कृषि ज्ञान केन्द्र लमजुङलाई सर्वोत्कृष्ट नमुना कार्यालयकाे पुरस्कार

लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङ उत्कृष्ट नमुना कार्यलयको उपाधि सहित पुरस्कृत भएको छ । 

गणतन्त्र दिवसका अवसरमा कृषि ज्ञान केन्द्र लमजुङलाई गण्डकी प्रदेश सरकारले प्रदेश सरकार मातहातको सर्वोत्कृष्ट नमुना कार्यालय घोषणा गर्दै पुरस्कृत गरेको हो । 

गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले बनाएको कार्यविधि र मापदण्ड अनुसार लमजुङमा रहेका प्रदेश सरकार मातहतका १५ वटा कार्यालयमध्ये कृषि ज्ञान केन्द्रले उत्कृष्टता हासिल गरेको कार्यालय प्रमुख सुदिप खतिवडाले जानकारी दिए ।


कार्यविधिअनुसार कार्यालय व्यवस्थापन, कार्यक्रम सम्पादन, सुशासन, सार्वजनिक खरिद, नियम कानुन, कर्मचारी बैठक, लक्ष्य अनुसार प्रगति हासिल गरेनगरको लगायत २५ वटा सूचकका आधारमा कृषि ज्ञान केन्द्रले उत्कृष्ट कार्यालयको रुपमा घोषित भइ प्रदेश सरकारबाट पुरस्कार पाउन सफल भएको हो । गण्डकी प्रदेश सरकारबाट मूल्यांकनका लागि उपसचिवसहितको टोली स्थलगत अनुगमनको लागि खटाएको थियो ।

उक्त पुरस्कार गणतन्त्र दिवसको अवसर पारेर सोमबार पोखरामा वितरण गरिएको हो । पुरस्कारको राशी ३० हजार रुपैयाँ र प्रमाण पत्र रहेको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडालाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

पुरस्कार पाएपछि खुशी हुँदै कार्यालय प्रमुख खतिवडाले सबै कर्मचारीको मेहेनत, परिश्रम र लगनशीलताका कारण यो उपलब्धी हासिल भएको बताएका छन् । उनले आगामी दिनमा पनि कार्यालयको कार्य सम्पादनलाई चुस्त दुरुस्त बनाई सेवाग्राहीको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया