बेसीशहर पुस १० । बेसीशहरको वडा नंं ६ बेलौती बिसौनामा बाँध बाँधेर बेसीशहरको वडा नंं १० को सालडाँडामा विद्युत गृह राखी मर्स्याङदी नदीमा ५० मेगावाट क्षमताको जलविद्युत योजना बनाउन लागेको दिब्यज्योति हाइड्रोपावरले बेसीशहर क्षेत्रमा विद्युत आयोजना नबनाउने संकेत गरेको छ ।
आयोजनाको निर्माण कार्य शुरु हुनै लाग्दा बेसीशहरको सभ्यता, धर्म, संस्कार, संस्कृति र पर्यावरणमा नकरात्मक असर पर्ने भन्दै मस्र्याङदी बचाउ अभियान नामको संघर्ष समिति गठन भई आन्दोलनका कार्यक्रम निरन्तर सञ्चालन हुन थालेपछि आयोजनाको प्रबद्र्धक दिब्यज्योतिले आयोजनाको काम रोक्ने संकेत दिएको हो । यस बिषयमा उक्त कम्पनीले लमजुङका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेलाई बेसीशहर क्षेत्रमा आयोजना नबनाउने संकेत दिएको हो ।

प्रजिअ डा. अधिकारीले मर्स्याङदी बचाउ अभियान संघर्ष समितिका पदाधिकारीसंगको भेटमा आयोजनाले मस्र्याङदी बेसी नबनाउने र बेसीशहर बाहेक अन्य स्थानमा मस्र्याङदी नदीमै अर्को आयोजना निर्माण गर्न संघर्ष समितिले अबरोध नपुर्याउन आग्रह गरेको जानकारी दिएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय लमजुङमा संघर्ष समितिका संयोजक राम थापा, उपसंयोजक जनकराज बस्नेत, सचिव सरेश कुमार प्रधान लगायत संघर्ष समितिका सदस्यहरुसंगको भेटमा प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले कम्पनीको प्रस्ताबबारे जानकारी गराउँदै यस बिषयमा संघर्ष समितिको राय के छ भनि सोधेका थिए ।
जवाफमा संघर्ष समितिका पदाधिकारीहरुले आफूहरु आफ्ना मागमा अडिग रहेको र बेसीशहर बाहिर जलविद्युत बनाउने सन्दर्भमा स्थानीय समुदायसंग छलफल गरी समुदायको भावना अनुसार अघि बढ्ने जानकारी गराएका थिए ।
संघर्ष समितिले जलविद्युत आयोजना बन्दा बेसीशहरको सभ्यता, स्थानीयको धर्म, संस्कार, परम्परा र संस्कृति समेत नाश हुने, खानेपानीको श्रोत सुक्ने, भूक्षय, अनाबृष्टि, अतिबृष्टि लगायतका कारण देखाउँदै आयोजना बन्नै नहुने एकसुत्रीय माग राखेर आन्दोलन गर्दै आएको छ । मस्र्याङदी नदी बेसीशहरका सुन्दरता भएकाले ४० हजार बढी जनसंख्या बस्ने बेसीशहरको सौन्दर्य नाश हुने र स्थानीयको नदीसंगको परोक्ष सम्बन्धमा खलल पुग्ने गरी कुनै पनि आयोजना बन्न नदिने अडान राख्दै आएको छ । संघर्ष समितिले मर्स्याङदी नदीमात्र नभै सभ्यता, संस्कृति दुवै भएको र बेसीशहरका स्थानीयको बाँच्ने आधार हो भन्दै अभियान केबल मर्स्याङदी नदी बचाउनको लागि मात्र होइन, हाम्रो प्रकृति, सभ्यता, संस्कार, परम्परा र धर्म बचाउनका लागि भएको प्रष्ट पारेको छ ।
यसैबीच संघर्ष समितिले मर्स्याङदीमा बन्न लागेको मर्स्याङदी बेसी जलविद्युत र यसको अल्पकालीन एवं दीर्घकालीन प्रभावका बारेमा स्थानीयलाई जानकारी गराउने अभियान जारी राखेको छ । आयोजनाबाट स्थानीयस्तरमा पर्ने प्रभावबारे स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले आयोजित यस्ता कार्यक्रम निकै फलदायी भएको र आयोजनाको विरोधमा स्थानीय थप संगठित भएको पाइएको छ । संघर्ष समितिले बेसीशहरको वडा नं ९ र र १० मा यस्तो कार्यक्रम सम्पन्न गरिसकेको छ । आयोजनाबाट पर्ने नकरात्मक असरबारे जानकारी पाएपछि सबै भन्दा बढी प्रभावित हुने वडा नंं १० को बाँझाखेत, बेसीभाचोक, रातामाटा, घडेरी, राउतथोकका स्थानीय आयोजनाको विरोधमा शुक्रबार बेसीशहर आइ प्रशासनमा विरोध पत्र दिने तयारीमा छन् ।
खबरकुञ्ज