भुलभुलेकाे हामखोला झरना महोत्सवमा झुमे दर्शक, अहिलेसम्मकै धेरै आन्तरिक पर्यटककाे भीड

खबरकुञ्ज

बेसीशहर, भदौ ७ । लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ८ भुलभुलेमा छैटौं हामखोला झरना महोत्सव २०८२ भब्यताका साथ सम्पन्न भएको छ ।

विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने र आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य बन्दै गरेको हामखोला झरनामा यही भदौ ६ र ७ गते पाँचौं हामखोला झरना महोत्सव आयोजना गरिएको थियो ।

शुक्रबारदेखि शुरु भएको महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवमा लमजुङका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु रमाउन पुगेका थिए । लमजुङबाहेक काठमाडौं, चितवन, तनहूँ, गोरखा र कास्कीदेखिका आन्तरिक पर्यटक महोत्सव अवलोकन गर्न भुलभुले पुगेका थिए । महोत्सव संविधानसभाका सदस्य जमीन्द्रमान घलले शुक्रबार उद्घाटन गरेका थिए । शनिबार महोत्सवको समापन गरिएको हो ।

उक्त झरनामा शनिबार सयौं पर्यटकको भीड लागेको थियो । महोत्सवस्थलकाो वातावरण हेर्दा लमजुङ महोत्सवकै झल्को मिलेको महोत्सवस्थलमा पुग्ने दर्शकहरुले बताए । शनिबार राष्ट्रिय लोक दोहोरी गायक चिज गुरुङ र गायिका मञ्जु विश्वकर्माको गीतमा रमाउने दर्शकको संख्या उल्लेख्य थियो । मञ्जुको ठाडोभाका, ङोलो राजा... र चिज गुरुङको लमजुङको डाँडैमा हावा सरर..., गोरखा सिरानचोक..., निरमसी किनेर ल्याइ दिनु... लगायतका गीतमा दर्शकहरुले झुमेर नाचे ।

स्टेजको पछाडि हामखोला झरना छङछङ झरिरहेको आकर्षक दृष्यका बीच कलाकारहरुको मधुर स्वरमाा दर्शक श्रोताले निकै मनोरञ्जन लिए । स्टेजमा कलाकाहरुका प्रस्तुति भइरहँदा झरनामा गएर फोटो खिच्ने, टिकटक बनाउनेहरुको भीड उस्तै थियो ।

डुम्रे बेसीशहर चामे सडक र विश्वविख्यात अन्नपूर्ण पदमार्गसंगै जोडिएको र झरनाको प्रचार प्रसार गरी उक्त स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न झरनामै महोत्सव आयोजना गरिएकाले शुक्रबार र शनिबार आजसम्मकै सबै भन्दा भीड जम्मा भएका स्थानीयले बताए । 

झण्डे ६० मिटर उचाइको भीरबाट छङछङ झर्ने यो झरना लमजुङकै प्रमुख झरनामध्ये एक हो । हिउँद बर्खा दुवै समयमा निरन्तर रहने यो झरना पुग्न बेसीशहरबाट सवारी साधनमाा करीब २० मिनेट मात्र लाग्छ । 

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको झरनाको विकास गरी यस क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न मर्स्याङदी गाउँपालिकाको सहयोगमा हरेक बर्ष महोत्सव आयोजना गर्न थालिएको  गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । बेसीशहरबाट ७ किलोमिटर पक्की सडक, करीब ७ सय मिटर सुरुङको रोमाञ्चक यात्रा र करीब १ किलोमिटर कच्ची सडक यात्रा गरेपछि हामखोला झरना पुग्न सकिन्छ ।

झरनालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी पर्यटन प्रबद्र्धनका लागि हामखोला झरना संरक्षण तथा ब्यवस्थापन समिति गठन भएको छ । यही समितिको आयोजना र गाउँपालिकाको सहयोगमा यस बर्ष पनि महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष वाइवाले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्सव आयोजना गरिएकोमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको थामिनसक्नु भीड जम्मा भएको मर्स्याङदी गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव प्रदीप गुरुङले बताए । 


महोत्सवमा लोक दोहोरी गायक चिज गुरुङ, मञ्जु विकका साथमा प्रितम गुरुङ, ‘स्क्र्याच जर्नी’ ब्याण्ड, स्थानीय प्रतीभाहरु, विभिन्न, आमा समूह, युवा क्लब, विद्यालय र होमस्टेहरूको रमाइलो सांगितीक प्रस्तुति समेत गरिएको थियो ।

हामखोला झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले सडकबाट झरनासम्म पुग्ने सिँढी, पर्यटक बस्ने प्रतिक्षालय, फलामे पुल, घेराबारका साथै कार्यक्रम आयोजना गर्न मिल्ने गरी स्टेज समेत निर्माण गरिदिएको र आगामी दिनमा पनि आवश्यकता अनुसार थप संरचना निमार्ण गर्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

गाउँपालिकाको केन्द्र तथा अन्नपूर्ण पदयात्रा मार्ग र डुम्रे बेसीशहर चामे सडकमै परी सहज यातायात सेवाको विकासले झरनाको पर्यटकीय विकासमा टेवा पुगेको छ । 

प्रतिक्रिया