पाल्पा । पाल्पा जिल्लाको जोर्ते भन्ने स्थानमा सडकमा सुख्खा पहिरो खस्दा यात्रा गरिरहेका तीन जनाको मृत्यु भएको छ । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको रूरू रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको स्कोर्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तानसेन–तम्घास सहायक राजमार्गको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा खसेको सुख्खा पहिरोले स्कोर्पियो पुरिँदा त्यसभित्र रहेका यात्रुहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका ७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

तस्वीर साैजन्यः सञ्जय भट्टराइ
दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा चालक बालकृष्ण श्रेष्ठ, अन्दाजी ३६ वर्षीया सुष्मा राना घर्ती, अन्दाजी ६ वर्षीया सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया स्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर रहेका प्रहरीले जानकारी दिएको छ ।