रविमाथिकाे राजनीतिक प्रतिशाेध बिरूद्ध १५ हजारकाे हस्ताक्षर, लमजुङमा रास्वपा सदस्य साढे ६ हजार कटे

खबरकुञ्ज

बेसीशहर, साउन ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि राज्यले साँधेको राजनीतिक प्रतिशोधका बिरोधमा लमजुङमा शुरु गरिएको हस्ताक्षर अभियानले थप तीब्रता पाएकोछ ।

गत असार ७ गते रास्वपाको स्थापना दिवसको सन्दर्भमा लामिछानेमाथि राज्यले गरेको राजनीतिक प्रतिशोधका विरुद्ध देशभर २५ लाख भन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । लमजुङमा यसरी हस्ताक्षर गर्नेहरुको संख्या १५ हजार नाघेको छ ।  

प्राविधिक कारणले लमजुङमा असार १० गतेदेखि हस्ताक्षर अभियान शुरु गरिएको थियो । सदरमुकाम बेसीशहर, सुन्दरबजार लगायतका बजार क्षेत्रमा तीन दिनसम्म अभियान सञ्चालन गरिएकोमा खेत रोपाइँको समय भएकाले रोकिएको थियो । केही दिन अघिदेखि यो अभियान पुनः सुचारु भएको छ । आइतबारसम्म १५ हजार २८ जनाको हस्ताक्षर संकलन भएको छ ।

रास्वपा लमजुङका सभापति अशोक सापकोटाले शनिबारसम्म १४ हजार ४ सय ९५ जनाको हस्ताक्षर संकलन भएकोमा आइतबार थप ५ सय ३३ जनाको हस्ताक्षर थप भएको जानकारी दिए । 

हस्ताक्षर अभियानसंगै रास्वामा जोडिनेहरुको संख्या पनि दिनदिनै बढिरहेको छ । आइतबार मस्र्याङदी गाउँपालिकामा शुरु गरिएको हस्ताक्षर अभियानमा देशकै सान चर्चित महिला फुुटबलर, नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान सावित्रा भण्डारी साम्बाका पिता थम्ब बहादुर भण्डारी स्वतःस्फूर्त रुपमा सहभागी भइ रवि लामिछानेको पक्षमा हस्ताक्षर मात्र गरेनन्, रास्वपाको सदस्यता समेत लिएर घर फर्केका छन् । मस्र्याङदी गाउँपालिकामा अरु दर्जनौंले रास्वपाको सदस्यता लिएका छन् ।


सभापति सापकोटाले अहिलेसम्म लमजुङमा रास्वपाको सदस्यता लिनेहरुको संख्या ७ हजार नाघेको जानकारी दिए । सापकोटाले भने–“४ हजार ५ सय जनाको सदस्यता प्रमाणित भइसकेको छ । बाँकी २ हजार ५ सय भन्दा बढीको  सदस्यता आवेदन प्रमाणित हुन बाँकी छ ।”

रास्वपा लमजुङका उपसभापति प्रकास थापाले जिल्लाका ग्रामीण क्षेत्रहरुमा पनि अब हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको र गाउँ गाउँमा पनि नागरिकहरु उत्साहजनक रुपमा हस्ताक्षर अभियानमा जोडिएको जानकारी दिए । थापाले भने–“खेतीपातीको काम विस्तारै सकिन लागेको र गाउँगाउँबाट अभियान सञ्चालन गर्न आग्रह आएकाले यो अभियानलाई गाउँ केन्द्रीत गर्न लागिएको छ । रास्वपाको संगठन विस्तार भएका सबै वडामा अब अभियान शुरु हुन्छ ।”

उपसभापति थापाले मस्र्याङदी, दोर्दी र दूधपोखरी गाउँपालिकामा हस्ताक्षर संकलन अभियान शुरु भएको र सुन्दरबजार, मध्यनेपाल र राईनास नगरपालिकामा अभियान जारी रहेको बताए । उनले साउन ७ गतेदेखि बेसीशहर नगरपालिकाका विभिन्न वडामा पनि हस्ताक्षर अभियान शुरु हुने जानकारी दिए ।

गाउँ गाउँमा सञ्चालन गरिएको अभियानमा स्वतःस्फूर्त र उत्साहजनक रुपमा नागरिकहरु जोडिएका छन् । युवायुवती देखि बयोबृद्ध ज्येष्ठ नागरिकहरु पनि अभियानमा जोडिदा र सभापति लामिछाने र रास्वपाप्रति सहानुभूति  ब्यक्त गरिरहेका छन् । अभियानको क्रममा कांग्रेस, एमाले, माओवादी पार्टी परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरुको जमात पनि ठूलो छ । रास्वपाको हस्ताक्षर अभियानले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रमा अबद्ध कार्यकर्ताको पनि दरो साथ पाएपछि रास्वपाका नेता कार्यकर्ता उत्साहित बनेका छन् । 

प्रतिक्रिया