धर्मनाथधाममा बोलबम मेलाको तयारी पूरा, १ हजार बढी तीर्थयात्री सहभागी हुने

खबरकुञ्ज

बेसीशहर, साउन ४ गते । लमजुङको राईनास नगरपालिका वडा नंं ८ हर्राबोटमा रहेको धर्मनाथधाममा सोमबारबाट शुरु हुने बोलबम धार्मिक मेलाको तयारी पूरा भएको छ ।

हरेक वर्ष साउन महिनाको सोमबार शिवालयहरुमा बोलबम आयोजना हुने गरेकोमा यस बर्ष धर्मनाथ धामको रुपमा विकास हुँदै गरेको सर्वोदय सेवाश्रममा बोलबम आयोजना हुन लागेको हो । यही साउन ५ गते सोमबार लमजुङमै पहिलोपटक धर्मनाथ धाममा बोलबम  आयोजना हुन लागेको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले जानकारी दिए ।


जिल्लामै पहिलो पटक विभिन्न जिल्लाबाट तीर्थालु भक्तजनहरु बोलबम यात्राका लागि धर्मनाथधाममा आउने छन् । बोलबम तीर्थयात्राले धर्मनाथ धामको प्रचारप्रसार सँगै धार्मिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

ओलियाले सर्वोदय सेवाश्रमको मानवीय सेवासँगै आश्रमलाई धर्मनाथ धाम बनाउन विभिन्न धार्मिक संरचनाहरुको निर्माण गरिएको र यस पवित्र तीर्थस्थलमा पूर्व मन्त्री शंकर भण्डारीले बोबलम धार्मिक मेलाको उद्घाटन गर्ने तयारी भएको जानकारी दिए । 


ओलियाका अनुसार  पूर्व मन्त्री भण्डारीसहित बोलबम राष्ट्रिय समितिका अध्यक्ष दिपेन्द्र तिवारी र पूर्व सांसद सनातन ज्ञानविज्ञानका अभियान्ता शंकरप्रसाद पाण्डेको नेतृत्वमा २२ बर्ष अघिदेखि बोबलम तीर्थयात्रा गर्ने गरेको जम्बो टोली लमजुङको धर्मनाथ धाम आउँदै छन् ।  पाल्पा, स्याङजा र अन्य जिल्लाबाट समेत गरी ४ वटा बस रिजर्भ गरी तीर्थयात्रीहरु धर्मनाथ धामतर्फ आउँदै गरेका ओलियाले बताए ।

यी तीर्थयात्रीहरु आज राईनासकोट होमस्टेमा बास बस्ने कार्यक्रम छ । सोमबार बिहानै धर्मनाथ धाममा बोबलम तीर्थयात्राको उद्घाटन गरिने र यस बोबलम तीर्थयात्रामा स्थानीय सहित १ हजार बढी तीर्थयात्री सहभागी हुने अनुमान गरिएको छ ।

मानवीय सेवासंगै सर्वोदय ज्येष्ठ नागरिक आश्रमलाई धार्मिक पर्यटनको केन्द्र समेत बनाउने उद्देश्यले आश्रम परिसरलाई धर्मनाथ धामको रुपमा विकास गरिएको छ । आगामी बर्ष लमजुङका प्रसिद्ध शिवालयहरुमा समेत बोबलम आयोजना गर्ने सोच रहेको ओलियाले बताए ।

सोमबारको बोबलम उद्घाटन समारोहमा राईनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार लगायतका स्थानबाट आउने भजनमण्डलीले संगीतमय भजन कीर्तनसमेत गर्ने छन् ।

यस साउनका चारवटै सोमबार धर्मनाध धाममा रहेका १०८ धारामा स्नान, पूजाअर्चना, कथावाचन, भजन किर्तन सहित शिवलिङ्गमा जलार्पण लगायत धार्मिक अनुष्ठानका कार्यक्रम गरिने सर्वोदय ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष सुकदेव रिसालले बताए ।

१०८ शिवलिङ्गसहितकाे कैलाश पर्वत, १००८ शालीग्राम, १०८ गाेमुखी धारा, साेही स्थानमा उत्पन्न भएका शिवलिङ्ग सहितकाे धर्मनाथ धामलाइ गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रकाे रूपमा विकास गर्ने लक्ष्य राखिएकाे छ ।

प्रतिक्रिया