–डा. गाेमा रिमाल

नेपाली भाषा साहित्यको क्षेत्रमा सुपरिचित नाम हो श्रीकृष्ण न्यौपाने । नेपाली साहित्यको पछिल्लो प्रहरमा आशुलेखन तथा द्रुतलेखनका अद्भुत दृष्टान्त बनेर देखापर्नुभएका लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको “जूनसित सोधेँ” गीति कवितासङ्ग्रह प्रकाशन अघि नै अध्ययन गर्ने सौभाग्य प्राप्त भयो, यही सिलसिलामा प्रकाशित हुन लागेको कृतिमा केही आफ्ना शुभकामनाका शब्दहरू समेत समावेश गर्ने मौका पाउँदा अत्यन्त हर्षित भएकी छु । वि.सं. २०३० सालबाट नै लेखन प्रारम्भ गरी वि.सं. २०४८ मा छली सामाजिक काव्यको प्रकाशनसँगै अगाडि बढेको कवि श्रीकृष्ण न्यौपानेको यो साहित्यिक यात्राले करिब पाँच दशकको समय पार गर्दै गर्दा निकै लोभलाग्दो रफ्तारमा अघि बढेको देखिन्छ । उहाँको यो लगन, उत्साह, समर्पण, त्याग र प्रतिभा प्रवाहलाई हेर्दा नेपाली काव्यजगत्ले धेरै कुरा प्राप्त गर्न सक्ने सम्भावना बोकेर आएको देखिन्छ । रातो बाघ, विषालु धरती र कोरोनाजस्ता महाकाव्यका साथै दर्जन बढी खण्डकाव्य लगायतका साहित्यिक कृतिहरू प्रकाशित गरी बृहत्तर महाकाव्य लेखनमा समेत जुटिसक्नु भएका कविका कृतिको समालोचना गर्नु, भूमिका लेख्नु र व्यक्तित्व कवित्वको विश्लेष्ण गर्नु मेरो उचाइ होइन त्यसैले मात्रै केही शुभकामनाका शब्दहरू लेखिरहेकी छु ।
नेपाली कविताको वर्तमान आधुनिक स्वरूप यही नेपाली लोकजीवनमा गाइने गीत र गाथाहरूको पृष्ठभूमिमा खडा भएको हो । नेपाली आधुनिक कविता गीति कविताकै देन हो । वि.सं. १८२६ मा सुवानन्द दासबाट लेखिएको पृथ्वीनारायण कवितालाई पहिलो नेपाली कविता मान्ने गरिएको छ, यो कविता लोकछन्दमा नै लेखिएको थियो । उल्लिखित तथ्यका आधारमा पनि नेपाली कवितासँग गीत÷गीति कविता र लोकछन्दको सम्बन्धको गहिराइलाई मापन गर्न सकिन्छ । सारमा गीत नै गीति कविता हो । अनुभूतिको बाहुल्य हुने कविता फुटकर कविता हो । गीति कवितालाई पनि फुटकर कविताकै एउटा स्वरूप मानिन्छ । अनुभूतिको गेयात्मक अभिव्यक्ति नै गीत हो । गीतमा पनि अनुभूतिको प्रबल प्रवाह हुने हुनाले यसलाई फुटकर कविता र काव्य विधा अन्तर्गत नै समेट्ने गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन यसको अनुपम उदाहरण हो ।
“गौ” धातुमा “क्त” प्रत्यय लागेर बनेको गीत तत्सम शब्द हो, जसको अर्थ गाउन मिल्ने भन्ने हुन्छ । विश्वका सबै भाषामा गीत गाइन्छ अन्य विधाका तुलनामा गीतलाई बढी लोकप्रिय पनि मानिन्छ । न्यु इन्साइक्लोपेडिया ब्रिटानिकाले गीतलाई एक्लै वा सामूहिक रूपमा बाजाहरूसँगै वा तिनको अभावमै पनि गाइएको वा गाउनका लागि तयार गरिएको रचनाविशेष भनी परिभाषित गरेको छ भने डब्ल्यु एच हड्सनले एउटै वक्ताको एउटै मनस्थिति तथा भावना संवेगात्मक रूपमा व्यक्त भएको रचना नै गीत हो भनी चिनाएका छन् । नेपाली सन्दर्भमा डा. वासुदेव त्रिपाठीले भाषाका फाँटको भावुक र लयात्मक अभिव्यक्ति एवं सङ्गीतसँग कविताको समागमको तरल झङ्कृतिका रूपमा र डा. हिमांशु थापाले जीवन र भोगाइका क्रममा प्राप्त भाव र अनुभूतिको कलात्मक, संवेगात्मक र गेयात्मक प्रस्तुतिका रूपमा गीतलाई चिनाएका छन् । यसरी नै प्रा.डा. देवी नेपालले गीत मानवीय संवेगहरूको सबैभन्दा बढी प्रतिनिधित्व गर्न सक्ने गेयात्मक सिर्जना भएको भनी परिभाषित गर्दै लयात्मक अन्तर्गुञ्जन, तीव्र काव्यिक चेतना, हृदयसंवेद्य अनुभूति प्रवाह, सरलता, कोमलता र प्रभावकारी भाव सम्प्रेषण गीतका लागि आवश्यक पक्ष भएको बताउनुभएको छ । केही आन्तरिक तथा बाह्य तत्त्वहरूको मिश्रणबाट गीतको निर्माण भएको हुन्छ । गीत बन्नका लागि मुख्यतः स्थायी र अन्तरा गरी दुई वटा बाह्य संरचना बनेको हुन्छ । प्रस्तुत गीति सङ्ग्रहबाट नै एउटा उदाहरण प्रस्तुत गरेको छु ।
स्थायीः कता लायौ पैलो आँखा किन भयौ दङ्ग
जवानीको पैलो रङ्ग कति मिठो ढङ्ग
अन्तराः आकाशको जून हौ कि हौ गुर्दौली फूल
हौ कि तिमी प्यास लाग्दा पातालकी मूल
झल्को लाग्दा जुनेलीमा शीत बनी आऊ
रोदीतिर म गाऊँला गीत बनी आऊ
माथि गीतको थालनीमा रहेको दुई हरफ स्थायी भाग हो, जुन हरेक अन्तरा पछि पनि प्रयोग हुने गर्दछ । यसले सिङ्गै गीतको प्रतिनिधित्व गरेको हुन्छ भने बीच बीचमा आउने चार हरफलाई अन्तरा भनिन्छ, जहाँ अनुभूतिको विस्तार हुने गर्दछ । गीत स्रष्टाको हृदयबाट स्वस्पूmर्तः अभिव्यक्त भएको आख्यात्मक आत्मपरक र सङ्गीतमय रचना हो भन्न सकिन्छ । नेपाली लोक जीवनको सन्दर्भमा भन्नुपर्दा नेपाली समाजमा मेलापात जाँदा, घाँस काट्टै गर्दा, दाउरा बटुल्दै गर्दा, भाँडा माझ्दै गर्दा, झलुङ्गामा बच्चालाई सुताउँदै गर्दा गुनगुनाउने भाका, शैली र लयको प्रस्तृति नै गीत हो भन्न सकिन्छ । यही पृष्ठभूमिमा जन्मिएको लोकछन्दको विकासका लागि सुवानन्द दास, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, प्रह्लाद पोख्रेलजस्ता कविहरूको योगदानबाट गीति कविताको आजको आधुनिक स्वरूप निर्धारण भएको हो । यही लेखन परम्पराको सर्वाधिक पछिल्लो प्राप्तिका रूपमा श्रीकृष्ण न्यौपानेको प्रस्तुत गीति सङ्ग्रहलाई लिन सकिन्छ ।
हरेक स्रष्टाका लेखनका आफ्नै शैली र विशेषता छन् यो प्रतिभा हो र प्रतिभा स्रष्टा स्वयंको सम्पत्ति पनि हो । यो कसैले कसैलाई दिएर हुने विषय होइन । वि.सं. २०५० सालमा नै रेडियो नेपालको स्वर परीक्षा पास गरेका कविबाट लेखिएको प्रस्तुत गीति सङ्ग्रहलाई कविको हृदयमा शक्तिशाली भाव उत्पन्न भएपछि विम्ब, लय र शब्दको उन्नत संयोजनसाथ निस्केको कवितासङ्ग्रहका रूपमा लिन सकिन्छ । प्रेम दिएर रित्तिने वा लिएर पुग्ने विषय होइन । प्रेम र वेदनाको अनन्त संसारमा यसका अभिव्यक्तिका असीमित शैली र प्रयोग छन्, यस्तो व्यापकतामा समेत कविताभित्र कविको सरस अनुभूति गहिराइमा पुगेको देखिन्छ । यसमा चौध अक्षरको सवाई, सोह्र अक्षरको लामो झ्याउरे लगायतका लोकछन्दहरूको प्रयोग गरी ५१ वटा गीति कविता समेटिएको छ ।
साहित्य एउटा कला हो, यो समाज र जीवनको प्रतिविम्वका रूपमा रहनुपर्दछ भन्ने सोच लिएका कविबाट प्रकाशित हुन लागेको प्रस्तुत कवितासङ्ग्रहले गीति रचनाको सिर्जनामा थप सम्भावनाको उजागर गर्दै गीति साहित्यप्रेमी पाठक तथा लेखकहरूमा थप उत्साह र प्रेरणा दिँदै नेपाली वाङ्मयमा समृद्ध गीति साहित्यलाई थप सन्तुलित र परिष्कृत बनाउन सहयोग गर्नेछ भन्ने विश्वास लिएकी छु । विषयगत विविधता र छन्दगत अनेकतालाई अँगालेर अगाडि बढे पनि सत्यलाई सूक्तिमा सहजै बदल्न सक्ने कविबाट लेखिएको प्रस्तुत कवितासङ्ग्रहको समालोचनाको जिम्मा पाठक तथा समालोचकलाई छाड्दै परिपक्व कविको परिपक्व सिर्जनालाई हार्दिक शुभकामनामात्रै भन्न चाहन्छु ।
खबरकुञ्ज