लमजुङको राइनास नगरपालिका वडा नंं ८ हर्राबोटमा रहेको सर्वोदय ज्येष्ठ नागरिक आश्रमले यसै बर्षबाट योग तथा प्राकृतिक चिकित्सालय संचालनमा ल्याउने भएको छ । योसंगै सर्वोदयले योग, संस्कृत र संस्कार शिक्षा संचालन गर्नुका साथै र जेष्ठ नागरिक दिवा सेवा समेत संचालन गर्ने भएको छ ।
आश्रमले सोमबार स्थापनाको २१ औं बार्षिकोत्सबका अवसरमा हर्राबोटमा आयोजित समारोहमा यस्तो जानकारी गराएको हो ।
योग तथा प्राकृतिक चिकित्साका वरिष्ठ विशेषज्ञ डा. हरिप्रसाद पोखरेल (मानसाग्नी)ले सर्बोदय सबै उदय गर्ने जीव जीवन र जगतको कल्याणको लागि काम गर्ने संस्था हो भन्दै सर्बोदयका कालजयी अभियान समाज रुपान्तरणको अभियान भएको बताए ।
कार्यक्रममा सर्वोदयका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले संस्थाको बार्षिक गतिबिधि र भावि योजना बारेमा र लेखा अधिकृत बिजय मिश्रले संस्थाको बार्षिक आर्थिक गतिबिधि प्रस्तुत गरेका थिए ।
सर्बोदय जेष्ठनागरिक आश्रमका अध्यक्ष सुकदेव रिसालको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय समर्पण ध्यान योग नेपालका तुलसीराम रेग्मी र बलबहादुर बि क ले तनाव ब्यबस्थापनको प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राईनास नगरपालिका शिक्षा शाखा प्रमुख पुणर्बहादुर अक्षामी ,राइनास वडा नं ८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, पूर्व शिक्षक तथा पतञ्जली योग समिति लमजुङका अध्यक्ष अंगराज घिमिरे , समाजसेवी गोविन्दराज न्यौपाने, लवराज ढकाल, संस्थापक सदस्य गोविन्द मान श्रेष्ठ र आश्रमका ब्याबस्थापक लक्ष्मी प्रसाद मिश्रले लमजुङको सामाजिक अभियानमा सर्वोदयले खेलेको भूमिका बारे प्रकास पार्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा आजीवन जन्मदिनमा हरेक बर्ष ५ हजार प्रदान गर्ने बेसीशहर ७ निवासी रामप्रसाद वाग्ले, बैबाहिक बर्षगाँठमा आजीवन बार्षिक १० हजार प्रदान गर्ने सुन्दरबजारका सुरेन्द्रलाल श्रेष्ठ दम्पती , आफ्नो बार्षिक कमाईको आम्दानी बाट हरेक बर्ष ५ हजार प्रदान गर्ने सुुन्दरबजारका बिष्णुकुमार श्रेष्ठ दम्पती, आफ्ना स्वर्गीय पिता माताको स्मृतिमा आजीवन हरेक बर्ष २ दिन आश्रममा भोजन सेवा प्रदान गर्ने बेसिशहर चिती निवासी इन्दिरा तिवारी, सर्बोदय सेवाश्रम धर्मनाथ धामको निःशुल्क गुरुयोजना निर्माण गरिदिने बेसिशहर -२ निवासी बरिष्ठ इन्जिनियर किशोर थापा र आफूलाई प्राप्त हुने आफ्नो जग्गाको पराल र मकै नियमित गौशालामा प्रदान गर्ने राइनास -८ निवासी अम्विका ओलिया र स्वयंसेवक भएर पुणर्कालीन आश्रममा सेवा गर्ने सुन्दरबजार निवासी लक्ष्मीप्रसाद मिश्रलाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।

२०५९ साल श्रावण ८ गते स्थापना भएको सर्बोदय सेवाश्रमले २०६८ कार्तिक देखि राईनासको हर्राबोटमा जेष्ठनागरिक आश्रम संचालन गर्दै आएको छ । आश्रममा अहिले १५ जना असहाय जेष्ठ नागरिकले आश्रय लिइरहेका छन् ।