बेसीशहर । पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले रातोबाघ नामको महाकाव्य प्रकाशित गरेका छन् ।
केही महिना यता विभिन्न कालखण्डमा रचना गरिएका साहित्यिक सिर्जनाहरूलाइ कृतिका रूपमा प्रकाशनमा सक्रिय कवि श्रीकृष्ण न्यौपानेले पछिल्लो पटक महाकाब्य प्रकाशन गरेका हुन् । यो उनको लेखनका हिसाबले तेस्रो र प्रकाशनका हिसावले पहिलो महाकाव्य हो । नयाँ बर्ष २०८० को अवसर पारेर साहित्यकार न्यौपानेले बैशाख १ गते महाकाब्य सार्वजनिक गरेका छन् ।
महाकाब्यमा ११ सर्ग ११४५ श्लोक र २३ छन्दको प्रयोग गरिएको छ । जीवनको आधा शताब्दी समय नेपाली साहित्यको साधनामा खर्चेर तीब्र लेखन गतिका साथ महाकाव्य लेखनमा होमिएका साहित्यकार श्रीकृष्ण न्यौपानेले आफूले एकदर्जन महाकाव्य प्रकाशन गर्ने लक्ष्य लिएको बताएका छन् ।महाकाव्य सार्वजनिक गर्दै न्यौपानेले महाकाव्यका निम्न सिद्धान्त÷लक्षणहरू प्रस्तुत गरेकाछन् ।
१.बहुकथन–धेरै विषय तथा कथाहरू समेटिएको ,
२.बहुछन्द – धेरै छन्दहरूको प्रयोग हुनुपर्ने, वार्णिक छन्दको मात्रै प्रयोग हुनुपर्ने । झ्याउरे, मात्रिक लगायतका छन्दको प्रयोग महाकाव्यमा स्वीकार्य नहुने,
३.साहित्यका अधिकाधिक रसहरूको उपस्थिति हुनुपर्ने,
४. सीमित पात्रहरूले महाकाव्यको मर्म नसमेटिने हुँदा बहुपात्रको उपस्थिति हुनुपर्ने,
५. कम्तिमा १० सर्ग र १००० श्लोक र हरेक सर्ग प्रस्तुतिमा आवश्यक श्लोकहरूको संयोजन,
६. समसामयिक विषयवस्तुको प्रयोग सर्वोत्तम, प्रागैतिहासिक विषयवस्तु दर्शनको रूपमा प्रयोग हुन सक्ने,
७. तत्काल समाजले नपचाउने दूरदर्शिता, कालान्तरको विसङ्गतिलाई व्यवस्थापन गर्ने सूक्तीकरण ।
महाकाव्यमा पोखराका कवि एवं छन्द बचाउँ अभियान तथा महाकाव्य लेखन अभियानका अभियन्ता माधव वियोगीले भूमिका लेखेका छन् । भूमिकामा उनले भनेका छन्– “प्रचलित, कम प्रचलित र अप्रचलित २३ वटा शास्त्रीय छन्दको प्रयोग भएको यो महाकाव्यभित्र छन्दकध प्रयोग स्वभाविक देखिन्छ । छन्द प्रयोगका कारण कविताको भाव पक्ष कमजोर भएको छैन । कवि छन्द, भाव र विषयमा सचेती बनेकाछन् । छन्दलाई सही बाटो र स्थान दिएकाछन् । श्रीकृष्ण न्यौपाने अब कविबाट महाकाव्यकार बनेका छन् । महाकाव्यकार बनेका उनले भविष्यमा महाकविको दर्जा आउनेमा म विश्वस्त छु ।”
“महाकाव्य रचना गरि छापेपछि महाकाव्यकार, २÷४ वटा महाकाव्य प्रकाशन पछि महाकवि भनिनु कुनै अनौठो कुरा होइन । महाकाव्य लेख्ने सबै देवकोटा हुँदैनन् । देवकोटालाई पनि महाकविको दर्जा राज्यले दिएको होइन, महाकाव्य लेखेकैले उनलाई जनताले महाकविको दर्जा दिएको हो ।” भूमिकामा कवि वियोगीले थप लेखेका छन् ।
महाकाव्यलाई शुभकामना दिँदै लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले छन्दका शास्त्रीय मान्यता भित्र बाँधिएर कविता लेख्ने चलन नयाँ पुस्तामा हराउँदै गएको वर्तमान अवस्थामा महाकाव्य लेखनका शास्त्रीय तथा आधुनिक मान्यतालाई प्रयोग गरि महाकाव्य लेखिनु सराहनीय विषय भएको बताएका छन् ।
न्यौपानेले २०४८ सालमा छली खण्डकाब्य, २०७९ भदौमा भृकुटी नामको ऐतिहासिक खण्डकाब्य र असोजमा उनको अर्काे कृति भाउजु प्रकाशित भयो । गत कार्तिकमा आमा नामक खण्डकाब्य प्रकाशन गरेका उनले गएको मंसिरमा मात्र राता सिपाही खण्डकाब्य, श्रीकृष्ण गजल संग्रह र सय छन्द कविता संग्रह प्रकाशित गरेका थिए । न्यौपाने “फेसबुक लभ” खण्डकाव्य र विषाालु धरती महाकाव्य प्रकाशनको तयारीमा छन्।