सोचे भन्दा बढी आलु उत्पादन भएपछि चिती बजारखुट्टाका महिला उत्साहित

खबरकुञ्ज

बेसीशहर, चैत ६ गते । गाउँघरमा बाँझै रहेका खेतबारीमा सामूहिक आलु खेती गरेका लमजुङको बेसीशहर नगरपालिका वडा नंं ११ चिती बजारखुट्टाका महिलाहरु यतिबेला निकै उत्साहित छन् । गएको मंसिरमा धान भित्र्याएपछि बाँझै रहेको गाउँको जग्गा भाडामा लिएर सामूहिक आलुखेती गरेका त्यहाँका महिलाहरु अहिले सोचे भन्दा बढी आलु उत्पादन भएपछि उत्साहित भएका हुन् ।

बेसीशहर नगरपालिका वडा नंं ११ ले बाँझो जग्गाको सदुपयोग गरी स्थानीयको आय आर्जनमा टेवा पुर्याउन वडामा सामूहिक आलुखेतीको कार्यक्रम सञ्चालन गरे पछि वडाको चाफाबोट बजरखुट्टामा रहेको राधाकृष्ण आमा समूहले आलुखेती गरेको थियो । समूहका १६ जना महिलाहरु सामूहिक आलुखेतीमा जुटेका थिए । उनीहरुले बाँझो रहेको २० रोपनी जग्गा भाडामा लिएर महिलाहरुले सामूहिक आलु खेती गरेकामा झण्डै ७० क्विण्टल आलु उत्पादन भइसकेको छ । अझै केही आलु खन्न बाँकी नै रहेकोले उत्पादन थप १० क्विण्टल बढ्ने अनुमान छ ।


आलु खेतीका लागि वडा कार्यालयले डेढलाख रुपैयाँ अनुदान दिएको थियो । आमा समूहले उक्त रकमको ३० प्रतिशत थप लगानी गरी आलुको बीउ खरिद गरेको थियो । खेतमा खनजोत, गोडमेल र मल समूहले नै ब्यवस्थापन गरेको थियो ।

मंसिरमा धान भित्र्याएपछि चैतमा मकै नरोपुन्जेल बाँझै रहने जग्गा आमा समूहले सस्तैमा भाडामा पाएको थियो । सोही जग्गामा लगाइएको आलुले निकै राम्रो उत्पादन दिएपछि महिलाहरु हौसिएका छन् । आमा समूहका अध्यक्ष लक्ष्मी घर्तीले भनिन्– “ उत्पादन सोचे भन्दा बढी भयो ।यो बर्ष शुरुवात भएकाले धेरै खेती गरिएन, अर्को बर्ष थप २० रोपनी जग्गामा आलु खेती गर्छौं, मेहनत गर्ने हो भने राम्रै आलु फलाउन सकिने रहेछ ।”

सामूहिक रुपमा पहिलो पटक आलु खेती गरेका त्यहाँका महिलाहरुलाई पहिलो प्रयासले उत्साहसंगै केही सिकाइ पनि सिकाएको आमा समूहद्वारा गठित कृषक समूहका अध्यक्ष सीता घर्तीले बताइन् । उनले आलु लगाउँदा समयमै लगाउनु पर्ने र छिटै उत्पादन गर्न सके मूल्य राम्रै पाइने रहेछ भन्ने पाठ आफूहरुले सिकेको बताइन् । उनले भनिन्– “पहिलो पटक भएकाले हामीलाई सबै कुराको हेक्का भएन, मेहनत गरियो, उत्पादन पनि राम्रै भयो, तर सबैतिर आलु यतिबेलै निस्किएकाले भाउचाहिँ राम्रो पाइएन ।”

सोचे भन्दा बढी आलु फलेपछि हौसिएका महिलाहरुले केही दिन अघि बजारखुट्टामा खुशीयाली नै मनाए । बेसीशहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडासंगै नगरपालिकाका कृषि प्राविधिक, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र गाउँका अगुवा र समाजसेवीहरुलाई बोलाएर उनीहरुले ससानो आलु महोत्सव नै सम्पन्न गरे । कार्यक्रममा सबैले आमा समूहको प्रयासको सरहना गर्दै उनीहरुको उत्साहमा आ–फ्नो क्षेत्रबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बाँझो जग्गाको सदुपयोगसंगै आय आर्जनमा टेवा पु¥याउन र केही हदसम्म बेरोजगारी समस्या समेत समाधान हुने भएकाले वडा कार्यालयले सामूहिक आलुखेतीका लागि प्रस्ताव गरेकोमा आमा समूहले यसमा चासो राखी कार्यक्रम सञ्चालन गरेको र प्रतिफल राम्रै निस्किएको वडा अध्यक्ष शिवप्रसाद जोशीले बताए ।

उनले आगामी बर्ष यस्तो कार्यक्रमलाई वडाभर विस्तार गर्ने र आवश्यक परे थप बजेटको ब्यवस्था मिलाउने जानकारी दिए । वडा अध्यक्ष जोशी भन्छन्– “चितीको माटो उर्वर भएकाले यहाँ कृषिको सम्भावना धेरै छ । यहाँ खाद्यान्न बालीदेखि फलफूल र तरकारी जेसुकै पनि राम्रो उत्पादन हुन्छ । कृषिको विकास गरेर स्थानीयको जीवनस्तर उकास्न वडा कार्यालय लागि परेको छ ।

प्रतिक्रिया