बेसीशहर, भदौ ३ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ७ बर्षदेखि पाक्षिक रुपमा सञ्चालन हुँदै गरेकाे हाटबजार अब साप्ताहिक रुपमा सञ्चालन हुन थालेको छ । गाउँपालिकामा यसअघि गत माघबाट हरेक महिनाको १५ गते तथा चाडपर्व लक्षित हाटबजार सञ्चालन हुदै आएको थियो ।
स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्ने उदेश्यले यसअघि मासिक रुपमा लाग्दै आएको हाटबजार यहि भदौ १ गतेबाट साप्ताहिक रुपमा सञ्चालन हुन थालेको हो । यस अघि पाक्षिक रुपमा सञ्चालन हुँदै आएको हाटबजार अब हरेक हप्ता आइतबार सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । किसानले उत्पादनलाई सहजै नजिकै बिक्री गर्न र उपभोक्ताले पनि आफ्नै गाउँठाउँमा ताजा फलफूल तरकारी लगायतका कृषि उपज सुपथ मूल्यमा पाउने भएकाले दुवै पक्षलाई यसले फाइदा पुग्ने उनले बताए ।
कृषि तथा पशु हाटबजार सञ्चालन समितिले मस्र्याङ्दी गाउँपालिका ३ खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा हाटबजार सञ्चालन गर्ने गरेको छ ।
गाउँपालिकाले कृषि तथा पशु हाटबजार कार्यविधि बनाएको छ । गाउँपालिकाका विभिन्न वडाका किसानहरुले आइतबार हाटबजारमा कृषि उपज विक्रीका लागि ल्याएका थिए । यस बर्ष ब्यवसायीक रुपमा अकबरे खुर्सानीको खेती भएको मस्र्याङदीका किसानहरुले आइतबारको हाटमा उल्लेख्य रुपमा अकबरे खुर्सानी विक्रीका लागि ल्याएका थिए ।
मिलन शर्मा दनाई