काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ।
विभागले न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् गरेकाे हाे । न्यूनचापीय रेखा उत्तरतर्फ रहेपनि जलवाष्पयुक्त वायु कम आउने भएकाले माैसममा क्रमिक सुधार हुँदै जाने विभागकाे अनुमान छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेकोमा दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा माैसम आंशिक देखि सामान्य बदली हुनेछ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

शनिबार राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।
२०८० भदौ १० गते आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र राती देशभर आंशिक देखि सामान्य बदली रहने विभागले जनाएकाे छ। विभागका अनुसार कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै २०८० भदौ ११ गते सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।