नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटका लागि छनोट

काठमाडौं । युएइलाइ हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएको छ । काठमाडौंको मूलपानी मैदानमा शुक्रबारयुएई लाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट भएको हो । टी–२० विश्वकप क्रिकेट अमेरिका र वेष्ट इन्डिजमा सन् २०२४ को जुनमा हुनेछ ।

नेपालले सन् २०१४ मा पनि बंगलादेशमा भएको टी–२० विश्वकपमा भाग लिएकाे थियाे । 

शुक्रबार काठमाडाैंकाे मूलपानी खेल मैदानमा टस जितेर ब्याटिङ गरेकाे युएईले नेपाललाइ १३५ रनको लक्ष्य दिएकाे थियाे । लक्ष्य पछ्याउने क्रममा नेपालले २ बिकेटकाे क्षतिमा लक्ष्य भेटेकाे थियाे । खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ६३ रन बनाए ।  नेपालका जीतका लागि कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।  युएईलाई रोक्न नेपालका कुशल मल्लले  ११ रन खर्चेर ३ महत्वपूर्ण ३ विकेट हात पारे । खेलमा सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।


यसअघि नेपाललाइ हराएकाे ओमान पनि विश्वकपमा छनोट भएको छ । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको रुपमा रहेका  वेष्ट इन्डिज र अमेरिकाका साथै विश्वकपमा शीर्ष मानिएकाअष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका टी-२० विश्वकप २०२४ मा सीधै छनोट भएका छन् । टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् । आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया