सुन्दरबजारका भूमिहीन दलित तथा सुकुम्बासीले यही कार्तिकभित्रै लालपूर्जा पाउने

राष्ट्रिय भूमि आयोग लमजुङले लमजुङको सुन्दरबजार नगरपालिकामा बसोबास गर्ने भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरुले यही कार्तिक महिनाभित्र जग्गाको लालपूर्जा पाउने भएका छन् ।

सुन्दरबजार नगरपालिकामा जग्गाप्राप्तिका लागि निवेदन दिने भूमिहीनहरु मध्ये छनोटमा परेका ३३ जना दलित तथा भूमिहीन सुकुम्बासीहरुका लागि आयोगले लालपूर्जा वितरण गर्ने तयारी गरेको हो । 

छनोटमा परेकामध्ये २४ भूमिहीनहरुले बुधबार बेसीशहरमा रहेको आयोगको कार्यालयमा पुगी जग्गा दर्ता सम्बन्धी पुस्तिकमा औठा छाप र हस्ताक्षर गरेपछि उनीहरुलाई लालपूर्जा वितरणको अन्तिम टुंगो लागेको हो । बाँकी ९ जनाले आवश्यक प्रमाण पुरा गरेपछि उनीहरुलाई समेत लालपूर्जा वितरण गरिने आयोगका अध्यक्ष दामोदर अधिकारीले बताए ।

आयोगले उनीहरुलाई यही आउँदो कार्तिक २४ गते एक समारोहबीच लालपूर्जा वितरण गर्ने राष्ट्रिय भूमि आयोग लमजुङका सदस्य शोभा थापाले जानकारी दिइन् ।

जग्गा प्राप्तिका लागि धेरैको निवेदन परेको भए पनि भूमिहीनको रुपमा प्रमाण पु¥याउनेहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिने उनले बताइन् ।

लमजुङमा पहिलो पटक सुन्दरबजारका भूमिहीन दलित तथा  सुकुम्बासीहरुलाई जग्गाको लालपूर्जा दिन लागिएको हो । यस अघि विभिन्न पालिकाका भूमिहीनहरुलाई निस्सा वितरण गरिए पनि सुन्दरबजारका भूमिहीनले पहिलो पटक लालपूर्जा पाउन लागेका हुन् । 


आयोगका अध्यक्ष अधिकारीले बर्षौंदेखि सार्वजनिक जग्गामा घरकटेरा बनाएर बसेका वास्तविक भूमिहीन दलित तथा सुकुम्बासीको पहिचान गरी उनीहरुलाइ साढे चार आनाका दरले जग्गा उपलब्ध गराउन लागिएको बताए । उनीहरुलाई दिने जग्गाको खोजी भइसकेको उनले बताए ।

जिल्लाका स्थानीय निकायमध्ये दूधपोखरी, मध्यनेपाल, मस्र्याङदी, राईनासका भूमिहीन दलित तथा सुकुम्बासीलाई निस्सा दिने काम सकिएको र उनीहरुलाई पनि छिटै लालपूर्जा वितरण गरिने राष्ट्रिय भूमि आयोग लमजुङका सदस्य शोभा थापाले बताइन् ।

आयोगले अब्यवस्थित बसोबासीहरुको समेत लगत संकलन गरी डाटा इन्ट्रीको काम गरिरहेको थापाले जानकारी दिइन् ।

आयोगको जिल्लास्थित कार्यालयमा सदस्य सचिव रहने नापी कार्यालय लमजुङमा कार्यालय प्रमुख नहुृँदा काम प्रभावित भएकोमा नयाँ नापी अधिकृत आइपुगेपछि कामले गति लिएको बताइएको छ । 


प्रतिक्रिया