बेसीशहर । दुई दशकसम्म एनजिओले सञ्चालन गरेको लमजुङ जिल्ला अस्पताल गण्डकी प्रदेश सरकार मातहत गएको केही समयमै प्रदेश सरकारले आफै चलाउने निर्णय गर्यो । विजोग अवस्थाको जिल्ला अस्पताललाई २०५८ असोजदेखि मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले ब्यवस्थापन गर्दै आएकोमा गत बर्षकाे बजेट भाषणमार्फत सरकारले नै चलाउने बताएपछि अनेक शंकाहरु उब्जिनु स्वभाविक पनि थियो । किनकी काठमाडौं पोखराका कतिपय अस्पतालले दिने सेवा दिइरहेको सामुदायिक अस्पताल सरकारी भएपछि पहिले जस्तै सामान्य उपचारका लागि फेरि जिल्ला बाहिर जानु पर्ने त होइन ? अस्पतालमा डाक्टर बस्ने हुन् कि होइनन् ? सेवा सुविधा घट्ने पो हो कि ? भन्ने आम जिज्ञासा थिए ।
एचडिसिएसले गएको कार्तिकबाट अस्पताल ब्यवस्थापन छोडेपछि केही समय अन्यौलको अवस्था आयो पनि । अस्पताल अब खत्तम भयो भन्नेहरु नै अहिले अस्पतालले दिएको सेवा देखेर खुशी हुन थालेका छन् । अस्पतालले दिएको विशेषज्ञ सेवादेखि शल्यक्रिया सेवा सम्ममा अहिले पनि कमी नआउँदा अस्पतालप्रतिका सबै भ्रम हटेर गएका छन् । पहाडी जिल्लाका सरकारी अस्पतालमा डाक्टर नै नबस्ने रोग यहाँ पनि हुन्छ कि भन्ने आशंका पनि अब हटेर गएको छ ।
अस्पतालले सेवा सुविधालाई कमी हुन नदिइ बरु बढाउँदै लग्ने कोशिस गरिरहेको छ । अस्पतालका अध्यक्ष हरिजंग तामाङ भन्छन्– "ठूलो कुरा त गर्नु पनि हुँदैन, तर सामान्य रोगका लागि यहाँका जनताका लागि काठमाडौं पोखरा तथा चितवन जानुपर्ने अवस्था आउन नदिन हामी सचेत छौं । सोही अनुसार जिल्ला अस्पतालले दिन सक्ने सेवा सुविधाका लागि हामी प्रयत्नशील छौं । लमजुङका जनताले हिजो पाएका सेवा अहिले पनि पाइरहेका छन् । हामी सेवालाई अरु बढाउँदै छौं ।"
साँच्चै नै लमजुङ अस्पतालमा सेवा थपिँदो छ । यो अस्पतालमा हालै मात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) सेवा शुरु भएको छ । यो सेवा गण्डकी प्रदेशमा पहिलो पटक लमजुङमा शुरु भएको हो । बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्म र उपचारपछिकोे प्रक्रियालाई कम्युटरमा इन्ट्री गर्नुलाई इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली भनिन्छ । विरामीको स्वास्थ्य सम्बन्धी तथ्यांक गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको अवस्थालाई सफ्टवेयरको सहयोगमा सुरक्षित राख्न र बिरामीको सम्पूर्ण स्वास्थ्यसम्बन्धी जानकारी राख्न यो प्रणाली सहयोगी हुने गर्दछ । यो प्रणालीको शुरुवात पछि एक पटक उपचार गराएर फर्केका विरामी पुनः अर्कोपटक बिरामी भइ पुनः उपचारमा आउँदा उसको विगतको उपचारमा के कसो गरिएको थियो भन्ने सहजै थाह पाउन सकिन्छ । यो प्रणालीले जोखिम अवस्थाका बिरामीहरूको यथासम्भव पहिचान गरी छिटो रोगको उपचार गर्न मद्दत पुग्छ । इएमआर प्रणालीकले बिरामीको आर्थिक भार कम हुनुका साथै डाक्टरको समयको पनि बचत हुने अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा रमेशप्रसाद आचार्यले बताए ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले शनिबार अस्पतालमा आयोजित एक समारोहबीच ईएमआर सेवाको उद्घाटन गरेकी थिइन् । सोही अवसरमा उनले ल्याब कल्चर सेवाको पनि उद्घाटन गरिन् । जिल्ला अस्पतालमा यस अघि कल्चर सेवा थिएन । प्रयोगशालामा रगतको नमूनालाई मिहीन रुपमा अध्ययन गरी रोगको कारण पत्ता लगाउन याे गर्ने गरिन्छ । यसअघि कल्चरका लागि नमूना पोखरा पठाउनु पर्ने बाध्यता अब हटेपछि विरामीलाई राहत भएको छ ।
लमजुङ अस्पतालमा परीक्षणको रुपमा रहेको हेमोडाइलासिस सेवा पनि अब सुचारु भएको छ । अब डायलासिस गर्नुपर्ने अवस्थाका किड्नीका विरामीलाई त्यसकै लागि पोखरा काठमाडौं धाउनु पर्ने बाध्यताको पनि अन्त्य भएको छ ।
तर लमजुङ अस्पतालमा अहिलेसम्म पनि आईसियू सेवा सञ्चालनमा आउन सकेको छैन । कोभिड महामारीका बेला आइसियू सञ्चालनका लागि उपकरणहरुको ब्यवस्था गरिए पनि जनशक्ति अभावमा हालसम्म पनि यो सञ्चालन हुन नसकेकोमा छिटै उक्त सेवा पनि सञ्चालन हुने अस्पतालका अध्यक्ष तामाङले बताए ।
यसबाहेक अहिले अस्पतालमा धेरै कुराको सुधार भएको छ । भौतिक निर्माणदेखि अस्पतालले दिने सेवामा विस्तार भएको छ । अस्पतालमकाे सेवा विस्तार भएपछि बिरामीकाे चाप पनि बढ्दाे छ । अस्पतालले कर्मचारी ब्यवस्थापनदेखि बिशेषज्ञ सेवामा विस्तार गरेको अध्यक्ष तामाङले बताए । उनका अनुसार अहिले अस्पतालमा हाडजाेर्नी, दन्त सर्जन, स्त्रीराेग बिशेषज्ञ डाक्टर कार्यरत छन् । यसबाहेक शल्यक्रिया गर्नुपर्ने अवस्थाका विरामीलाइ लठ्याउने एनेस्थेसिष्टकाे समेत नयाँ पदपूर्ति हुँदैछ । अहिलेसम्म एनेस्थेसिष्ट असिष्टेण्टले अस्पताल धानिरहेका थिए ।
अस्पताल प्रांगणमा सेवाग्राहीलाई सहज बनाउन ट्रष्ट बनाएर बस्ने कुर्सीको ब्यवस्था मिलाइएको छ । टिकट काउण्टरमा लाग्ने लामाे भीड हटाउन कुपनकाे ब्यवस्था गरी टिकट काउण्टर ब्यवस्थित भएकाे छ । फार्मेसीलाई थप ब्यबस्थित बनाइएको बताउँदै अध्यक्ष तामाङले छिटै अस्पतालाई १ सय बेडको बनाइने जानकारी दिए ।