालमा प्रशस्त छन्दकविताहरू लेखिए पनि अहिले शून्यप्रायः देखिन्छ । हिन्दीमा सन् १९२९ मा प्रकाशित अयोध्याप्रसाद सिंह ‘हरिऔध’को ‘प्रियप्रवास’ महाकाव्यमा शास्त्रीय छन्दको सुन्दर प्रयोग पाइन्छ तर त्यसपछि हिन्दीमा शास्त्रीय छन्दका कविता र काव्यहरू लेखिएका पाइँदैनन् । अन्य भाषाहरूमा पनि त्यस्तै स्थिति रहेको छ । वर्तमानमा पिङ्गल छन्दलाई बचाउने एक मात्र जिम्मेवारी नेपाली भाषाले पाएको छ । यस कारण छन्द प्रयोगका दृष्टिले वर्तमानमा नेपाली भाषा पिङ्गल छन्दका लागि उत्तराधिकार प्राप्त भाषा हो । यस कुरालाई नेपाली भाषाले धान्दै आएको छ । आजसम्म आइपुग्दा नेपाली कवितामा चार सयभन्दा बढी शास्त्रीय छन्दहरूको प्रयोग भइसकेको छ । यो गर्व गर्नलायक तथ्याङ्क हो । यसले वर्तमान नेपाली साहित्य महाकाव्य लेखन र शास्त्रीय छन्दको प्रयोग दुवै दृष्टिले अन्य साहित्यका तुलनामा अग्रगामी बन्न पुगेको छ । यस्तो हुनुमा नेपाली साहित्यका अग्रज पुस्तादेखि वर्तमान पुस्तासम्म सबैको सम्मानजनक भूमिका रहेको देखिन्छ । युवाकवि श्यामविक्रम न्यौपाने नेपाली महाकाव्यको र छन्दप्रयोगको यही सुदीर्घ परम्परामा जोडिन आइपुग्नुभएका सर्वाधिक पछिल्ला तर समुन्नत भविष्यको सम्भावना बोकेका प्रखर युवास्रष्टा हुनुहुन्छ । युवाकवि न्यौपानेद्वारा लिखित ‘हराएको हिरा’ महाकाव्य उल्लिखित सन्दर्भको सर्वाधिक पछिल्लो साक्ष्य हो ।

  

अत्यन्त प्रखर काव्यक्षमता र सिर्जनात्मक प्रतिभाका प्रतिमूर्ति पिता श्रीकृष्ण न्यौपानेको रक्तवंश र शब्दवंश दुवैका उत्तराधिकारी बनेर नेपाली काव्यजगत्मा देखापर्नुभएका श्यामविक्रम न्यौपाने वर्तमान युवापुस्ता काव्यसिर्जनाभन्दा निकै टाढा छ भन्ने भाष्यकारहरूका लागि घतलाग्दो साक्ष्य बनेर आउनुभएको छ । वि.सं. २०५२ कार्तिक १६ गते पिता श्रीकृष्ण न्यौपाने र माता शिवकुमारी न्यौपानेका सुपुत्रका रूपमा राइनास नगरपालिका–१०, उपल्लो बोराड, लमजुङमा जन्मिएर हाल बेसीसहर नगरपालिका–११, लमजुङमा स्थायी बसोबास गर्दै आउनुभएका श्यामविक्रम गणित शिक्षा र कानुनमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपछि नेपाल सरकारको निजामती सेवामा प्रवेश गरी हाल शाखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । यसभन्दा अगाडि केही फुटकर कविताहरू सिर्जना गरे पनि औपचारिक रूपमा कुनै रचना वा कृतिहरू प्रकाशन नगरेका कवि न्यौपाने एकैपटक महाकाव्यजस्तो भीमकाय कृति लिएर देखापर्नु आफैँ ऐतिहासिक उदाहरण हो । मैले थाहा पाएसम्म नेपाली काव्यजगत्मा फुटकर कवितासङ्ग्रह वा अन्य कुनै पनि कृति प्रकाशन नगरी पहिलो कृतिका रूपमा खण्डकाव्य प्रकाशन गर्ने स्रष्टाहरू त धेरै छन् तर पहिलो कृतिका रूपमा महाकाव्य नै प्रकाशन गर्ने कविका बारेमा हालसम्म मलाई जानकारी छैन । यस आधारमा हेर्दा युवाकवि श्यामविक्रमले एउटा नयाँ इतिहासको थालनी गर्नुभएको छ । ३० वर्षको उमेरमा आफ्नो पहिलो कृति त्यसमा पनि भाव, विचार र कलाका दृष्टिले सफल र सबल महाकाव्य लिएर नेपाली काव्यजगत्मा देखापर्नु साँच्चै प्रशंसनीय कार्य हो ।  

 एकै बसाइमा एउटा खण्डकाव्य लेख्न सक्ने र कुनै घटना वा विषयवस्तुले छुनासाथ त्यसलाई महाकाव्यको रूप दिइहाल्ने अद्भुत क्षमताका धनी पिता श्रीकृष्ण न्यौपानेका एक दर्जनभन्दा बढी खण्डकाव्य, आधा दर्जनभन्दा बढी महाकाव्य, एक सयभन्दा बढी छन्दको प्रयोग गरिएका विभिन्न कवितासङ्ग्रह, गजलसङ्ग्रह आदिको लेखन र प्रकाशनका क्रममा प्राविधिक सहयोग गर्दागर्दै श्यामविक्रममा रोपिएको सिर्जनात्मक क्षमताको बिउले एकैपटक महाकाव्य बनेर फुल्ने र फल्ने मौका पायो । २०८१ सालको सुरुआतमा कवि श्रीकृष्ण न्यौपानेका फुटकर कविता, खण्डकाव्य र महाकाव्य तीनवटै रूपको एकैपटक विमोचन गर्नका लागि म लमजुङ गएका बेलामा कविपुत्र श्यामविक्रमले एउटा महाकाव्यको विषयवस्तु र शीर्षकका बारेमा केही जिज्ञासा राख्नुभएको थियो । त्यो सन्दर्भ ‘हराएको हिरा’ महाकाव्यको रचनागर्भ रहेछ । त्यसबेला मलाई श्यामविक्रमले नै महाकाव्य लेख्न लाग्नुभएको हो भन्ने अनुमानसमेत थिएन । मैले त कवि श्रीकृष्णले अर्को महाकाव्य लेख्नका लागि विषयमाथि विमर्श गर्नुभएको होला भन्ने सोचेको थिएँ तर केही महिनापछाडि नै युवाकवि श्यामविक्रमले आफ्नो महाकाव्य पूरा भएको जानकारी दिएर पाण्डुलिपि नै पठाउनुभयो । यस कुराले मलाई एकैपटक आश्चर्यबोध र गौरवबोध दुवै गरायो । अहिलेको डटकम पुस्ताले शास्त्रीय छन्दमा महाकाव्य नै सिर्जना गर्नु सामान्य कुरा होइन । त्यसमा पनि निकै स्थापित कविहरू पनि आफूले संस्कृत नपढेको वा ऐच्छिक नेपाली विषय नपढेको वा शिक्षण पेसामा नलागेको हुनाले छन्दमा कविता लेख्न नसकेको तर्क गर्ने गर्छन् । यस्ता तर्कहरूका लागि श्यामविक्रम चित्तबुझ्दो जवाफ बनेर आउनुभएको छ । गणित, राजनीतिशास्त्र र कानुनका विद्यार्थी अनि निजामती सेवामा कार्यरत श्यामविक्रमको सामान्य कवि मात्र नभएर महाकाव्यकारका रूपमा भएको उपस्थितिले नयाँ पुस्तालाई त प्रोत्साहन गरेकै छ, पुरानो पुस्तालाई पनि बलियो चुनौती दिएको छ ।

महाकाव्य कविताको सर्वोच्च रूप हो त्यसैले यसको सिर्जना सामान्य प्रतिभा र प्रयासबाट सम्भव छैन । ‘महत्’ र ‘काव्य’ दुईओटा शब्दको मिलनबाट ‘महाकाव्य’ शब्दको निर्माण भएको हो । ‘महत्’को अर्थ ठुलो, उच्च, महान् वा विशाल भन्ने हुन्छ भने कविको कर्मलाई ‘काव्य’ भनिन्छ । अर्थात् कविको महान् कार्य नै महाकाव्य हो । कवितामा प्रवेश गरेको आख्यानले जब जीवन र जगत्को व्यापकतालाई समेट्न थाल्छ, तब त्यो महाकाव्य बन्दछ । महाकाव्यका बारेमा पूर्वीय तथा पाश्चात्य विभिन्न विद्वान्हरूले व्यापक रूपमा चर्चा गरेका छन् । इसाको छैटौँ शताब्दीका आचार्य भामहले आफ्नो कृति ‘काव्यालङ्कार’मा महाकाव्य सर्गबद्ध हुनुपर्ने, महान् घटना र महान् चरित्रको प्रयोग हुनुपर्ने, अलङ्कारसहितका विशिष्ट (अग्राम्य) शब्द र अर्थको प्रयोग हुनुपर्ने, सत्यको पक्षमा लेखिएको हुनुपर्ने, सङ्कल्प, सन्देश आदिको प्रयोग र नायकको उतारचढाव देखिनुपर्ने र अनेकौँ मोडहरूका साथै पञ्चसन्धिको प्रयोग हुनुपर्ने विचार राखेका छन् । आठौँ शताब्दीका आचार्य दण्डीले आफ्नो कृति ‘काव्यादर्श’मा महाकाव्य सर्गबद्ध हुनुपर्ने, आशीर्वाद, नमस्कार वा वस्तुनिर्देशमूलक मङ्गलाचरणबाट यसको थालनी हुनुपर्ने, सत्यमा आश्रित इतिहास प्रसिद्ध कथावस्तु हुनुपर्ने, चतुर्वर्ग (धर्म, अर्थ, काम, मोक्ष) फल प्राप्तिको उद्देश्य हुनुपर्ने, चतुर र उदात्त नायक हुनुपर्ने, नगर, शैल, चन्द्रोदय, उद्यान, जलक्रीडा, रतिक्रीडा आदिको वर्णन हुनुपर्ने, संयोग, विप्रलम्भ, बालजन्म, नायकको आरोह–अवरोह आदिको चर्चा हुनुपर्ने, अलङ्कारको प्रयोग, रसभावको निरन्तरता, पञ्चसन्धियुक्त, लोकरञ्जक र युगौँयुगसम्म स्थायी वा अमर हुन सक्ने हुनुपर्ने भन्ने मान्यतालाई अगाडि सारेका छन् । यसरी नै बाह्रौँ शताब्दीका हेमचन्द्रले महाकाव्य प्रायः पद्यबद्ध हुनुपर्ने, संस्कृत, प्राकृत वा जनभाषामा विभिन्न कथानकलाई उनेर अगाडि बढ्नुपर्ने, शब्दवैचित्र्य र अर्थवैचित्र्यले पूर्ण हुनुपर्ने र  छन्दोबद्ध र लोकरञ्जक हुनुपर्ने मान्यतालाई अगाडि सारेका छन् ।

चौधौँ शताब्दीका आचार्य विश्वनाथले महाकाव्यका बारेमा विस्तृत र बहुमान्य सिद्धान्तको स्थापना गरेका छन् । उनको ‘साहित्यदर्पण’ नामक ग्रन्थमा अनुष्टुप् छन्दका दशओटा श्लोकमा महाकाव्यका लागि आवश्यक सबै कुराहरूलाई समेटेका छन् । महाकाव्य सर्गमा बाँधिएको हुनुपर्छ । महाकाव्यमा सद्वंशमा जन्मिएको, क्षत्रिय कुलको, धीरोदात्त स्वभावको, शूरवीर एउटा नायक हुनुपर्छ । यसमा एउटै कुल, वंश वा बहुकुल वा परम्पराको चित्रण हुनुपर्छ । यसमा शृङ्गार, वीर र शान्तमध्ये एउटा अङ्गी रस र अरू अङ्ग रसका रूपमा आउनुपर्छ । धर्म, अर्थ, काम र मोक्ष चतुर्वर्ग फलप्राप्तिमध्येमा एउटा फलप्राप्ति अनिवार्य हुनुपर्छ । सुरुमा आशीर्वाद, नमस्कार र वस्तुनिर्देश कुनै पनि प्रकारको मङ्गलाचरण हुनुपर्छ । यसमा खराब पात्र र प्रवृत्तिको निन्दा र सज्जनको प्रशंसा हुनुपर्छ । महाकाव्यमा धेरै छोटा पनि होइन र धेरै लामा पनि होइन, ठिक्कका आठ सर्गभन्दा माथिको संरचना अनिवार्य छ । एउटै छन्दको निरन्तरता वा विभिन्न छन्दको प्रयोग गरे पनि सर्गको अन्त्यमा भावी सर्गको कथाको सूचना दिइएको हुनुपर्छ । सन्ध्या, सूर्य, चन्द्र, रात्रि, प्रातःकाल आदि प्राकृतिक परिवेशको सुन्दर वर्णन हुनुपर्छ । संयोग, विप्रलम्भ, सन्तानप्राप्ति, युद्ध, मन्त्रदूत आदिको प्रयोग, मूल शीर्षकीकरण र सर्गविभाजन आदिमा चरित्र वा कथावस्तु प्रतिविम्बित हुनुपर्छ । विश्वनाथको उल्लिखित भनाइमा महाकाव्यको पूर्वीय मान्यताको समग्र प्रतिनिधित्व भएको देखिन्छ । पूर्वीय काव्यशास्त्रीय परम्पराका उल्लिखित चार जना विद्वान्हरूका परिभाषाहरूलाई हेर्दा महाकाव्यका बारेमा पूर्वी जगत् निकै स्पष्ट र आधिकारिक देखिन्छ यसको अक्षरशः पालना वर्तमानका महाकाव्यहरूमा भएको पाइँदैन र हुनु अनिवार्य पनि छैन । सिर्जनामा नवीनताको खोजी वर्तमान नेपाली महाकाव्यको पनि चिनारी बनेको देखिन्छ । 

यसै गरी पाश्चात्य साहित्य सिद्धान्तका आधिकारिक मानिने एरिस्टोटलले महाकाव्यलाई “महाकाव्य त्यो काव्यरूप हो जसमा कथात्मक अनुकरण हुन्छ, जो षट्पदी (हेक्सामिटर) छन्दमा लेखिन्छ, जसको कथानक दुःखान्त नाटकको समान अन्वितियुक्त र कुनै आद्यन्त वर्णन गर्ने किसिमको हुन्छ तथा कथानकको आदि, मध्य र अन्त्ययुक्त जीवनविकास देखाइएको हुन्छ, जसले गर्दा यो पूर्ण प्रतीत हुन्छ र यसले जीवित प्रणालीले जस्तै आनन्द प्रदान गर्छ ।” भनी चिनाएका छन् । यस परिभाषाले पनि पूर्वमा जस्तै विषय, नायक, संरचना र उद्देश्यमा नै जोड दिएको देखिन्छ । यसरी नै क्रिस वाइल्डले भव्य र सौजन्यपूर्ण शैलीमा एक वा अनेक कथात्मक नायकका ठुला कामको अभिनन्दन गर्ने लामो वर्णनात्मक कवितालाई महाकाव्य मानेका छन् भने मार्टिन ग्रेले उच्च शैलीमा अतिमानवीय पात्रहरू राखेर लेखिने लामो वर्णनात्मक कविता महाकाव्य हो भनेका छन् । नेपाली सन्दर्भमा भने कुमारबहादुर जोशीले कविताले जब सिङ्गो जिन्दगानी वा युगसमाजलाई बोकेर हिँड्न लाग्दछ र जब अनुभूतिको आख्यानीकरणमा कवित्वको महाप्रवाह वहन थाल्दछ, तब कविताको बृहत् रूप महाकाव्य प्रकट हुन्छ भनी चिनाएका छन् । यसरी पूर्वीय र पाश्चात्य दुवै खाले परिभाषाहरूलाई हेर्दा यसले कृतिको विराटता र व्यापकतालाई सङ्केत गरेको पाइन्छ । जुनसुकै विषय भए पनि त्यसले लिने व्यापकता र समेट्ने जीवनका केन्द्रीयतामा यसको विधागत चिनारी समेटिन्छ ।

समग्रमा हेर्दा महाकाव्यमा पञ्चसन्धि (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण), पञ्चअर्थप्रकृति (बीज, विन्दु, पताका, प्रकरी र कार्य) तथा पञ्चकार्यावस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम) यी तीनै तत्त्वको समुचित प्रयोग हुनुपर्छ भन्ने मान्यता पूर्वमा रहेको छ । यसका लागि वस्तु (कथावस्तु, घटना र कथानक), नेता (नायक, पात्र, चरित्र) र रस (भाव, ध्वनि, व्यञ्जना) तीनओटा कुराहरू अनिवार्य मानिन्छन् । महाकाव्यमा यी तीन मुख्य तत्त्वको केन्द्रीयतामा अन्य तत्त्वहरू पनि स्वाभाविक रूपमा जोडिएर आउने गर्दछन् । महाकाव्य केका बारेमा लेख्ने ? (कथावस्तु), कथावस्तुलाई कसले बोकेर हिँडेको छ ? (पात्र), पात्रहरू उभिएको ठाउँ, समय र वातावरण कस्तो छ ? (परिवेश), महाकाव्य किन लेख्ने ? (उद्देश्य), महाकाव्यले के दिन खोजेको छ ? (रस, भाव, विचार, ध्वनि, व्यञ्जना), महाकाव्यमा कस्तो भाषिक प्रयोग र अभिव्यक्ति कलाको प्रयोग भएको छ ? (भाषाशैली) आदि कुरामा महाकाव्यकार सुरुमा नै स्पष्ट हुनु जरुरी छ । यिनै महाकाव्यका मूलभूत तत्त्वहरू हुन् । महाकाव्य कविताकै बृहत् रूप हुनाले यसमा पनि कवित्वकै बाहुल्य हुनुपर्छ । कथा भन्नु महाकाव्यको उद्देश्य बन्नु हुँदैन । यस कारण अनुभूतिको आख्यानीकरण महाकाव्यमा पनि हुनुपर्छ ।

उल्लिखित महाकाव्य सिद्धान्तको चर्चा गर्नुको कारण युवाकवि श्यामविक्रमको महाकाव्यात्मक स्वरूपमा पूर्वोक्त मान्यताहरूको पालना भएको छ वा छैन भन्ने कुराको खोजी गर्नु र ‘हराएको हिरा’ महाकाव्यले वहन गरेको मौलिकता वा विशिष्टता चाहिँ के हो भन्ने कुराको समीक्षात्मक मूल्याङ्कन गर्ने आधार तयार पार्नु हो । युवाकवि न्यौपानेको ‘हराएको हिरा’ महाकाव्य वर्तमानको यथार्थ र कल्पना दुवै कुरालाई समान रूपमा प्रयोग गरी एउटा आदर्श सन्देशमा लगेर टुङ्ग्याइएको सुन्दर कृति हो । यसको शीर्षक नै वस्तुनिर्देशमुखी नभएर अभिव्यञ्जनामुखी रहेको छ । यसभित्र लुकेको ध्वन्यात्मक अर्थमा नेपालको विगतको गौरव, वर्तमानको वितृष्णा र भविष्यको सम्भावना सबै कुराहरू समेटिएर आएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालले लेखेको ‘कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि’ कवितांशले सङ्केत गरेको मणि नै यस महाकाव्यको शीर्षकमा समेटिएको ‘हिरा’ हो । देशले सबल, सफल, क्षमतावान् र दूरदर्शी नेतृत्व पाएन भने राष्ट्र र जातिको गौरव नै हराउँदै जान्छ र ती कुराहरू एउटा एकादेशको कथा बनेर बस्न पुग्छन् । नेपाल हरेक क्षेत्रबाट हेर्दा हिरा नै हो तर यसको पहिचान गर्न सक्ने नेतृत्वको अभावमा यसको हिरारूप हराउँदै गएको छ र यो भिल्लका देशको मणि बन्न लागेको देखिन्छ  । अब यसलाई फिर्ता ल्याउन सक्ने सक्षम र दूरदर्शी नेतृत्वको आवश्यकता छ भन्ने आशय लुकेको ध्वन्यात्मक अर्थ बोकेको शीर्षकले नै यस महाकाव्यभित्र लुकेको आशावादी, जीवनवादी एवम् देशभक्तिपूर्ण जीवन्त भावलाई अभिव्यञ्जित गरेको छ । यस कारण यहाँ विगत छ, वर्तमान छ र आशावादी एवम् उज्यालो भविष्यको सपना समेटिएको छ । महाकाव्यको थालनीमा नै उल्लेख भएको यस श्लोकले प्रस्तुत महाकाव्यको केन्द्रीय कथ्यलाई ध्वनित गरेको छ—

बसी लेखनीमा नयाँ काव्यमाला 
खुलाउन् दयाले सबै दृश्यताला 
बनोस् कर्मराजी बनोस् भिन्न राष्ट्र 
नदेखूँ हिराको धरा खिन्न राष्ट्र । (सर्ग १, श्लोक २)

‘हराएको हिरा’ महाकाव्यको बाह्य संरचनालाई हेर्दा यो दशवटा सर्गमा विभाजित देखिन्छ । यसका सर्गहरू पनि अत्यन्त सन्तुलित र सुव्यस्थित रहेका छन् । यस महाकाव्यका सबै सर्गहरू १०१ श्लोकका छन् । यसरी दश सर्ग र १०१० श्लोकको बाह्यसंरचनामा आबद्ध प्रस्तुत महाकाव्यमा कथावस्तुको विकास पनि स्वाभाविक गतिमा अगाडि बढेको छ । यथार्थको उद्घाटनबाट सुरु भएर आदर्श कल्पनामा पुगेर टुङ्गिएको यस महाकाव्यको कथावस्तुको सार यस प्रकार रहेको छ—     

प्रस्तुत महाकाव्यको पहिलो सर्गमा कुनै देशको विगतको चर्चा गरिएको छ । यसमा समर र हिमरश्मि प्रमुख पात्रका रूपमा रहेका छन् । यहाँ विगतको समुन्नत संसारको स्वरूप देखिन्छ । त्यहाँका गाउँघरको प्रगति, उत्पादन र खर्चको सन्तुलन, बचतको व्यवस्थापन, शिक्षित समाजको स्वरूप आदि त्यस संसारका चिनारी बनेका छन् तर त्यहाँ ज्ञानआर्जनका लागि कुनै विद्यालयहरू छैनन् । दोस्रो सर्गमा संसारमा भयानक युद्ध भएको वर्णन गरिएको छ । त्यहाँ हिमरश्मि र समरको देश भने शान्त छ, शक्तिराष्ट्रहरूले युद्धबाट निर्दिष्ट लक्ष्य हासिल नभएपछि आर्थिक, शैक्षिक प्रणाली र संस्कृति, भाषा, धर्म आदिका माध्यमबाट संसार कब्जा गर्ने योजना बनाएका छन् । यस कारण विश्व तहसनहस छ र हिमरश्मि र समरको समाज पनि बिस्तारै तहसनसह बन्न पुगेको देखिन्छ । तेस्रो सर्गमा विवेक, बियाली, अमला, सचेत, सुबोल, दल, गमे, आमेन, उपमा, बत्ती, रीति, हरि आदि पात्रका माध्यमबाट विविध विषयको उद्घाटन गराइएको छ । यहाँ त्यस शान्त राज्यलाई भाँड्नका लागि देशविदेशबाट प्रहार भएको छ । प्रतापका देशका जनताले नौलो युद्ध लड्दै गरेको र देश तहसनहस भएको देखाइएको छ । चौथो सर्गमा एउटा देशलाई हराएको हिराका रूपमा सङ्केत गरिएको छ, जुन राज्यको नेता विज्ञान छ । त्यस देशका जनता खोज अनुसन्धानमा जुटेका छन् । यातायात, कृषि, विज्ञानलगायत सम्पूर्ण क्षेत्रमा उन्नति भएको छ । छिमेकी राज्यसँगको असमान सन्धि स्वतः खारेज भएका छन् । पाँचौँ सर्गमा हिमरश्मिको छोरा उदय र बुहारी शशिकला प्रमुख पात्रका रूपमा देखापरेका छन् । त्यस राष्ट्रको नेता अखण्ड छ तर सबै कुराले राज्य तहसनहस छ । सारा जनता निराश छन्, देश र नेतृत्वप्रतिको आशा शून्य हुँदै गएको छ । छैटौँ सर्गमा शशिकलाको परिवार चाहिँ प्रगतिउन्मुख देखिन थाल्छ । त्यस देशमा गरिखाने मान्छेहरू दुःखी र बजारबाट किनेर खाने मान्छेहरू सुखी हुन थाल्छन् । अति महङ्गीले निम्नवर्गको जीवन तहसनहस हुन्छ । त्यही समाजमा सन्ध्याको प्रेमी सुशील देखापर्छ र उसको गाउँघरप्रतिको मोह प्रशंसनीय लाग्छ । उसले गाउँलाई समृद्ध बनाएको सुन्दर दृश्य देखापर्छ । सातौँ सर्गमा गाउँमा बसेर कुनै अवसर नपाएपछि र गरिखाने बाटो नपाएपछि सारा युवाहरू मुग्लानतिर लागेको घटनाको चित्रण गरिएको छ । युवाहरू बहुराष्ट्रिय कम्पनीको शरणमा पुगेका छन्, त्यहाँ किन्ने कुरा महङ्गा छन् भने बेच्ने कुरा सस्ता छन् । परदेशमा श्रमिक युवाहरूको रकम त्यहीँ खर्च भएर सकिने अवस्था देखिन्छ भने यताको राष्ट्रिय पुँजी झन् झन् ध्वस्त हुँदै गएको छ । आठौँ सर्गमा समय व्यतीत हुँदै गएर हिमरश्मिको नाति आदित्यसम्म आइपुग्दा पनि देशको स्थितिमा कुनै सुधार नभएको देखाइएको छ । यसमा तत्कालीन शासकविरुद्धमा नागरिक सङ्गठनहरू बन्न थालेका छन्, देशमा विद्रोह सुरु भएको छ, अनेकौँ प्रकारका युद्धहरू हुन थालेका छन्, देशमा अन्तर्राष्ट्रिय अनुदान र सहयोग रोकिएको अवस्था छ, देशमा नाकाबन्दी लागेको हुनाले त्यसको भयानक असर त्यस देशका जनतामा देखिएको छ ।

यसरी आठौँ सर्गसम्म अत्यन्त कष्टपूर्ण जीवन व्यतीत गरिरहेको राष्ट्रले नवौँ सर्गदेखि बिस्तारै शिर उठाउन थालेको छ । यसका लागि ज्ञान र प्रविधि सबै कुराले सम्पन्न विज्ञानको विशिष्ट भूमिका रहेको छ । देशको राष्ट्रपतिका रूपमा जितेनको आगमन भए पनि त्यहाँ विज्ञानको ज्ञान र योजनाले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । राष्ट्रको प्रमुखका रूपमा जितेन आएपछि गाउँहरू सुसभ्य, समुन्नत र हराभरा देखिन थालेका छन्, जनतामा पनि आशाको दियो बल्न थालेको छ । जितेनपछि वसन्त राष्ट्रप्रमुख बनेर आएपछि त त्यो राष्ट्र सर्वोपरि सम्पन्न राष्ट्रका रूपमा स्थापित हुन पुगेको छ । यसपछि विश्वका अनेकौँ शक्तिराष्ट्रहरू पनि त्यसप्रति आकर्षित हुन थालेका छन् । दसौँ सर्ग यस महाकाव्यको अन्तिम सर्ग हो र यसमा कविको विचारको स्थापना भएको छ । यहाँसम्म आइपुग्दा त्यस राष्ट्रले आफूलाई संसारकै नेतृत्व गर्न सक्ने गरी विकास गरेको छ । पहिले त्यस देशलाई नाका लाउनेहरूले आफैँ नाका खोल्न बाध्य भएका छन् । छिमेकी र शक्तिराष्ट्रहरू त्यस राज्यको अकल्पनीय प्रगति देखेर आक्रोशित छन् । यसपछि छिमेकीहरूले सैनिक आक्रमणसमेत सुरु गरेका छन् तर त्यस देशले प्रविधिमा यति ठुलो विकास गरेको छ, ती आणविक हतियारहरू त्यस देशको भूगोलभित्र र आकाशमा पनि छिर्नै सक्दैनन् । त्यस देशले संसारका सबै हातहतियार र आणविक शक्तिहरू सबैलाई परास्त गरेको छ । यसरी आफ्नो शक्ति, सामथ्र्य र महत्त्व नबुझेर हराएको हिरा पुनः प्राप्त भएको छ । हिजो एउटा निरीह र आफ्नो युवाशक्ति विदेश पठाउन बाध्य देश आज अत्यन्त सम्पन्न र हरेक कुरामा संसारको नेतृत्व गर्न सफल भएको छ । यही नै ‘हराएको हिरा’ महाकाव्यको प्रमुख विषय वा कथावस्तु हो ।

यसरी सपाट रूपमा हेर्दा यस महाकाव्यको कथावस्तुमा काल्पनिकताको मात्रा बढी देखिन्छ तर त्यसले ध्वन्यात्मक रूपमा उठान गरेका विषयहरू हरेक राष्ट्रको उत्थान र पतनका सजीव चित्र हुन् । यसमा देशको उत्थान र पतनका लागि सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक अवस्थाको के भूमिका हुने गर्छ भन्ने कुराको सचित्र वर्णन गरिएको छ । यसका साथै देशको शैक्षिक अवस्था सुदृढ छैन र नेतृत्ववर्ग सफल छैन भने त्यस राष्ट्रको अधोगमन निश्चित छ भन्ने कुरालाई पनि अत्यन्त तार्किक रूपमा प्रस्तुत गरिएको छ । महाकाव्यको थालनीमा नै शिक्षा किताबमुखी मात्र नभएर व्यवहारमुखी पनि हुने कुरामा जोड दिइएको छ र पितापुर्खाले भन्ने गरेका पढेर मात्र होइन, परेर पनि सिकिन्छ भन्ने कुरालाई पुष्टि गर्ने खालका स्वाध्ययनमुखी शिक्षा केन्द्रित विभिन्न साक्ष्यहरू प्रस्तुत गरिएका छन् । समाज विकसित नहुनु र युवामा निराशा छाउनुको कारण देशको शैक्षिक अवस्था भएको ठहर गर्दै व्यावहारिक शिक्षा र दूरदर्शी नेताका कारण मात्र देश समृद्ध बन्छ नत्र भने आफैँसँग भएको हिरा पनि अन्धकारमा हराएर जान्छ भन्ने महत्त्वपूर्ण सन्देश यस महाकाव्यले दिएको छ ।

यस महाकाव्यमा कुनै पनि देशको नाम उल्लेख भएको पाइँदैन । देशको नाम उल्लेख नभए पनि यस महाकाव्यका पहिलोदेखि आठौँसम्मका सर्गहरूमा नेपालको विगतदेखि वर्तमानसम्मको स्पष्ट चित्र उतारिएको छ भने नवौँ सर्गदेखि एउटा आदर्श कल्पनामा जोड दिइएको छ । यसको नवौँ सर्गमा वर्णित समृद्धिको सपना पूर्ण भएमा एउटा सानो देशले पनि विश्वलाई नेतृत्व प्रदान गर्न सक्ने सम्भावना देखाइएको छ । सामान्य रूपमा हेर्दा यो एउटा स्वैरकल्पना जस्तो लाग्छ तर कवि वर्तमानको फोटोग्राफर मात्र होइन, भविष्यद्रष्टा पनि हो । कुनै कुनै भविष्यवाणी र योजनाहरू तत्कालका लागि आश्चर्यजनक हुन्छन् तर ती कालान्तरमा पुग्दा साँच्चै यथार्थमा रूपान्तरण हुन सक्छन् । एउटा आशावादी स्रष्टाका सिर्जनाहरूको विशेषता नै सम्भाव्यताको प्राक्कल्पना प्रस्तुत गर्नु हो । प्रसिद्ध भारतीय साहित्यकार राहुल सांस्कृत्यायनले लेखेको ‘बाइसवीँ सदी’ नामकमा कृतिमा उल्लेख गरेका अधिकांश कुराहरू बाइसौँ शताब्दी आउनुभन्दा पूर्व अहिले नै पूर्ण भएका देखिन्छन् । त्यसैले यस महाकाव्यमा युवाकवि श्यामविक्रमले देखेको समृद्धिको सपना एक न एक दिन अवश्य पूर्ण हुने छ । यहाँ प्रस्तुत गरिएका विज्ञान, प्रविधि, जितेन, वसन्त, आलोक आदि पात्रहरूको नाम र भूमिकामा पनि ध्वन्यात्मक अर्थ लुकेको छ । साथै ठुलो राष्ट्रको नागरिक वाङ्शीसँगको मित्रताले पु¥याएको सहयोगले समृद्धिका लागि आवश्यक बुहपक्षीय सहकार्यको सङ्केत गरेको देखिन्छ । झट्ट हेर्दा यहाँ तिलस्मीपूर्ण प्रविधिको विकासले विश्वलाई चकित बनाएको सन्दर्भको उठान गरिएको छ, जसले स्वैरकल्पना मात्र पो हो कि भन्ने आशङ्का सिर्जना गरेको छ तर त्यसलाई आलोकको नेतृत्व र नरालको चातुर्यपूर्ण कार्यशैलीबाट यथार्थनजिक पु¥याएर पुष्टि गरिएको छ । यी विविध कारणले गर्दा प्रस्तुत महाकाव्यको विषयगत उठान, भावगत अभिव्यञ्जना र वैचारिक आदर्शको स्थापना सबै कुरा स्वाभाविक बनेर आएका देखिन्छन् ।

‘हराएको हिरा’ महाकाव्यमा युवाशक्तिप्रतिको विश्वासलाई प्रमुख रूपमा अगाडि सारिएको छ । शशिवदना जस्तो छोटो छन्दमा पनि युवाशक्तिप्रतिको अपेक्षा र पात्रगत दक्षताको चित्रण यसरी गरिएको छ—

समर युवा छ 
अमर युवा छ 
अनि हिमरश्मि 
प्रबल तिलस्मी । (सर्ग १, श्लोक ३२)

उच्च महत्त्वाकाङ्क्षा र अप्रत्याशित भौतिक विकास नै मानवको प्राकृतिकपन विनाशको कारक हो । शान्त र सौम्य प्राकृतिक जीवनमा कृत्रिमताले प्रवेश गर्न थालेपछि साँचो मानवीय भावनामा ह्रास भएर जान्छ भन्ने कुरालाई यस महाकाव्यमा यसरी देखाइएको छ—

देखिन्छ मन्दिर, गुफा, घरझोपडी छ 
क्या शान्त मानव हुने जुन खोपडी छ 
मान्छे बढी प्रगतिको शिर टेक्न थाल्छ 
साँच्चै सुखी अनि खुसी दिन देख्न थाल्छ ।
 
मान्छेहरू सब थिए अघि एकतामा 
खानापिना र लतले अति आयु लामा 
पीडा त हुन्छ मनको तर हुन् पखाल्ने 
संसारका मनहरू दिलले पगाल्ने । (सर्ग ३, श्लोक ४५ र ४६)

राष्ट्रको उन्नयनका लागि सर्वसाधारण जनतादेखि नेतृत्ववर्गसम्म सबैको उत्तिकै जिम्मेवारी रहन्छ । चेतनाको स्तर माथि नउठेसम्म र हरेक कुरामा स्पष्ट दृष्टिकोण, स्पष्ट योजना र इमानदारीपूर्वक गरिने कार्यान्वयनको खाका तयार नभएसम्म देशको अधोगति रोकिनेवाला छैन भन्ने कुरालाई यस महाकाव्यले अत्यन्त तार्किक ढङ्गले प्रस्तुत गरेको छ—

उल्टो के हो ? सुल्टो के हो ? आज सिक्दै नसिक्ने 
माटो के हो ? गर्ने के हो ? सोच राख्ने नटिक्ने 
आँखा चिम्ली देख्ने के हो ? भूतजस्तो भविष्य 
यो चालाले के उत्रिन्थे डुब्न खोज्छन् अवश्य । (सर्ग ५, श्लोक ६६)

मान्छेको आलस्य उसका लागि मात्र होइन, माटोका लागि पनि घातक हुने गर्छ । मान्छेका कारण अत्यन्त उर्बर माटो पनि शुष्क बन्न सक्छ । त्यसैले मान्छेमा अल्छीपनको प्रवेश हुनु हुँदैन भन्ने कुरामा यस महाकाव्यले यसरी जोड गरेको छ— 

माटोको उब्जनीमा अतिशय जसरी ह्रास नै उम्रिँदै छ 
माटोमा सागसब्जी जति पनि हरियो घामले खुम्रिँदै छ 
ती नाना चीज छर्के अलिकति हरियो आउने हुन्छ हेर 
मान्छेले मार्छ माटो कथनसरि भयो आज अल्छी रहेर । (सर्ग ६, श्लोक ७५) 

यसरी नै युवावर्ग देशका खम्बा हुन् । जुन देशका युवाजति अर्काको देशमा गएर पसिना बगाउँछन्, त्यो देश उँभो लाग्दैन । जति युवाहरू विदेश गएका छन्, तिनले स्वदेशको घामपानी सम्झेर फर्कनुपर्छ अनि कोरियामा पुगेर होइन, यहीँको खोरियामा बसेर युगको गीत गाउनुपर्छ र पसिनाको रङ्गमा समृद्धिको जूनघाम झुल्काउनुपर्छ भन्ने राष्ट्रभक्तिको सन्देश यस महाकाव्यमार्फत यसरी दिइएको छ— 

खोज्दै खोज्दै विगत रसिलो फक्रिने भो गुराँस 
नौला नौला फरक युगका बैँस होलान् निराश 
टाढा जाँदा पनि मुलुकको सम्झ हे ! घामपानी 
सम्झे छोटो अधिक अपुरो लाग्छ यो जिन्दगानी । (सर्ग ७, श्लोक ३) 
गाई देऊ नवयुग तिमी खोरियामा बसेर 
सम्झी फुल्ने सुन कुसुम नै जान लागे खसेर 
भिज्दा तिम्रो सबल पसिना रम्दथे जूनघाम 
रोएका छन् अब मुलुकमा कामधन्धा तमाम । (सर्ग ७, श्लोक ७) 

निराशा र पलायन देशविकासका लागि बाधक हुन् भने आशा, विश्वास, सङ्कल्प र समर्पण राष्ट्रोन्नतिका आधार हुन् । हिजो रित्तो र भयावह भएको देश आज समृद्ध र हराभरा बन्न सक्छ भन्ने कुराको साक्ष्यका रूपमा यहाँ एउटा निरीहको राष्ट्रको पुनरुत्थानलाई यसरी प्रस्तुत गरिएको छ—

छन् स्वस्थ मानिसहरू त्यस राज्यभित्र 
देखिन्छ वायु, जलको गति नै पवित्र 
उब्जाउ हुन्न तिनको जसरी विषाक्त 
छन् स्वस्थ मानिस जहाँ त्यसले सशक्त । (सर्ग ९, श्लोक ४१) 


काहीँ दुर्गम छैन देशभरि नै उस्तै दुरुस्तै थलो 
मान्छे बस्छ रमाउँदै समयले गर्दै छ लाग्ने भलो 
बेँसीबाट पहाडको शिखरमा विद्युत् थिए मोटर 
डाँडापल्तिर वारिपारि पुल छन् आकाश चुम्नेनिर । (सर्ग ९, श्लोक ६५) 

हिजोसम्म सबैबाट गरिब भनेर हेपिएको, थिचिएको, मिचिएको राष्ट्र जनता र नेता सबैको सत्प्रयासबाट कसरी समुन्नत बन्न सक्छ भन्ने कुरालाई यहाँ देखाइएको छ । केही समय अगाडिसम्म चौतर्फी नाकाबन्दीको मार सहनुपरेको र शक्तिराष्ट्रहरूको आणविक हतियारको सिकार बन्नुपर्ने त्रासमा बाँच्नुपरेको राष्ट्र विज्ञान र प्रविधिको विकास र सही नेतृत्वका कारण एकाएक शक्तिसम्पन्न बन्न सक्छ भन्ने कुरालाई यस महाकाव्यमा सप्रमाण यसरी प्रस्तुत गरिएको छ—

त्यस्तो युद्धविमान छिर्दछ भने आगो भई खस्दछ 
धर्तीमा पनि टेक्छ घुस्दछ भने घुस्ने त्यहाँ फस्दछ 
सारा खेत किसानका परिधिमा त्यस्तै जडेका थिए 
सारा सैनिक सीपयुक्त जनता यस्तै पढेका थिए । (सर्ग ९, श्लोक ६८) 

यस महाकाव्यमा जीवन र जगत्को चित्राङ्कन गर्न सक्ने सूक्तिहरू पनि प्रशस्त सिर्जना भएका छन् । मान्छेलाई स्वार्थले तलमाथि पार्न सक्छ, घातप्रतिघातले मानवजीवनमा असर गर्न सक्छ तर उसको क्षमतामा कसैले पनि प्रभाव पार्न सक्दैन । व्यक्तिप्रतिभाभित्र रहेको सिर्जनात्मक क्षमताको बाटो रोक्न सक्ने औजार आजसम्म पनि बनेको छैन भन्ने कुरालाई यस महाकाव्यमा साँच्चै तर्कपूर्ण शैलीमा यसरी प्रस्तुत गरिएको छ—

छेकेर बाटो जब बस्छ मान्छे 
त्यहाँ स्वयं ऊ पनि फस्छ मान्छे 
बढाँै ममात्रै नरको पना हो 
छेकिन्न बाटो तर सिर्जनाको । (सर्ग १०, श्लोक ३४) 

प्रस्तुत महाकाव्यको दसौँ सर्गमा कविले आफ्नो विचार वा सन्देशात्मक काव्यआदर्शको स्थापना गर्नुभएको छ । यस सर्गका अधिकांश पद्यहरू गहन विचार र दर्शनका संवाहक बनेर आएका छन् । यहाँ मानव जीवन र माटोको सम्बन्ध के हो ? सर्वोच्च ज्ञान प्राप्तिका लागि के पढ्नुपर्छ ? सच्चा मानव को हो ? सच्चा जीवन के हो ? निराशाले मानवलाई कहाँ पु¥याउँछ ? आशाले कुन कुन क्षेत्रमा के के निर्माण गरिदिन्छ ? र एउटा राष्ट्रको समृद्धिका लागि एउटा नागरिकको के भूमिका रहने गर्छ ? भन्ने जस्ता अनगिन्ती प्रश्नहरूका जीवनोपयोगी उत्तरहरू दिइएका छन् । ती सबै सामान्य रूपमा नभएर सूक्तिपूर्ण रूपमा सिर्जना भएका छन् । तीमध्येमा केही उदाहरण निम्नानुसार रहेका छन्—    

१.	माटो पुस्तक पढ्नुपर्छ नरले त्यागेर डाहा रिस 
धर्ती मात्र पढौँ समस्त सदियौँ बन्ने भए मानिस । 
(सर्ग १०, श्लोक ८८)
२. आफूमात्र धनी भएर गरिबी जाँदैन संसारको 
प्राणीमा समभाव नै प्रगतिको यो सत्य आधार हो । 
(सर्ग १०, श्लोक ९३)
३. मान्छे मानिस बन्नुपर्छ उसको अस्तित्व राख्ने भए 
आपूm श्रेष्ठ बनेर शान्ति सुखले संसार ढाक्ने भए । 
(सर्ग १०, श्लोक ९४) 
४. आशा नै पथ हो नयाँ प्रगतिको आशा लिएका दिन 
आशाभित्र सबै दयाधर बने रुन्थ्यो यहाँ को किन ? 
(सर्ग १०, श्लोक ९७)
५. धर्तीको विष नाश हुन्छ छहरा पीयूषको झर्दछ 
शङ्का मात्र लिएर बाँच्न नरले यस्तो कहाँ पर्दछ ? 
(सर्ग १०, श्लोक ९८)

‘हराएको हिरा’ महाकाव्यभित्र पसेर गहन रूपमा खोज्न थाल्ने हो भने यस प्रकारका अभिव्यञ्जनामूलक उद्धरणहरू कैयौँ भेटिन्छन् । यो कविको काव्यात्मक सफलता हो । आफ्नो पहिलो कृतिमा नै कविताको बृहत् रूपलाई रोज्नु अनि त्यस कृतिमा यति धेरै सूक्तिपूर्ण, ध्वन्यात्मक र व्यञ्जनामूलक अंशहरू प्रस्तुत गर्न सक्नु कविको सुन्दर भविष्यको द्योतक हो । यो साँच्चै प्रतिभाबाट मात्र सम्भव छ, सामान्य कविको प्रयासबाट सम्भव छैन ।

‘हराएको हिरा’ महाकाव्यको अर्को उल्लेखनीय पक्ष सफल छन्दविधान हो । यस महाकाव्यमा कवि न्यौपानेले भुजङ्गप्रयात, शार्दूलविक्रीडित, वसन्ततिलका, उपेन्द्रवज्रा, इन्द्रवज्रा, उपजाति, स्रग्धरा, मालिनी, मन्दाक्रान्ता, वंशस्थ, शिखरिणीजस्ता अतिप्रचलित, शशिवदना, कुसुमविचित्रा, हारिणी, चित्राजस्ता अलि कम प्रचलित र हेमन्ततिलका, वैश्वदेवी, छाया, मयूरगति, कुसुमितलावेल्लिता, सुरसा, फुल्लदाम, मधुमती, स्रग्शार्दूल र समरसानुजस्ता नेपाली कवितामा अप्रचलित गरी २५ वटा छन्दको प्रयोग गर्नुभएको छ । यी कुनै पनि छन्दका कविता पढ्दा यी प्रयोगका लागि प्रयोग नभएर भावगत आवश्यकताका लागि प्रयोग भएका देखिन्छन् । अतिप्रचलित छन्दको प्रयोग त सामान्य नै हो तर कम प्रचलित र अप्रचलित छन्दहरूलाई पनि विनाव्यवधान भावानुकूल बनाएर प्रयोग गर्न सक्नु कविको सर्वोच्च विजय हो । त्यसमा पनि वर्तमानमा धेरैजसो कविहरूले छन्दको शास्त्रीय नियमभन्दा टाढा गएर छन्द मिलाउनका लागि भाषालाई भाँचकुँच र तोडफोड गरेको देखिन्छ तर कवि श्यामविक्रमले भाषालाई सग्लै राखेर अनि विषय वा भावलाई बाधा नपु¥याई सर्लक्क रूपमा पद्यशरीरको निर्माण गर्नुभएको छ । यही यस महाकाव्यको प्रशंसनीय पाटो हो । मीठो, ठूलो, बूढो, सीप, शहर आदिजस्ता शब्दमा परम्परित वर्णविन्यासको प्रयोग गर्नुभन्दा बाहेक अरूतिर कतै पनि भाषालाई भाँचेर छन्द मिलाउने काम भएको देखिँदैन । त्यसैले यस महाकाव्यमा कविको हार्दिक प्रतिभा र बौद्धिक ज्ञान दुवैको एकै ठाउँमा मापन गर्न सकिन्छ ।

यसरी गहिरिएर खोज्नै थाल्दा मात्र यस महाकाव्यमा केही दोषहरू फेला पर्दछन् नत्र भने यो भाव, विचार र शिल्प सबै पक्षबाट उच्चकोटिको महाकाव्य मानिन्छ । यसमा यथार्थको उद्घाटनले पृष्ठभूमिको काम गरेको छ भने समृद्धिको सपना र आशावादी चेतनाले देशको सुन्दर भविष्यलाई द्योतन गरेको हुनाले सिर्जनात्मक उद्देश्यका दृष्टिले पनि यो महाकाव्य सफल बन्न पुगेको देखिन्छ । यति हुँदाहुँदै पनि महाकाव्यमा कल्पना, विचार र शिल्पलगायतका सबै पक्षको सर्वाङ्गपूर्णताको अपेक्षा पाठकले राख्नु पनि स्वाभाविक कुरा हो । सिर्जनात्मक सौन्दर्यको उच्चतम प्राप्तिको अपेक्षा सर्जक र भावक दुवैमा नरहने हो भने सिर्जनात्मक प्रगतिका पाइलाहरू त्यहीँ रोकिन्छन् । त्यसैले कवि श्यामविक्रम न्यौपानेको साधनाको यात्रा अविरल रहनुपर्छ अनि वैयक्तिक अहङ्कारबाट आफूलाई बचाउँदै, शालीनताले व्यक्तित्व र कवित्व दुवैलाई सिँगार्दै, शब्दले भन्दा पनि कामले सबै कुराको जवाफ दिँदै र सबै खाले कृत्रिमता र दोषबाट कवितालाई बचाउँदै अगाडि बढ्ने हो भने कवि श्यामविक्रमको सिर्जनात्मक भविष्य अत्यन्त उज्यालो छ भन्ने कुराको गतिलो साक्ष्य यही महाकाव्य हो । अन्त्यमा, यति सानै उमेरमा र यति छोटो अवधिमा यति सुन्दर र यति शक्तिशाली महाकाव्य नेपाली साहित्यका लागि प्रदान गर्नुहुने कवि श्यामविक्रम न्यौपानेलाई सहर्ष बधाई ज्ञापन गर्दै र ‘हराएको हिरा’ महाकाव्यको सफलता र लोकप्रियताको कामना गर्दै अझै सुन्दर, अझै सशक्त, अझै परिष्कृत, अझै युगीन र अझै कालजयी सिर्जनशीलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 

२०८२ जेठ २७ गते,

साधनागृह, लोकन्थली, भक्तपुर     


प्रतिक्रिया