लमजुङ । लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नंं २ मा पर्ने किचे खाेलामा स्थानीय बासीन्दाकाे लगानीमा १ मेगवाट क्षमताकाे लघु जलविद्युत याेजना निर्माण हुने भएकाे छ ।
मर्स्याङदी गाउँपालिकाका सम्भावनालाइ अबसरमा बदल्दै स्थानीय बासीन्दाकाे लगानीमा मर्स्याङदी गाउँ पालिकालाइ नै समृद्ध बनाउन स्थानीयस्तरमा गठन गरिएकाे मर्स्याङदी ग्रुप मार्फत जलविद्युत याेजना बन्न लागेकाे हाे ।
शुक्रबार लमजुङकाे भुलभुलेमा बसेकाे शेयर सदस्यहरुको पहिलो भेलाले जलविद्युत योजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेकाे छ । भेलाले कम्पनीकाे सञ्चालक समिति समेत गठन गरेकाे छ ।
जमीन्द्रमान घलेकाे अध्यक्षतामा चेत बहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पूर्णबहादुर गुरुङ र टीकाराम भण्डारी सदस्य रहेकाे सञ्चालक समिति गठन गरिएकाे हाे ।समितिको प्रमुख सल्लाहकारमा हेमजङ गुरुङ र सल्लाहकारहरुमा बमबहादुर भण्डारी र चन्द्रलाल गुरुङ चयन भएका छन्।
सञ्चालक समितिकाे गठनसंगै कम्पनीले जलविद्युत आयोजना निर्माणको आवश्यक सवै प्रक्रिया थाल्ने मर्स्याङ्दी ग्रुपका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । उनले छिट्टै काम शुरू हुने पनि बताए । लमजुङकाे मर्स्याङ्दी गाउँपालिकामा कृषि, वनपैदावार र नदी तथा पर्यटनमा अाधारित उद्योग व्यावसाय स्थापना गरी स्थानीइलाइ रोजगारी दिने र स्थानीयकाे अार्थिक स्तर उकास्न विभिन्न क्रियाकलाप सञ्चालन गर्न मर्स्याङदी ग्रुपकाे गठन गरिएकाे छ ।
ग्रुपमा करिब ५ सय भन्दा बढीले सेयर किनेका छन् । ग्रुपमा जाेडिनेले न्यूनतम ५० हजार देखि ३० लाखसम्म लगानी गर्न पाउने छन् ।