बेसीशहर, पुस ११ गते । बेसीशहरमा निर्माण हुन लाागेको ५० मेगावाटको मर्स्याङदी बेसी जलविद्युत आयोजना कुनै पनि हालतमा बन्न नहुने भन्दै अति प्रभावित बेसीशहरको वडा नंं १० का स्थानीयले शुक्रबार बेसीशहरमा प्रदर्शन गरेका छन् ।
साविकको बाँझाखेत गाविस वडा नं. ६ र हालको बेसीशहर नगरपालिका वडा न १० मा पर्ने रातामाटा, घडेरी, कुप्लिङ, बेसी भाचोक लगायतका स्थानका स्थानीयले उक्त जलविद्युत आयोजनाको विरोधमा बेसीशहरमा जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालय र बेसीशहर नगरपालिकामा ज्ञापन पत्र बुझाइएको हो । उक्त आयोजनाको बिरोधमा बेसीशहरमा युवाहरु संगठित भई मस्र्याङदी बचाउ अभियान गठन गरी गत मंसिर ४ गतेदेखि संघर्षका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा वडा नंं १० का स्थानीय समेत स्वतःस्फूर्त रुपमा उक्त जलविद्युत आयोजनाको विरोधमा उत्रिएका छन् ।
मर्स्याङदी तथा भूसंरक्षण अभियानको नाममा संगठित भएका वडा नंं १० का बासीन्दा शुक्रबार ब्यानरसहित बेसीशहर आइपुगेका थिए । उनीहरुले मर्स्याङदी बचाउ अभियानमा अति प्रभावित वडा नं. १० को पूर्ण समर्थन रहेको भन्दै सबै स्थानीय आयोजनाको विरोधमा रहेको स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा वडा नंं १० रातामाटाका स्थानीय श्रीप्रसाद गुरुङले आफूले २०७४ सालदेखि नै आयोजनाको बिरोध गर्दै आएको भन्दै आयोजना बेसीशहरका बासीन्दाको हितमा नरहेको बताए । रातामाटा लगायत बाँझाखेतको अधिकांश भूभाग पहिरोको उच्च जोखिममा रहेको र यस क्षेत्रमा जलविद्युत आयोजना बन्दा स्थानीयले अस्तु सेलाउन समेत नपाउने भन्दै आयोजनाको विरोध गरे ।
स्थानीयको सहयोगमा मर्स्याङदी बचाउ अभियानको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतम र बेसीशहर नगरपालिकामा पुगी नगरप्रमुख गुमानसिंह अर्याललाई ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमा उक्त आयोजनाले वन ऐन २०७६ को दफा ४२ को स्पष्ट उल्लङ्घन गरेको र आयोजनामा प्रयोग हुने वन क्षेत्र निकै देखाइएको, रुख कटानीको संख्यासमेत न्यून देखाइएको उल्लेख गर्दै आयोजनाबाट पर्ने प्रभावले भविष्यमा निम्तिने जोखिमबारे जानकारी गराइएको छ । । आयोजनाले डिभिजन वन कार्यालयको स्वीकृति पत्र, जग्गा प्राप्ति ऐन अन्तर्गत आयोजनाको नाममा जग्गा अधिग्रहण गरिएको प्रमाण, नक्सा, सर्भे अनुमति, कित्ताकाट, , विस्तृत वातावरणीय प्रभाव मूल्यांकन लगायत कानुनी रुपमा अतवश्यक पर्ने कागजपत्र उपलब्ध नगराएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा मर्स्याङदी नदी केवल जलस्रोत मात्र नभएर बेसीशहरको जीवन रेखा र सार्वजनिक सरोकारको बिषय भएकाले नदीमा दीर्घकालीन रूपमा वातावरण, वन–जंगल, जमिन तथा स्थानीय मौलिक अधिकारमाथि प्रत्यक्ष असर पार्ने भनिएको छ । साथै आयोजनाले सार्वजनिक सुनुवाइ गरेको दावी गरे पनि अधिकांश स्थानीयलाई उक्त सुनुवाईमा समावेश नगरिएकाले आयोजना सञ्चालन गर्न नदिने अडान ज्ञापन पत्रमा पुनः दोहोर्याइएको छ ।
ज्ञापन पत्र पेश गर्ने क्रममा मस्र्याङदी बचाउ अभियानका संयोजक राम थापाले मर्स्याङदी बेसी जलविद्युत आयोजना बन्द हुनुपर्ने संघर्ष समितिको एकसुत्रीय माग रहेको पुनः दोहोर्याए । बलमिच्याइ गरी आयोजना निर्माण गर्न खोजिए संघर्ष समिति जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने भन्दै शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिए ।
खबरकुञ्ज