अन्तरपुस्ता सीप हस्तान्तरणः विद्यार्थीहरूलाइ दुना टपरी बनाउने तालिम

बेसीशहर । सालको पातको टपरी बन्छ भन्ने त धेरैलाई थाह छ, तर कसरी बन्छ भन्ने कुरा अहिलेको नयाँ पुस्तालाई पत्तै छैन । 

बजारमा छ्याप्छ्याप्ती प्लाष्टिक कागज र आल्मुनयिम र्यापिङ गरिएका तयारी प्लेट पाइन्छन् । बजारमा यस्ता तयारी प्लेट पाइन थालेपछि परम्परादेखि प्रयोगमा आएका सालको पातका दुना टपरीको प्रयोग हुन छोडेको छ । शहर बजारको कुरा छोडौं, गाउँघरमा समेत हिजोआज बिबाह ब्रतबन्ध जस्ता कार्यमा कताकति देख्न पाइए पनि अरु बेलामा दुना टपरी देख्न छोडिएको छ ।

अहिलेको नयाँ पुस्तालाई दुना टपरी भनेको के हो भन्ने पनि थाह छैन । दुना टपरी नै नचिन्नेले बनाउन जान्ने कुरै भएन । हाम्रो संस्कार र संस्कृतिसंग जोडिएको परम्परागत दुनाटपरीको प्रयोग र बनाउने तरिका विद्यार्थीहरुलाई सिकाउन लमजुङ सदरमुकाम बेसीशहरको एक विद्यालयले तालिम नै आयोजना गरेको छ ।


बेसीशहरको वडा नंं ७ मा रहेको युनिभर्सल एकेडेमीले लक्ष्मीनारायण सामुदायिक सिकाइ केन्द्रसंगको सहकार्यमा विद्यालयमा दुना टपरी बनाउने तालिम चलाएको हो । तालिमममा विद्यालयका ४६ जना विद्यार्थीहरु सहभागी भएका विद्यालयका प्रिन्सिपल बिमल अधिकारीले बताए ।

तालिममाा लक्ष्मीनारायण सामुदायिक सिकाई केन्द्रकी प्रमुख कान्ता घिमिरेले छात्राहरूलाई दुना टपरीको परिचय, महत्व, आवश्यकता, परम्परागत संस्कृतिबारे जानकारी गराउँदै दुनाटपरी बनाउने सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाएकी थिइन् ।


बिद्यार्थीहरुले तालिममा सामान्य टपरी र चार कुने र पाँच कुने टपरी काने दुना, बोहोता आदि बनाउन सिकेका थिए । विद्यार्थीहरुले खुब लगनशील भएर तालिम लिएका र छोटो अवधिमा सहजै दुना टपरी बनाउन सिकेका थिए ।


अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम अन्तर्गत युनिभर्षल अंग्रेजी माविमा  दुना टपरी बनाउन सिकाइएको र दुना टपरी बनाउन विद्यार्थीहरुले देखाएको लगनशीलता र हौसलाले तालिम दिन निकै सजिलो भएको प्रशिक्षक कान्ता घिमिरेले बताइन् ।


प्रतिक्रिया