रिसको झोंकमा आफनै बाबुको हत्या, छाेरा पक्राउ

खबरकुञ्ज

बेसीशहर, बैशाख ३१ गते । लमजुङको मर्स्याङदी गाउँपालिकामा रिसको झोंकमा आफनै बाबुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

मर्स्याङदी गाउँपालिका–४, कालाघिरिङ निवासी २३ बर्षीय लु बहादुर गुरुङ आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ परेका हुन् । उनले सामान्य झगडा पछि मादक पदार्थ सेवन गरी आफ्नै ५७ बर्षीय बाबु नरबहादुरलाई हत्या गरेको लमजुङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राती मर्स्याङदी गाउँपालिका वडा नं. ४ कालाघिरिङको ठूलोढुङ्गा स्थित गाई गोठमा बस्दै आएका नर बहादुरलाई छोरा लु बहादुरले बञ्चरो र चिर्पट दाउरा प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि बाबुलाई गोठमा रहेको उनको विस्तारामा सुताएर छोडेको खुलेको छ ।

गाईगोठमा मृत अवस्थामा एक ब्यक्ति फेला परेको सूचनाको आधारमा मंगलबार बिहान घट्नास्थल पुगेको प्रहरीले मृतकको टाउको, अनुहार लगायत शरीरका विभिन्न भागमा घाउ चोट भइ रगत लतपतिएको र पेटमा समेत निलडाम देखिए पछि मृतकको हत्या भएको ठहर गरी सुक्ष्म अनुसन्धान गरेको थियो ।

घटनास्थलमा रगतका टाटा देखिएको, चिर्पट दाउरा, काठको लौरो र बन्चरो समेत  घट्नास्थलमा देखिएपछि हत्या भएको ठहर गरी अनुसन्धान अघि बढाएको प्रहरीले सोधपुछका क्रममा अघिल्लो दिन राती बाबु छोराको झगडा परेको सुइँको पाएको थियो । सोही सूचनाका आधारमा मृतकका जेठा छोरा लु बहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो ।  

प्रहरीले पक्राउ परेका लु बहादुरलाई बुधबार लमजुङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (कर्तब्य ज्यान) मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएकोे छ ।  

प्रतिक्रिया