बेसीशहर । काठमाडौंतिर भुकम्पले क्षति पुर्याएका घरहरुलाई टेको लगाएर अड्याइएको त देखिएको हो, ढल्नै लागेको लागेको रुख होस वा केराको थामलाई टेको लगाएको पनि देखिने गरेको हो, तर पहिरोले तान्दै गरेको सडकलाई टेको लगाएर अड्याएको देख्नु भएको छ ?
समाचार पढदै गर्दा तपाइँलाई अचम्म लाग्न सक्छ । सडकलाई टेको लगाएर कसरी अडिन्छ भनेर । अडिदैन, तर सडकलाइ टेकाे लगाएर धान्ने प्रयास गरिएकाे भने सत्य हो । टेकाे लगाएकाे सडक तपाइँ लमजुङमा देख्न सक्नुहुन्छ । लमजुङ सदरमुकाम बेसीशहर हुँदै मनाङ जोड्ने सडकलाई खरखरे पहिराे नजिकै टेको लगाएर अड्याइएको हो । कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान अब लमजुङमा चरितार्थ हुन थालेको छ ।
डुम्रे बेसीशहर चामे सडक अन्तर्गत लमजुङको बेसीशहर नगरपालिका ६ मा पर्ने बेलौतीबिसौना र खरखरे भीरको बीचमा पर्ने उत्तीसघारीमा दुई बर्ष अघि जमीन नै भासिए पछि सडक विभागले गत बर्ष सडकमा ढलान गराएको थियो । त्यही ढलान गरिएको सडकमुनी पहिरो गएर ढलानलाई समेत पहिरोले तान्ने अबस्था आएपछि ढलान मुनी टेको लगाइएको हो ।

उक्त ढलान सडक हालै मात्र निर्माण सम्पन्न भएको हो । खरीढुंगा निर्माण सेवा भक्तपुरले निर्माण गरेको हो । ३ करोड ३७ लाख ४३ हजार ३५० रुपैयाँका लागतमा निर्माण गरिएको उक्त ढलान सडकको मुन्तिर पानीको मूल पलाएर पहिरो झरेपछि करीब १७ मिटर सडकमा क्षति पुगेको बेसीशहर चामे सडक योजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए ।
स्थानीय बासीन्दाले भने करोडौं बजेट खर्च गरेर ढलान गरिएको सडकको स्टिमेट नै गलत गरी पहिरो नियन्त्रणका लागि प्रभावकारी काम नगरी सडकमात्रै ढलान गरिएकाले समस्या आएको बताएका छन् । ढेकेदारले निम्न गुणस्तरको काम गरिएकाले ढलान गरिएको सडकमुनीबाट पहिरो गइ सडकमा जोखिम उत्पन्न भएको स्थानीय बृजलाल श्रेष्ठले बताए । ढलान सडक मुनीको भाग पहिरोले तानेपछि टेका लगाएर हास्यास्पद काम गरिएको उनले बताए ।
सडकमुनी पहिरो खसेपछि सडक विभागले मर्मतमा तदारुकता नदेखाएको स्थानीयको आरोप छ । पहिरोले खोतलेर जोखिमयुक्त बनेको सडकमा जोखिम बारे जोकोहीले पनि थाह पाउने गरी संकेत गरिनु पर्नेमा त्यस्तो पनि नगरिँदा कुनै पनि बेला त्यहाँ ठूलो दुर्घटना हुन सक्ने स्थानीय श्रीकृष्ण रिमालले बताए ।
डुम्रे बेसीशहर चामे सडक मनाङ र उत्तरी लमजुङलाई बाहिरी संसारसंग जोड्ने एकमात्र सडक हो । यहाँ दैनिक सयौं सवारी साधनहरु गुड्ने गर्छन् । उत्तरी लमजुङ र मनाङका लागि लाइफलाइन मानिएको र दैनिक साना ठूला गरी सयौं सवारी साधान आवत जावत गर्ने यो सडक यति धेरै जोखिम हुँदा पनि डुम्रे बेसीशहर सडक योजनाले मर्मत गर्नुको सट्टा टेको लगाएर राखेकोमा स्थानीयले आश्चर्य मानेका छन् ।

यो सडकको करीब १ सय मिटर तल मस्र्याङदी नदी सुसाउँदै बगेको छ । पहिरोले खोलेको मस्र्याङदी नदीतर्फको भागमा कुनै सवारी साधन गुडेमा ढलान भत्किएर सवारी साधन नै मर्स्याङदीमा खस्ने र ठूलो जनधनको क्षति हुने रिमालले बताए । जोखिम रहेको ठाउँमा सडक विभागले खतराको संकेत दिने कुनै चिन्हसमेत सडकमा राखेको छैन ।
सडकमा केही ढुंगा र सिमेण्टका बोरा राखिए पनि तिनले खतराको संकेत दिँदैनन् । बेसीशहर हुँदै मनाङमा ग १ ज ७११४ नम्बरको बोलेरो जीप चलाउने हर्कबहादुर रानाले सडक धराप भएर बस्दा समेत सडकले खतरा जनाउने संकेत नराखेकोमा आपत्ती जनाए । उनी भन्छन्-“हामी यहाँ सधैं गाडी चलाउनेलाई त यहाँनेर खतरा छ भन्ने थाह हुन्छ, संकेत नहुँदा नयाँ आउने चालकले छेउबाट गाडी गुडायो भने सडक भासिएर मस्र्याङदीमा खस्ने सम्भावना हुन्छ ।” उनले सडक विभागले यहाँ मान्छे मार्ने धराप थापेको आरोप लगाए ।

ढलान गर्नुपूर्व उक्त सडक बर्षेनी पहिरोले अबरुद्ध हुने गर्दथ्यो । त्यस ठाउँमा पहिरो बाहेक जमीन नै भासिने समस्या भएपछि धरातलको सूक्ष्म अध्ययन गरी माथिल्लो भागको पहिरो रोक्न ढलान गरिएको वाल लगाएरमात्र सडक ढलान गरिएको र तल्लो भागमा पनि तलैबाट ग्याबिन जाली लगाएर उकासिएको इन्जिनियर अधिकारीले बताए । यति गर्दा पनि सडकमुनीबाट पानीको मूल फुटेर पहिरो गएको उनले जानकारी दिए ।
उनका अनुसार सडकको उक्त भागमा ढलान सकिए पनि एकबर्षभित्र विग्रे भत्केमा ठेकेदारले नै मर्मत गर्ने शर्त भएकाले सडक योजनाले काम नगरेको हाे ।

लमजुङको बेसीसहरबाट मनाङ सदरमुकाम चामे जोड्ने यो सडक आर्थिक बर्ष २०५०/०५१ बाट निर्माण शुरु भएको हो । तत्कालीन द्वन्द्धका कारण सडक विभागले काम गर्न सकेन । ०५७ देखि यो सडकमा ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पायो । सेनाले १९ बर्ष लगाएर चामेसम्म ट्रयाक खोलेपछि २०६५ सालमा सडक विभागलाई जिम्मा लगाएको थियो ।
कूल ६५ किलोमिटर दूरीको यो सडक अन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।
यो सडक निर्माण भएको यतिका बर्ष पुग्दा पनि मनाङ सदरमुकाम चामे जोड्ने सडकको स्तरोन्नति हुन सकेको छैन । बेसीशहरबाट खुदीसम्म गत असारभित्रै कालोपत्रे हुने गरी ठेक्का लगाइएकोमा त्यो काम समेत पुरा हुन सकेको छैन । ठेकेदारले काम नगरेपछि पुनः एक बर्षको म्याद थप गराइएको छ ।
मिलन शर्मा दनाई