बेसीशहरको दनाइफाँटमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

खबरकुञ्ज

आज १५ असार र राष्ट्रिय धान दिवस । यस अवसरमा लमजुङमा पनि धान दिवस र रोपाइँ महोत्सवको आयोजना गरिएको छ । "धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता" भन्ने मूल नाराका साथ आज बेसीशहर नगरपालिकाको दनाइफाँटमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हाे ।

कृषि ज्ञान केन्द्र लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ), बेसीशहर नगरपालिका कृषि विकास शाखाको संयुक्त आयोजना र बेसीशहर ८ मा रहेको करपुरेश्वर सामुदायिक महिला समितिको ब्यवस्थापनमा राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव गरिएको हो ।

महोत्सवमा स्थानीय किसानका साथमा प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालय प्रमुख हरिबहादुर मिजार, प्रहरी नायब उपरीक्षक रेशम बोहरा, बेसीशहर वडा नंं ८ का वडा अध्यक्ष पवित्रा थापा राना, लगायतले गाउँदै रमाउँदै धान रोपेका थिए ।

बाउसे, रोपारेहरू आपसमा हिलो छेपाछेप गरेर धान रोपाइँमा रमाइरहदा करपुरेश्वर महिला विकास समितिका पदाधिकारी एवं सदस्यहरूले असारे भाकामा गीत गाउँदाआइतबार बिहान बेसीशहरको दनाईफाँट निकै रमाइलो भएको थियो । खेतरोपाइँसंगै दही च्यूरा खाँदै सबैले  शुभकामना आदनप्रदान गरी आपसी सद्भाव ब्यक्त गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले कृषि क्षेत्रमा प्रबिधिको प्रयोग बढाउन र किसानमैत्री नीतिको आवश्यकतामा जोड दिए । उनले आधुनिक प्रविधिको प्रयोग गरी कृषि उत्पादन बढाउन र उत्पादन बढाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले राष्ट्रिय धान दिवसको औचित्यबारे प्रकास पारेका थिए । 

कार्यक्रममा यस बर्षका उत्कृष्ट किसानहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । बेसीशहर नगरपालिकावडा नंं ९ का किसान बर्षा कृषि तथा पशु फार्मका सञ्चालक शोभा अधिकारी खत्री, सुन्दरबजार ५ गहतेस्थित सुजिता मौरीपालन तथा घार उद्योगका प्रोपाइटर मिनबहादुर गुरुङ, बेसीशहर ८ स्थित मिलापको बंगुर पालन फर्मका सञ्चालक मानध्वज आले, मर्स्याङदी गाउँपालिका ७ स्थित युवा एकिकृत कृषि, पशु तथा जडिबुटी फर्मका सञ्चालक केशलाल तामाङ १० हजार राशीको जिल्लास्तर उत्कृष्ट कृषि पुरस्कारबाट सम्मानित भएका हुन् ।


पुरस्कृत किसानहरुलाई कार्यक्रमका प्रमुख अतिथि गुरुङ, कृषि ज्ञान केन्द्रका प्रमुख खतिवडा, कार्यक्रमका अध्यक्ष कल्पना दना सेढाईँ लगायतले दोसल्ला, नगद पुरस्कार र कदरपत्रले सम्मान गरेका थिए ।

प्रतिक्रिया