विष्णु माझीको तीज गीत ‘म त नराउरी’ ले युट्युवमा तहल्का मच्चायाे

मिलन शर्मा दनाई

बेसीशहर, भदौ २ । सुरिलो स्वरकी धनी चर्चित गायिका विष्णु माझीको स्वरमा नयाँ तीज गीत ‘म त नराउरी’ ले युट्युवमा  तहल्का मच्चाएकाे छ। 

साउन २८ गते सार्वजनिक भएको यो गीत एकसाता पनि वित्न नपाउँदै युट्युवमा ४२ लाख पटक हेरिएको छ । सुन्दरमणी अधिकारीको शब्द रचना र संगीतमा रहेको यो गीत सपना म्युजिक इण्डष्ट्रिजले सार्वजनिक गरेको हो । बजारमा तीजका गीतको विगविगी भए पनि स्तरीय गीत नसुनिएको यो सन्दर्भमा विष्णु माझीको यो गीतले फेरि एक पटक सांगितीक क्षेत्रमा तहल्का नै मच्चाइ दिएको छ । एक साता नवित्दै गीतले ४० लाख बढी भ्युज ल्याउनु चानचुने कुरा होइन ।

विष्णु माझीको स्वर यसै पनि जादुमयी छ । त्यसमाथि उनले गाएका गीतमा मर्मस्पर्शी शब्दहरु हुने भएकाले उनका गीत ओग्घोरै चल्ने गरेका छन् । यस पटकको उनका तीज गीतका शब्दहरु पनि निकै मर्मस्पर्शी छन् । विष्णुका पति सुन्दरमणीका शब्दले दर्शक श्रोताको मन छोएका छन् । हरेक वर्ष तीजमा फरक र मार्मिक विषयवस्तुका गीत ल्याउने उनले यसपटक छोरा र छोरीमाथिको विभेद, पितृसत्तात्मक सोचलाई आफ्नो गीतको मुख्य विषय बनाएका छन् ।

म त नराउरी आमै म त नराउरी, तिम्रै छोरो राम्रा, म त नराउरी’ बोलको व्यंग्यात्मक अंशबाट यो गीत शुरु हुन्छ । गीतमा बालककालमा पनि छोरा र छोरीमा हुने विभेद, छोरालाई मीठो मसिनो खुवाउने र छोराहरुको गल्तीको भागीदार पनि छोरीलाई बनाइएको गीतमा देखाइएको छ । छोरालाई राम्रो लगाउन दिने तर छोरीलाई घरधन्दामा लगाउने, जुठो कसेर गर्न र चुलो पोत्न लगाउने, पढ्न लाग्दा पढेर पो के गर्छेस् ? तँ त पराइ घर जाने हो भनी पढ्न नदिने र बिहे गरी दिएपछि छोरीले पराई घरमा फेरि जीवनभरी दुःख कष्ट झेल्नुपर्ने दृष्य गीतको म्युजिक भिडियोमा देखाइएको छ ।

यो गीतमा छोरीले जन्मघरदेखि कर्मघरसम्म भोग्ने विभेदलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। समग्रमा  भन्नुपर्दा यो गीत अधिकांश ग्रामीण महिलाको जीवन भोगाइ हो ।

सुन्दरमणि अधिकारीको निर्देशनमा बनेको म्युजिक भिडियोमा ललिता पौडेलले जीवन्त अभिनय गरेकी छन् । म्युजिक भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको छ । 

प्रतिक्रिया