सुन्दरबजार अस्पतालको भवन निर्माणका लागि लागि १५ राेपनी जग्गा प्राप्त, अस्पताल बन्ने निश्चित

खबरकुञ्ज

बेसीशहर, चैत २ गते । सुन्दरबजार अस्पतालले सुन्दरबजार नगरपालिका वडा नं ७, तार्कुटारस्थित नेपाल सरकारको नाममा दर्ता रहेको १५–१–१–० क्षेत्रफल जग्गा सुन्दरबजार अस्पतालको भवन तथा भौतिक संरचना निर्माणका लागि प्राप्त गरेको छ । 

साविक सुन्दरबजार गाविसको वडा नंं ९ र हालको सुन्दरबजार नगरपालिकाको वडा नंं ७ को कित्ता नंं ५५ को ७–१–१–० र कित्ता नं. २४१ को ४८–११–३–१ क्षेत्रफल जग्गामध्ये ८ रोपनी गरी कूल १५ रोपनी १ आना, १ पैसा जग्गा सुन्दरबजार नगरपालिकाले अस्पताल भवन निर्माणका लागि प्राप्त गरेको हो ।


अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि पहल गरिरहेको सुन्दरबजार अस्पताललाई नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ चैत १८ गतेको निर्णयले उक्त जग्गा प्रयोग गर्न सक्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदको वैठकले निर्णय गरे पनि सो सम्बन्धी परिपत्र जिल्लामा आउन ढिला हुँदा र अन्य विभिन्न कारणले ढिला गरी सोमबार  मात्र नगरपालिकाले अस्पतालका लागि जग्गा प्राप्ति गरेको हो।

मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वर कमल श्रेष्ठ र सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घतीबीच उक्त सार्वजनिक जग्गा प्रयोगमा लिने सम्बन्धमा सोमबार सम्झौता भएको छ । मालपोत कार्यालयले विभिन्न ५ वटा शर्त राख्दै सुन्दरबजार नगरपालिकालाई जग्गाको उपयोग गर्न सम्झौता गरेको हो ।

शर्तनामा अनुसार प्रयोग गर्न दिइएको जग्गा अतिक्रमण हुन नपाउने गरी नगरपालिकाले संरक्षण र सम्बद्र्धन गर्नुपर्नेछ । त्यस्तै ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका स्थलहरुको मौलिकतामा असर नपर्ने गरी प्रयोग गर्नुपर्ने छ । प्रयोगमा दिइएको जग्गा नाफामूलक तथा ब्यापारिक कार्य वा कुनै ब्यक्ति वा अन्य निकायलाई प्रयोग वा भाडामा दिन पाइने छैन । उद्देश्य अनुरुपको कार्य नगरेमा पूर्वाधारसहितका जग्गा नेपाल सरकारले फिर्ता लिन सक्नेछ । नेपाल सरकारलाई कुनै प्रयोजनका लागि आवश्यक परेमा प्रयोग गर्न दिइएको जग्गा पुरै फिर्ता लिनसक्ने पनि सम्झौतामा उल्लेख छ ।

सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोईरालाले जग्गा प्राप्तिसंगै सुन्दरबजारका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुलेको बताए । यो महत्वपूर्ण कार्यमा योगदान पु¥याउने सबैलाई धन्यवाद दिँदै उनले नगरपालिकाले स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता दिएको र अस्पताल भवन निर्माणको प्रक्रिया छिटो अघि बढाउन नगरपालिका प्रतिवद्ध रहेको बताए ।

सुन्दरबजार अस्पताल यो महत्वपूर्ण उपलब्धि हासिल गर्न सुन्दरबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष जयराम रेग्मीको लामो समयदेखिको अथक प्रयास रहेको छ। साथै, अस्पताल व्यवस्थापन समिति अध्यक्ष विष्णु कुमार श्रेष्ठ, नगरप्रमुख कृष्णप्रसाद कोईराला र सम्पूर्ण नगरपालिकाको पहलले यस कार्यलाई सम्भव बनाएको हो ।

नगरपालिकाले अब अस्पतालको निर्माण प्रक्रियालाई तीव्रता दिने योजना बनाएको छ। नगरप्रमुख कोईरालाका अनुसार, भौतिक संरचना निर्माणका लागि आवश्यक स्रोत साधन जुटाउने कार्य समेत अघि बढाइएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमार श्रेष्ठले पनि समर्पित स्वास्थ्य पूर्वाधार निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

यो निर्णय कार्यान्वयन भएसँगै सुन्दरबजार नगरपालिकावासीले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया