जिल्ला प्रशासन कार्यालय लमजुङबाट राष्ट्रिय परिचयपत्र वितरण शुरू

बेसीशहर । जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेकाे छ । २०७७ साउन १ गतेदेखि लमजुङमा राष्ट्रिय परिचय पत्रकाे फारम भर्न थालिएकाेमा तीन बर्षपछि परिचयपत्र वितरण थालिएकाे हाे ।


जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेकाे हाे ।  प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनाैपचारिक कार्यक्रमबीच बेसीशहर नगरपालिका वडा नं. ८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाइ परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरू गरेका हुन् ।


लमजुङ जिल्लाबाट २०८० साउन १० गतेसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।


त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि बैशाख मसान्तसम्म सञ्चालन गरेकाे घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाकाे आवेदन संकलन गरिएकाे थियाे । 


तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाकाे परिचयपत्र बनेर आएकाे प्रजिअ अधिकारीले जानकारी दिए ।


कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भईसकेका सेवाग्राहीकाे माेबाइलमा सन्देश पठाएर जानकारी दिने ब्यवस्था मिलाइएकाे छ । यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन् । परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने  प्रजिअ अधिकारीले बताए ।


राष्ट्रिय परिचय पत्र भनेकाे के हाे ?


राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक  तथा जैविक (बायाेमेट्रिक) विवरण समाबेस भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो। यस्तो परिचय पत्रमा ब्यक्तिगत विवरणहरू नाम, थर, जन्ममिति, लिंग, आमा बुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नीको नाम, बाजेको नाम, १० वटै औंलाको छाप, परिचय वत्र नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर लगायतको विवरण समावेश हुन्छ ।


राष्ट्रिय परिचयपत्र किन वश्यक पर्छ ?


परिचयपत्र लागू भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक पर्दछ । 


राष्ट्रिय परिचयपत्र बनाउन के के वश्यक पर्छन् ?


राष्ट्रिय परिचय पत्र बनाउनका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा), विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित/ नाता प्रमाणितको सक्कल प्रमाणपत्र चाहिन्छ । नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा) विवरण पुष्टि हुने अन्य कागजातहरु आवश्यक पर्छन् ।

प्रतिक्रिया