बेसीशहर, असार ३२ गते । बर्षाका कारण जीर्ण अबस्थामा रहेको लमजुङ कारागारको पर्खाल भत्केको छ ।
बुधवार दिउसो ४.४५ बजे कारागारको भित्री भागमा रहेको बन्दीगृहको पर्खाल बर्षाका कारण भत्किएको हो । कारागारका जेलर बेनिबहादुर मोक्तानका अनुसार बर्षाका कारण करीब १० मिटर लम्बाइ र १० मिटर चौडाइको पर्खाल भत्केको छ ।
पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने नभएको जेलर मोक्तानले जानकारी दिए ।
लमजुङ कारागार २०२८ सालमा बनेको हो । कुन्छाबाट सदरमुकाम बेसीशहर सरेपछि सोही बर्ष कारागार निर्माण भएको थियो । ढुंगा माटोले बनेको पर्खाल जीर्ण भएकै कारण सामान्य बर्षाका कारण कारागारको पर्खाल भत्किएको हो ।
जीर्ण भएकै कारण केही बर्ष अघि पनि कारागारको पर्खाल भत्किएको थियो । सामान्य मर्मत गरेर काम चलाइएकोमा पुनः कारागारको पर्खाल भत्किएपछि कारागार प्रशासन, सुरक्षाकर्मी र कैदी बन्दीहरु जोखिममा छन् ।

जीर्ण कारागार पुनिर्माणका लागि धेरै बर्ष अघिदेखि कारागार ब्यवस्थापन विभागलाई अनुरोध गरिए पनि विभागले सुनेको छैन ।
जेलर मोक्तानले कारागारको पर्खाल भत्किएको सम्बन्धमा विभागमा जानकारी गराइएको र आवश्यक समन्वय भइरहेको बताए । यस सम्बन्धमा जिल्ला सुरक्षा समितिको वैठकमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।
पर्खाल भत्किएपछि कारागारको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरीसंग समन्वय गरी सुरक्षाको आवश्यक ब्यवस्था मिलाइएको मोक्तानले बताए ।
लमजुङ कारागारमा क्षमता भन्दा बढी बन्दी छन् । शुरुमा २५ बन्दीको क्षमता हुने गरी बनाइएको कारागारमा अहिले १ सय ८ जना बन्दी छन् । उक्त कारागारमा यस अघि १ सय २५ जना सम्म बन्दी रहेका थिए ।
खबरकुञ्ज