आज दिउँसोदेखि अझै धेरै पानी पर्ने जल तथा माैसम बिज्ञान विभागकाे पूर्वानुमान

काठमाडौं । जल तथा माैसम बिज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान गरेकाे छ । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको र पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने बिभागले जनाएकाे छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तर पूर्वी उत्तर प्रदेश र उत्तर पश्चिम बिहार आसपासकाे न्यून चापीय प्रणालीको प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने सम्भावना रहेकाे बिभागले जानकारी दिएकाे छ। 

बिभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेकाे माैसम सम्बन्धी बुलेटिनमा आज दिउँसोदेखि पानी पर्ने क्रम झन् बढ्ने बताएकाे हाे । गएरातिदेखि देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गत २४ घण्टाको अवधिमा भने कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा मापन गरिएकाे बिभागले जनाएकाे छ ।

अहिले सातै प्रदेशमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था रहेकाे र आज राति र भोलि भारीदेखि र धेरै भारी वर्षाको पनि सम्भावना रहेको बिभागले जानकारी दिएकाे छ ।

बिभागका अनुसार आज दिउसाे कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित र  चट्याङसहित भारी वर्षाको सम्भावना छ । यसैगरी राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थाेरै र बाँकी प्रदेशका केही स्थानमा  स्थानमा मेघ गर्जनसहित र  चट्याङसहित भारी देखि धेरै भारी वर्षाको सम्भावना देखिएकाे छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्न सक्ने पनि जनाएकाे छ ।

हेर्नुहाेस् जल तथा मौसम विज्ञान विभागको बुलेटिन ।


प्रतिक्रिया