जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाईते

खबरकुञ्ज

बेसीशहर, माघ २८ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेमा बुधवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाईते भएका छन् । 

भुजुङबाट कालढुङ्गा तर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जीप आज बिहान करिब ११ बजे मर्स्याङ्दी गाउँपालिका–९, मिर्चे स्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी जीपमा सवार लमजुङको क्व्होलसोथार गाउँपालिका ४ भुजुङका ७४ बर्षीय मल कुमारी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहरमा ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते हुनेहरुमा बेसीशहर ५ बस्ने बर्ष २० की कृपा गुरुङ, बेसीशहर ७ की रितु गुरुङ, क्व्होलासोथर ४ भुजुङकी वर्ष २२  की एलिना गुरुङ, सोही ठाउँ बस्ने वर्ष २७ की स्मृति गुरुङ,बर्ष ८० का आइतराम गुरुङ, मस्र्याङदी गाउँपालिका ९ बस्ने बर्ष ३१ का आर्यन गुरुङ र सोही गाउँपालिका वडा नंं २ बस्ने ५० बर्षकी काली गुरुङ रहेका छन् । जीपमा १० जना सवार रहेका र चालकले नियन्त्रण गुमाउँदा जीप सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी अभिषेक पाण्डेले जानकारी दिए । उनका अनुसार जीप चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया