बेसीशहर । चाडपर्व नजिकिएसंगै जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङको सदरमुकाम लगायत जिल्लाका विभिन्न बजार क्षेत्रमा अनुगमनलाई तीब्रता दिएको छ । अनुगमनका क्रममा देखिएको कैफियतबाट १ लाख रुपैयाँ भन्दा बढी जरिवनासमेत असुल गरिएको छ ।
बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका र अखाद्य वस्तु बिक्री वितरण बढिरहेको आम जनगुनासो बढिरहेकै बेला जिल्ला प्रशासन कार्यालय लमजुङको समन्वयमा सदरमुकाम बेसीशहर, सुन्दरबजार, भोटेओडार, खुदी, भुलभुले लगायतका बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
बडा दशैं नजिकिएसंगै विशेष गरी खाद्यान्न तथा किराना पसल, फ्रेस हाउस र एग्रोभेटहरुमा अनुगमन गरिएको छ । सरसर्ती हेर्दा अनुगमन बिरालो बाँध्ने परम्पराझैं बनेको आम उपभोक्ताको गुनासाका बीच यसपटक जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा कडा रवैया अपनाएको छ । अनुगमनका क्रममा देखिएका कैफियतमा चर्को जरिवाना लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनमा टोली खटाएको छ । बजार अनुगमनका क्रममा बेसीशहर, सुन्दरबजार, भोटेओडार, खुदी लगायतका बजार क्षेत्रमा किराना तथा खाद्यान्न पसलहरुमा थुप्रै म्याद गुज्रिएका सामाग्री फेला परेका छन् । त्यस्तै अन्तशुल्कमा दर्ता नगरी मदिराजन्य तथा सूर्तिजन्य पदार्थ विक्री वितरण गरिएको, पसलमा मूल्यसूचि नराखिएको, विना दर्ता पसलहरु सञ्चालन गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकणर्राज सुयलले जानकारी दिए ।
सुयलका अनुसार बजार क्षेत्रमा सञ्चालित एग्रोभेटहरुमा समेत निकै कैफियतहरु फेला परेका छन् । एग्रोभेटहरु दर्ता नगरी सञ्चालन भएको, एउटाको नाममा दर्ता रहेको पसल अर्कैले सञ्चालन गरिरहेको लगायतको कैफियत भेटिएको छ ।
नियमित बजार अनुगमन नहुँदा व्यापारीहरूले मनलाग्दी मूल्य राखी विक्री वितरण गर्ने गरेको, चिनी लगायतका खाद्यपदार्थमा मनलाग्दी मूल्य कायम गरिएको, म्याद गुज्रिएका सामग्रीहरु विक्रीका लागि राखिएको जनगुनासो बढिरहेका बेला प्रशासनले यी गुनासो सम्बोधन हुने गरी बजार अनुगमन गरिरहेको र अनुगमन निरन्तर चलिरहने सहायक प्रजिअ सुयलले बताए ।
बजार अनुगमनका क्रममा कैफियत देखिएकामा त्यस्ता ब्यवसायीबाट न्यूनतम ५ हजार रुपैयाँ जरिवाना असुल गरिएको उनले बताए । मूल्यसूचि नराख्ने, अन्तशुल्कमा दर्ता नगरी मदिरा तथा सूर्तिजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरुलाई ५ हजार र विना इजाजत वा अरुको इजाजत देखाएर ब्यवसाय गर्ने एग्रोभेटहरुलाई १० हजारका दरले जरिवना गरिएको उनले जानकारी दिए ।
सुयलले अनुगमनका क्रममा बजारमा बेथिति देखिएको भन्दै अबका दिनमा बजार अनुगमनलाई थप कडाइ गरिने जानकारी दिए । उनले बिगतमा चाडपर्वमा मात्र अनुगमन हुने गरेकोमा अब कम्तिमा पनि हरेक तीन तीन महिनामा बजारको अनुगमन गरिने जानकारी दिए ।